दोस्रो जनआन्दोलनपछि ९ प्रधानमन्त्री: आशा थियो, भरोसा टुट्यो

२०६२/०६३ को जनआन्दोलनको उद्धेश्य के थियो ? त्यो उद्धेश्य पुरा गर्नका लागि यो १५ वर्षमा को-को प्रधानमन्त्री भए ? जनचाहना पूरा गर्न उनीहरु सफल भए कि भएनन् ?

०६२/०६३ को जनआन्दोलनपछि ११ वटा सरकार बन्यो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला तीनपटक, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई–दुई पटक प्रधानमन्त्री बने ।

यस्तै सुशील कोईराला, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई एक एक पटक प्रधानमन्त्री बने । आन्दोलनपछिका पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला बने भने तत्कालीन प्रधानन्यायाधिस खिलराज रेग्मी कार्यकारी प्रधानमन्त्री बने।

कुन प्रधानमन्त्रीको कार्यकाल कस्तो ?

गिरिजाप्रसाद कोइराला

जनआन्दोलन ०६२/०६३ लगत्तै प्रधानमन्त्री बनेका नेता हुन्, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला ।

११ वैशाख ०६३ मा लोकतान्त्रिक आन्दोलनपछि प्रतिनिधिसभाको पुनर्बहाली भयोे । पुन:स्थापित प्रतिनिधिसभाले १५ वैशाख ०६३ मा प्रधानमन्त्रीमा कोईरालालाई नियुक्त गर्‍यो । उनी सोही वर्षको चैत्रमा सरकारमा माओवादीको प्रवेशसँगै लोकतन्त्रमै दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । कोइराला १५ जेठ ०६५ देखि २ भदौ ०६५ सम्म चौथौंपटक प्रधानमन्त्री बनेका थिए।

२१ कात्तिक ०६३ मा कोइराला तथा सात दलका नेताहरूले नेकपा(माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरेका थिए । ५ मंसिर ०६३ मा कोइरालाले माओवादीसँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र आतङ्कको राजनीति समाप्त भएको’ घोषणा गरेका थिए । १२ मंसिर २०६३ देखि कोइराला नेतृत्वको सरकार संयुक्त राष्ट्र सङ्घको प्रत्यक्ष निगरानीमा नेकपा (माओवादी) को जनसेना समायोजन तथा हतियार नियन्त्रणको सम्झौतामा व्यस्त भएको थियो।

माओवादीलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा ल्याउने श्रेय कोइरालाले पाएका छन् । ०६२/०६३ को नायक पनि उनी नै थिए । किनकी उनले उठाउँदै आएको संसद पुर्नस्थापनाको माग यही आन्दोलन मार्फत पूरा भएको थियो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

पहिलो संविधानसभाको चुनावमा सबैभन्दा ठूलो दलको रुपमा माओवादी उदाएपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

३१ साउन ०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्डले सेनापति प्रकरणपछि २१ वैशाख २०६६ मा राजीनामा दिएका थिए । दाहालले दुई महिना मात्रै सेवाअवधि बाँकी रहेका प्रधानसेनापति रुक्मांगद कटुवाललाई बर्खास्त गर्ने असफल प्रयास गरेका थिए।

दाहाल दोस्रोपटक १९ साउन ०७३ मा कांग्रेसकै समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनकै नेतृत्वमा नेपालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । चुनाव सम्पन्न भएसँगै संविधान पूर्ण कार्यान्वयनको बाटोमा अग्रसर भयो।

नेपालको खुला राजनीतिमा प्रचण्डको उदय भएपछि सत्ताबाट सधैं उपेक्षित रहेको वर्गले मुलधारको राजनीतिमा प्रवेश पाउन थाल्यो । यसलाई प्रचण्डको सफलता मान्न सकिन्छ।

