राजनीति: कहाँ बिग्रियो, कहाँ सप्रियो ?

लोकतन्त्रकै लागि लडेका ठूला दलका शीर्षस्थ नेता, सरकार प्रमुख अनि राष्ट्रप्रमुखको शैली किन अलोकतान्त्रिक ?

यो १५ बर्षमा आमजनताको मनमा गुम्सिएको प्रश्न हो यो ?

१५ बर्षअघि आजकै दिन जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्यको आधार राख्यो, त्यसले सफलता पनि पायो । तर राज्यको अग्रगामी पुनर्संरचनाको प्रतिवद्धता भने अधुरै रहे । सम्पूर्ण जात, धर्म, लिंग, सम्प्रदाय र भूगोल लगायतका धेरै मुद्धाहरुलाई मूल प्रवाहमा ल्याउन संकोच देखाइयो । लोकतन्त्र स्थापनाका लागि लडेका हाम्रा नेताहरु नै लोकतन्त्रका लागि ऐँजेरु जस्ता भए ।

फेरि प्रश्न उठ्छ, हाम्रा नेताहरु किन जनताको हुन सकेनन् ? किन जनचासोका मुद्धाहरुलाई सम्बोधन गर्नु पर्‍यो भने उनीहरु बाह् –सत्ताइस कुरा गर्न थाल्छन ? धेरैपटक बहसमा आएको यसको सीधा जवाफ हो, हाम्रा राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु।

हाम्रो पात्रका कारण लोकतन्त्र यतिवेला आलोचित भएको छ । कतिसम्म भने एकैदलका शीर्ष नेताहरुबीच आपसमै टकराव परेको छ । दलहरु छिन्नभिन्न भएका छन् ।

सत्ताको केन्द्रमा रहिरहनका लागि आन्दोलनबाटै आएका हाम्रा नेताहरुमा ब्यक्तिगत स्वार्थ प्रधान भएको देखिएको छ । गुट बलियो बनाए आफू बलियो बन्न सकिन्छ भन्ने अवसरवादी अवधारणामा हाम्रो राजनीति चलिरहेको छ ।

लोकतन्त्रको घरमा बसेर अलोकतान्त्रिक शैली देखाएकै कारण नेपाली राजनीतिले पटक– पटक चोट ब्यहोरेको छ । सत्तामा पुगेका नेता र उनीहरुको कोटरीले गर्ने अदुरदर्शी निर्णयले आम जनता नै दण्डित हुनुपर्ने परिस्थिति बनेको छ ।
कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेलको बुझाइमा कम्युनिष्ट पार्टीमा त भएन भएन आफुलाई लोकतान्त्रिक भन्ने कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभ्यास हुन सकेन। ब्यक्तिको प्रधानतालाई स्विकार गरियो । नेतृत्वमा पुगेको ब्यक्तिले सामुहिकतामा होइन,आफ्नो इच्छामा पार्टी चलायो।

‘जसले पार्टीभित्रको लोकतन्त्रलाई कमजोर बनाएको छ, उसैले सरकारको नेतृत्व गर्दा लोकतन्त्रको मुल्य,मान्यता र आदर्शले लय समात्न सक्दैन’ पौडेल भन्छन,‘पार्टीको आन्तरिक लोकतन्त्र जबसम्म सुदृढ हुन सक्दैन तवसम्म नेपाली राजनीतिले सही बटो समात्न सक्दैन ।’

लोकतन्त्र भनिए पनि उपल्ला नेताहरुको शैली श्रीपेचबिनाका राजाको जस्तो देखिएको गुनासो ब्याप्त छ । सत्ताको घेराभन्दा बाहिर परेकाहरुलाई विगतका शासकजस्तै रैती ठान्ने प्रवृत्ति यो १५ बर्षमा सत्तामा रहेका हरेक नेता र उनका झुण्डमा देखा पर्‍यो । कसैले प्रश्न सोध्यो कि उसको हुर्मत लिने गैर लोकतान्त्रिक प्रवृत्ति हामीले आशा गरेका नेताहरुमा नै देख्यौँ ।

हाम्रो राजनीतिको यस्तै शैली र प्रवृत्तिका कारण हाम्रो लोकतान्त्रिक मूल्य,मान्यता र आदर्श कहिलेकाँही एकादेशको कथा हो कि जस्तो लाग्न पुग्छ । अनि प्रश्न सोधेको नरुचाउने हाम्रा पालनकर्तालाई प्रश्न सोध्न मन लाग्छ,लोकतन्त्रबाट लोकहित कसरी छुमन्तर भयो ?

