फेरिए पात्र, फेरिएन प्रवृत्ति (भिडियो सहित)

भन्छन्  नि, ‘जनताको रगत रातो’ तर ‘राजाको रगत नीलो’। तर त्यही नीलो रगतधारी राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली जनतासँग शरण पर्नु पर्‍यो । त्यो दिन थियो, ११ वैशाख २०६३ । अर्थात् १५ वर्ष अघि । दोस्रो जनआन्दोलनले परिणाम दिएको दिन थियो, यो ।

त्यसदिन जनताको शक्तिसामु श्री ५ महाराजाधिराजले घुँडा टेके । अनि हामीले भन्यौँ, ‘जनताको शक्तिले आफ्नो जादु देखाएको दिन।’

१५ वर्ष अघिका ती क्षणहरु सम्झौँ, जतिवेला राजा ज्ञानेन्द्रले सत्तालाई सर्कस र नेताहरुलाई जोकर बनाएका थिए, १९ जेठ ०५८ । नारायणहिटी राजदरवारमा राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको रहस्यमय हत्याकाण्ड भएको दिन । त्यसपछि श्रीपेच पहिरेका ज्ञानेन्द्रले अनेक चटक देखाउन थाले ।

कहिले कसलाई त कहिले कसलाई प्रधानमन्त्री बनाउने अनि हटाउने गर्न थाले । लोकेन्द्रबहादुर चन्द, सुर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए,फेरि हटाए । उनको भनाई थियो, ‘यी सबै असक्षम भए।’

त्यसपछि ज्ञानेन्द्रले सिंहदरबारलाई नारायणहिटी पुर्‍याए । शासनको लगाम आफैँ लिए । ‘टुलुटुलु हेरेर बस्ने राजा’ आफू नभएको भन्दै सत्ता संचालनमा सक्रियता देखाए । नेताहरुलाई जेल पुर्‍याए । कसैलाई नजरबन्द ठोके । सत्ताको साँचो लिएर उनले अनेक कारनामा देखाए । तर सहि अर्थमा उनले कुनै करामत देखाउन सकेनन । जनता चिढिदैँ गए ।

कांग्रेस, एमालेलगायत सात दल र सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादीबीच दिल्लीमा भएको १२ बुँदे समझदारीपछि नेपाली राजनीतिले नयाँ मोड लियो।

नारायणहिटी दरबारबाट ज्ञानेन्द्रले चलाएको हुकुमी शासनविरुद्ध देशब्यापी रुपमा आन्दोलन चर्कियो । राजदरबार घेर्ने भन्दै काठमाडौँका सडक सडकमा जनता आए । दुई दर्जनभन्दा बढी मानिसको ज्यान गयो । आन्दोलन उत्सर्गमा पुग्न थाल्यो । अन्तत: आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ११ वैशाख ०६३ को राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । अनि महाराजधिराजबाट हुकुम भयो, ‘मैले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गर्दछु।’

राजाले आफ्नो हातमा लिएको सत्ताको लगाम जनताले खोसे । त्यो लगाम राजनीतिक दलको हातमा सुम्पिए । ०४६ जनआन्दोलनपछि नेपाली राजनीतिमा जेजस्ता कमीकमजोरीहरु देखा परे, त्यसमा सुधार हुने आशा थियो । राजाबाट खोसेको सत्ताको लगाम जनताले विश्वास गुमाइसकेका राजनीतिक दललाई दिए । दोस्रो जनआन्दोलनमा आमजनताको सक्रिय सहभागिताको अर्थ थियो, ‘अब सच्चिएर आउ,जनताका समस्या समाधानमा गम्भिर बन।’

त्यो दोस्रो जनआन्दोलन केवल राजकदम विरुद्ध मात्र थिएन । ०४६ को जनआन्दोलनले ल्याएको प्रजातन्त्रले आम जनताको भावना सम्बोधन गर्न नसकेको गुनासो गुम्सिरहेको थियो । धेरैको स्मरणमा ताजै रहेको कुरा के हो भने पूर्णलोकतन्त्र स्थापना हुने आशमा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध दोस्रो जनआन्दोलन गर्नुपरेको थियो।

यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पथमा छ । सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्था अन्त्य भएको छ । तर यो बेग्लै कुरा हो कि त्यसको प्रेत हाम्रा शासकको शरीरमा बेलाबेला सलबलाउने गर्छ । किन यस्तो हुन्छ ? किन जनचाहनाको सानो अंशको पनि सम्बोधन हुन सक्दैन । के हामीले दोस्रो जनआन्दोलनमार्फत् ल्याएको लोकतन्त्रले किन आफ्नो खुट्टा ठिक ठाउँमा टेक्न सकेन?

के अब मुलुक अर्को जनआन्दोलनको प्रतिक्षामा हो?

लोकपथले लोकतन्त्रको १५ वर्षको संक्षिप्त समीक्षा गर्ने क्रममा यसको जवाफ खोज्ने प्रयास गरेको । यो १५ वर्षमा आमजनतासँग सरोकार राख्ने १५ विशेष क्षेत्रले के पायो ? के गुमायो ?

श्रृंखलाबद्ध रुपमा प्रकाशित हुने सामाग्रीलाई हामीले सार्वजनिक बहसका लागि प्रवेश गराएका छौँ । जवाफ खोज्ने प्रयासमा प्रश्न उठाएका छौँ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?