माधवकुमार नेपाल

नेकपा एमालेका तत्कालीन अध्यक्ष माधवकुमार नेपाल ११ जेठ ०६६ देखि २२ माघ ०६७ सम्म प्रधानमन्त्री बनेका थिए । उनको राजीनामा माग्दै माओवादीले महिनौं दिनसम्म अनिश्चितकालीन आम हड्ताल गर्यो ।नेपालको कार्यकाल खासै उपलब्धिमुलक रहन सकेन।

झलनाथ खनाल

जनआन्दोलनपछि प्रधानमन्त्री बनेका अर्का नेता हुन्, नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल ।

२३ माघ ०६७ देखि ०६८ भदौ ११ भदौसम्म सरकारको नेतृत्व गरेका थिए । उनको पालामा पनि थ्रेसहोल्डलगायतका विषयमा निकै बहस भए । प्रचण्डको बलमा प्रधानमन्त्री बनेका खनालसँग छिमेकी मुलुक भारतसँग सम्बन्ध सहज हुन सकेन।

डा. बाबुराम भट्टराई

तत्कालीन एनेकपा माओवादी उपाध्यक्ष बाबुराम भट्टराई पनि यो १५ बर्षको बीचमा प्रधानमन्त्री भए । हाल जनता समजावादी पार्टी नेता समेत रहेका भट्टराई १२ भदौ ०६८ देखि ३० फागुन ०६९ सम्म प्रधानमन्त्री भए । उनकै कार्यकालमा २८ चैत ०६८ मा सेना समायोजनको प्रक्रिया सफलतापूर्वक सम्पन्न भयो।

काठमाडौं उपत्यका लगायत ठूला शहरहरुको सडक विस्तारको जस भट्टराईलाई नै जान्छ । हेलो सरकार, जनतासँग प्रधानमन्त्री, जनताको घरमा प्रधानमन्त्री, कर्णाली र सूदुरपश्चित विकास आयोग, लगानी बोर्ड, संस्थान निर्देशन बोर्ड, राष्ट्रिय गौरवका योजना, सुशासन कार्ययोजना, आर्थिक समृद्धिको कार्ययोजना आदि उनको पालामा भएका उल्लेखनीय कार्य हुन्।

यद्यपि दलहरुबीचको असहमतिका कारण संविधान बन्न सकेन । सर्वोच्च अदालतको फैसलाले १४ जेठ ०६९ मा पहिलो संविधानसभाको स्वत: अवसान पनि भट्टराई प्रधानमन्त्री भएकै बेला हुन पुग्थ्यो ।

खिलराज रेग्मी

नेपालको ईतिहासमा पहिलो पटक १ चैत ०६९ चैतमा बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार बन्यो ।

०६४ मा निर्वाचित संविधानसभाबाट संविधान बन्न नसक्नु र राजनीतिक दलहरूबीच सहमति नजुटेपछि यो अन्तरिम व्यवस्था गरिएको थियो । रेग्मीले १ चैत ०६९ देखि २८ माघ ०७० सम्म कार्यभार सम्हालेका थिए।

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीकै नेतृत्वमा मुलुकमा दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो । यही संविधान सभाले नेपालको नयाँ संविधान बनाएको हो ।

सुशील कोइराला

२७ माघ ०७० मा प्रधानमन्त्री निर्वाचित भएका थिए, सुशील कोइराला । कोइराला तिनै प्रधानमन्त्री हुन् जसको नेतृत्वमा ३ असोज ०७२ मा नेपालको संविधान जारी भयो।

संविधान जारी गरेसँगै कोइरालाले २३ असोज ०७२ मा राजीनामा दिएका थिए । कोइरालाको कार्यकालमा संविधान घोषणा, विनाशकारी भूकम्पले क्षतविक्षत मुलुकको पुनर्निर्माण, मधेश आन्दोलनलगायतका घटनाक्रमहरु भए।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर फेरिपनि प्रधानमन्त्री पदकै लागि उम्मेदवारी दर्ता गरेपछि उनको आलोचना भएको थियो ।संविधान जारी गर्ने श्रेय भने कोइरालालाई नै जान्छ।