लेखक तथा विश्लेषक युग पाठकका अनुसार, लामो संघर्षपछि मुलुकले संविधान पायो,तर संविधान जारी गर्ने बेलामा त्यसमा असहमति राख्ने ठुलो तप्कालाई सत्ताले सुन्नै चाहेन । ०६२/०६३ को जनआन्दोलनको स्पष्ट सन्देश थियो,राज्यको पुर्नसंरचना गर भन्ने । तर त्यसलाई पनि कुण्ठित गरियो ।

]‘कस्तो संविधान बनाउने भनेर लिइएको जनमतलाई रद्दीको टोकरीमा फालियो, संविधानसभालाई केही नेताहरुको आदेशमा सभासदहरुले लाहाछाप लगाउने थलो बनाइयो’ पाठक भन्छन,‘केही नेताहरुमा असिमित अधिकार हुने र उनीहरुकै निर्णय हामीले मान्नुपर्ने स्थिती बनाइयो,त्यसैको जगमा केपी ओली प्रवृत्ति जन्मियो ।’

आज नेपाली राजनीति आफ्नो कार्यशैलीका कारण जति पनि आलोचित छ,त्यसको मुल कारण लोकतन्त्र हाँक्ने भनिएका यसका ‘ड्राइभर’ हरुबाटै हो।

कांग्रेसका युवा नेता पौडेलका अनुसार, ठूला पार्टीहरुले आफुलाई ब्यबस्थापन गर्न र विधि विधानअनुसार चल्न नसक्दा नेपाली राजनीतिले उचित दिशा समात्न नसकेको हो।

‘हाम्रा नेताहरुमा राजतन्त्रात्मक सोच यथावत रह्यो,’ पौडेल भन्छन,‘ब्यवस्था परिवर्तन भए पनि नेतृत्वको सोच परिवर्तन नहुँदा नेपाली राजनीतिले पटक– पटक खराब दिनहरु हेर्न बाध्य हुनुपर्दो रहेछ ।’

नेपाली राजनीति बिग्रनुमा पनि उनीहरु नै जिम्मेवार हुन् । हामीले नै निर्वाचित गरेर पठाएका प्रतिनिधिको अदूरदर्शी, स्वेच्छाचारी र धनसम्पत्ति थुपारेर राजनीति गर्ने प्रवृत्तिले नै नेपाली राजनीतिलाई गर्नु घात गर्‍यो ।

०६२/६३ जनआन्दोलनमा होमिएका ति लाखौं जनताले चाहेको कुरा पुरा भयो त ? उनीहरुको चाहना सम्बोधन भयो त ? जवाफ आउँछ, छैन । यसको कारण छ, किनकी यो १५ बर्षमा हामीले राजनीतिकर्मी त देख्यौँ तर राजनेता पाउन सकेनौं । नेपाली राजनीति वागमतीमा बगेको ढलजस्तै गन्हाउनुको कारण पनि यही हो ।

हो, यो १५ बर्षमा पनि हामीले राजनेता नै खोजी हेर्‍यौँ, जसले नेपाली राजनीतिलाई कुशलतापुर्वक संचालन गर्न सकोस ।
किनकि प्रणाली होइन,पात्र नै पत्रु भएर नेपाली राजनीति बिथोलिएको बुझ्न अब कठिन छैन।

त्यसो भए यो बिथोलिएको राजनीतिले जनताको चाहना अनुसार कसरी काम गर्ला ?

लेखक तथा राजनीतिक विश्लेषक पाठकका अनुसार अब तेस्रो ठूलो जनआन्दोलन संघारमै छ । त्यसका संकेतहरु देखिन थालिसकेका छन् । दार्शनिक बाटो भेट्न नसकेर नै नयाँ राज्यसत्ता स्थापनाका लागि उठ्न खोजेका आन्दोलनहरुले गति लिन नसकेका हुन् । जवसम्म सत्ताले पंचायती चरित्र देखाइरहन्छ,त्यसको प्रतिरोध भने भइरहन्छ ।

‘आम मानिसमा निराशा छ,आक्रोश छ, उनीहरु अहिलेको शासन प्रणाली र यसका पात्रहरुको कार्यशैलीबाट सन्तुष्ट छैनन्,’ पाठक भन्छन,‘जुन दिन अब हुने आन्दोलनले दार्शनिकी भेट्टाउँछ त्यसपछि नयाँ राजनीतिक पद्धती  आउँछ, आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?