कोरोनाका बिरामीले भरियो अस्पताल : अक्सिजनको चरम अभाव हुनसक्ने

कमला अर्याल / काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस‘कोभिड १९’ को संक्रमण बढेसँगै बजारमा अक्सिजन अभाव हुन थालेको छ ।

अक्सिजन प्रयाप्त मात्रामा भएपनि सिलिन्डर पर्याप्त नहुँदा कोरोना संक्रमितको उपचार गर्न समस्या भएको छ । अहिले अस्पतालहरुमा अक्सिजनका सिलिन्डरहरु अभाव हुन थालेका छन् । बजारमा सिलिन्डरको अभाव भएसँगै अहिले कोभिड संक्रमितलाई अक्सिजन अभाव भइहेको छ । ‘कोभिड १९’ संक्रमित भएर अस्पताल भर्ना भएका ९५ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । प्रयाप्त मात्रामा अक्सिजन पु¥याउन सकिएन भने उपचारमा समस्या पर्छ । उपत्यका तथा केही उपत्यका बाहिरका अस्पतालमा कोभिडका बिरामीलाई छुट्याइएका जनरल बेड, आईसीयू तथा भेन्टिलेटरमा बिरामीले खचाखच छन् । ती अधिकांश बिरामीलाई अक्सिजन चाहिन्छ ।

मुलुकभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा ६ देखि ७ हजारसम्म अक्सिजनका सिलिन्डर रहेका छन् । केही अस्पतालहरुमा भने लिक्वीड अक्सिजनका ट्यांकहरु पनि रहेका छन् । सिलिन्डर अभाव भएसँगै सरकारले थप सिलिन्डर ल्याउने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले सिलिन्डर ल्याउने प्रयास भइरहेको बताए । ‘ सरकारले सिलिन्डर ल्याउन कुटनीटक प्रयास गरिहेको छ ।’ उनले भने । बुधवार मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरलगायतका माल वस्तुमा कर छुट दिने निर्णय गरेको छ । कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले सरकारले कर छुट दिने निर्णय गरेको हो । त्यस्तै, सरकारले विश्व बैंकले नेपाललाई दिएको ऋण सहयोगको रकम अक्सिजन सिलिन्डर किन्न खर्च गर्ने भएको छ ।

बजारबाट सिलिन्डर हराएनन् भने तत्काल अक्सिजनको अभाव नहुने सह प्रवक्ता अघिकारीको भनाई छ । मन्त्रालयका अनुसार मुलुकभरी विभिन्न १५ वटा सरकारी र १५ वटा निजी अस्पताल गरी कुल ३० वटा अस्पतालमा अक्सिजन प्लान्ट राखिएका छन् । जसमार्फत दैनिक २ हजार ५ सय ४९ वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन भए पनि प्रयाप्त मात्रामा सिलिन्डर नभएका कारण अक्सिजन भर्न नपाउँदा कोभिड संक्रमितको उपचारमा समस्या भइरहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म अक्सिजनको भने अभाव भएको छैन । तर यहि दरमा कोरोना संक्रमण बढ्दै जाने हो भने केही दिनमा अक्सिजन अभाव हुन सक्ने सह प्रवक्ता अधिकारीको भनाई छ । ‘अहिले बजारमा अक्सिजन अभाव भइसकेको छैन । तर कोरोनाको संक्रमण बढ्दै गएमा अभाव हुन सक्छ ।’ उनले भने ।

हाल नेपालमा २६ वटा उद्योगहरुले अक्सिजन उत्पादन गर्दै आएका छन् । जसमध्ये ९ वटा काठमाडौं उपत्यका भित्र र १७ वटा उपत्यका बाहिर रहेका छन् । उपत्यका बाहिरका १७ वटा उद्योगहरुले २ हजार ७ सय मिटर क्यूव अक्सिजन उत्पादन गर्दै आएका छन्,भने उपत्यका भित्रका ९ वटा उद्योगको क्षमता २ हजार ३ सय ६० मिटर क्यूव रहेको उद्योग विभाग प्रवक्ता ज्ञानेन्द्र पराजुलीले बताए ।

त्यसो त छिमेकी देश भारतमा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै अक्सिजनको अभाव देखिएको छ । त्यहाँको अदालतले अक्सिजनमा कालोबजारी गर्नेलाई कडा सजाय हुनसक्ने फैसला सुनाएको छ । भारतका अस्पतालहरुमा अक्सिजनको अभाव भएसँगै मानिसहरु सडकमा त्यतिकै मृत्युबरण गरिरहेको तस्वीरहरु सार्वजनिक भइरहेका छन् । नेपालमा बढ्दो कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा सरकारी उदासिनताको कारण नेपालमा पनि त्यस्तो नहोला भन्न सकिन्न । त्यसैले नेपालले पनि त्यसबारे बेलैमा सचेत हुन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?