शेरबहादुर देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो पटक २३ जेठ ०७४ मा लोकतन्त्र स्थापनापछिको १० औं प्रधानमन्त्री बने ।

देउवाको पालामा स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भयो । संविधानप्रति असन्तुष्ट जनाउँदै चुनावमा भाग नलिने घोषण गरेका मधेशवादी दललाई समेत विश्वासमा लिएर उनले शान्तिपूर्ण रुपमा सबै स्थानहरुमा ४ वटै निर्वाचन सम्पन्न गर्न सके।

तर, सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको ल्याउन खोजेको महाअभियोगले उनी विवादित बने । आफ्नै नेतृत्वमा भएको निर्वाचन पार्टी दोस्रो नम्बरमा खुम्चिएपछि पार्टीभित्र उनी आलोचित बने।

केपी शर्मा ओली

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली २४ असोज ०७२ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

नेपालको ३८ औं प्रधानमन्त्री ओली नेतृत्वको सरकार हुँदा छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी गर्‍यो। नाकाबन्दी विरुद्ध उभिएपछि उनले राष्ट्रवादी छवि बनाए । नाकाबन्दीको सामना गर्न ओलीले अर्काे छिमेकी मुलुक चीनबाट इन्धन ल्याउनेदेखि पारवाहन सम्झौता गर्नेलगायतका कामहरु गरेका थिए।

ओलीको पहिलो कार्यकालमा मधेस आन्दोलन चर्कियो भने भारतसँगको सम्वन्ध सुधार हुन सकेन । तर चीनसँगको सम्वन्ध विस्तारले उनको चर्चा चुलियो । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले माओवादीकै असहयोगका कारण बजेट पारित गर्न नसकेपछि ९ साउन ०७३ मा राजीनामा दिए।

३ फागुन ०७४ मा ओली फेरि प्रधानमन्त्रीमा निर्वाचित भए । पछिल्लो तीन वर्षमा प्रधानमन्त्री ओलीको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दै सर्वसम्मत रुपमा संविधान संशोधनसँगै निशान छाप परिवर्तनसँगै चर्चामा आए ।

२३ वर्षपछि चिनिया राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण हुनुआदिलाई ओलीका उपलब्धि मनिएको छ । यस्तै पृथकतावादी आन्दोलनमा रहेका सिके राउत र हिंसात्मक आन्दोलनमा रहेका नेत्रविक्रम चन्द विप्लवलाई मुलधारको राजनीतिमा ल्याउन ओली सफल भए।

तर ओली लोकतन्त्रपछिका अन्य १० जना प्रधानमन्त्री भन्दा बढी आलोचित भए । संसद विघटनको असफल प्रयास, सांसद अपहरण तथा भ्रष्टाचार प्रकरणको ढाकछोप, विभिन्न अध्यादेश तथा विधेयकहरु फिर्ता, भारतीय रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेट, निर्मला पन्त प्रकरणलगायत घटनाक्रमले प्रधानमन्त्री ओलीलाई आलोचित बनायो। माओवादीसंगको एकता भताभुङ्ग हुनु र एमाले बिग्रहको बाटोमा पुग्नुलाई मुल कारक मानिएको छ।

लोकतन्त्रपछिका यी ११ प्रधानमन्त्रीबाट मुलुकले जुन आशा गरेको थियो,त्यो पुरा हुन सकेन । ०६२/०६३ को जनआन्दोलनको जुन उदेश्य थियो,त्यसले साकार रुप लिन सकेन । सहिदका सपना अधुरै रहे । राज्यको समष्टिगत रुपमा संरचना बीचमै छुटयो । यी सबै प्रधानमन्त्री राजनीतिकर्मी भए,राजनेता भने हुन सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?