सत्ता समीकरण : अलमल्याउँदै ओली, जसपाको बेठेगानको बोली !

लोकपथ
26
Shares

काठमाडौं । गत फागुन २३ को सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा ब्यूँतिएपछि दलहरु सत्ता समीकरणको कसरतमा लागेका छन्। तर सफल भने भएका छैनन् ।

जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह प्रधानमन्त्री केपी शर्मा ओलीकोप्रति लचक देखिएका कारण ओलीको विकल्पमा कांग्रेस,माओवादी केन्द्र र जसपाको सरकार बनाउने प्रयास सफल हुन सकेको छैन। प्रधानमन्त्री ओली पनि जसपाको एउटा पक्षलाई च्यापेर अरुलाई अलमल्याइ रहेका छन् । तर आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई वेवास्ता गर्दासम्म ओलीलाइ पनि सत्तामा ढुक्क भएर बस्ने अवस्था छैन ।

जसपालाई तत्काल अलमल्याउन ओली सफल
कांग्रेस माओवादी र जसपा मिलेर आफ्नो सत्ता लम्व्याउन नदिने हुनकि भन्ने कुरा बुझेर प्रधानमन्त्री ओलीले जसपामा पनि पूर्र्व राजपा पक्षका नेतालाई च्यापेर तत्कालका लागि सत्ताको खड्गो टारेका छन् । केही दिन अघि पूर्व राजपा पक्षले उठाएका माग मध्ये मधेश आन्दोलनमा विभिन्न व्यक्तिलाई लगाइएका मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको छ । अरु माग पनि पुरा हुनुपर्ने जसपाको माग छ । २०७२ मा ओली नेतृत्वकै सरकारका पालामा मधेश आन्दोलनमा सहभागिलाई मुद्दा लगाइएको थियो । जसपाको एउटा समूह आफ्नो पक्षमा पार्न सफल ओली यसले आफ्नो सत्ता लम्बिने विश्वासमा छन् । जसपामा पनि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीप्रति धेरै लचक छन् । तर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने ओलीसँग सत्ता सहकार्य नगर्ने पक्षमा छन् । सिंगो एमाले र जसपाको एउटा समूह ओलीसँग रहँदा ओलीको सरकार ढल्दैन । एक एमाले नेता भन्छन् निर्वाचन ओलीले नै गराउने हो ।

जसपाको भर रहेन 
बाहिर कांग्रेसले निर्णय दिएन भन्ने र भित्रभित्रै ओलीसँग सहमति गर्ने जसपाको राजनीतिमा भर नरहेको एक कांग्रेस नेताको टिप्पणी छ । जसपाको ठेगान नभएकै कारण कांग्रेसले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको हो । यसको उदाहरण लुम्विनी प्रदेश हो । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अनि त्यसको २ घण्टा वित्न नपाउँदै त्यही सरकारमा सहभागी बन्ने राजपाको व्यवहारले कांग्रेस उसँग भर गर्ने अवस्थामा छैन । ओलीविरुद्ध अविश्वास ल्याउँदा सिंगो जसपा एक भएन भने अविश्वास प्रस्ताव पास नहुन सक्छ । त्यसकारण कांग्रेस अहिले हच्किएको ती नेताको भनाई छ ।

माधव नेपाल पक्षले सहयोग नगरे जसपालेमात्रै ओलीलाई हुँदैन 
नेकपा एमाले अहिले फुटको संघारमा छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको व्यवहारले माधव नेपाल पक्ष टाढिएको छ । ओलीले पार्टी फुटाउन खोजेको नेपाल पक्षको भनाई छ । बुधवार र बिहिबार पार्टी भित्रको कलह साम्य पार्न ओली र नेपालबीच छलफल भएपनि सहमति बन्न सकेन । नेपाल पक्षका एक नेताका अनुसार ओलीले पार्टी एकजुटका लागि अन्तिम प्रयास गरेको भन्ने देखाउन नाटक गरेका हुन । यो अवस्थामा नेपाल पक्षका प्रदेश सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासमा जस्तै प्रतिनिधि सभामा ओली विरुद्दको अविश्वासमा फ्लोर क्रस गरे भने जसपाले मात्रै थेगेर ओलीको सरकार रहँदैन ।

ओलीको दाउ निर्वाचनतिरै
प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने आँकलन गर्दै प्रतिनिधि सभाको चालू अधिवेशन नै अन्त्य गराएका छन् । पार्टीमा वरिष्ठ नेता नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्न सक्ने भन्दै उनले नेपाल पक्षका ३८ मध्ये २७ सांसदलाई पार्टी अनुशासन पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका छन् । एमालेका एक नेता भन्छन ओलीको यो काम भोली अविश्वास प्रस्ताव आएमा २७ जनालाई कारवाही गर्दा आफू र प्रतिपक्षमा पनि बहुमत नपुगोस जसले निर्वाचनमा जान बाटो खुलोस भन्ने रहेको छ । प्रतिनिधि सभामा अहिले एमालेका १ सय २१, कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ४९ जना तथा राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको एक–एक जना सांसद छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिने बित्तिकै ओली अल्पमतमा पर्नेछन् । सरकार बनाउनका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ । अविश्वासको पक्षमा बहुमत नपुग्दा सम्म माओवादी ओलीलाई दिएको समर्थन फिर्ता नलिने पक्षमा छ । समर्थन फिर्ता लिँदा फेरी पनि ओलीले प्रतिनिधि सभा विघटन गर्छन् कि भन्ने डर छ । ओली सरकारको निरन्तरताका लागि बाह्य र आन्तरिक दवाब रहेको एक राजनीतिक विश्लेषकको दाबी छ । हुनत यसलाई कांग्रेस सभापति शेरबहादुर देउवाको केही दिन अघिको भनाइले नै पुष्टि गर्छ। उनले राष्ट्रवादको कुरा गर्ने ओली भारतको टाङमुनि छिरेको बताएका थिए । तर जे भएता पनि अहिलेको अवस्थामा ओलीले वरिष्ठ नेता नेपाल पक्षको साथ नलिदासम्म उनको सत्ता सोचे अनुरुप नलम्बिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?