रानीजमरा कुलरिया सिँचाइ आयोजना : १० वर्षसम्म ४८ प्रतिशत मात्रै भौतिक प्रगति

लोकपथ
0
Shares

काठमाडौं /कमला अर्याल – २०७४/७५ मा सम्पन्न हुने लक्ष्य राखि आर्थिक वर्ष २०६७/६८ मा शुरु गरिएको राष्ट्रिय गौरवका आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनामा ४८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक नदेखिएको वेला यस आयोजना पनि पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसक्दा लागत बढेर राज्यलाई थप आर्थिक भार परेको छ ।

रानी, जमरा र कुलरिया सिँचाइ प्रणाली नेपालको सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन गरिएको सबै भन्दा ठूलो सिँचाइ प्रणाली हो । आर्थिक वर्ष २०६७/६८ मा शुरु भएको यो आयोजना आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न हुने लक्ष्य रहेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि समय सीमा संशोधन गरी आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।

यस आयोजनाको प्रारम्भ हुँदा कुल लागत १२ अर्ब ३७ करोड रुपैँया विनियोजन गरिएको थियो । पछि यस आयोजनाको लागत संशोधन गरी २७ अर्ब ७० करोड २४ लाख रुपैँया बनाइयो । यस आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा संशोधित २७७.१३ करोड विनियोजन गरिएकोमा १ खर्ब ६० करोड रुपैँया खर्च भएको छ । हालसम्म यस आयोजनाको समष्टिगत भौतिक प्रगति ४८ प्रतिशत मात्रै भएको छ ।हालसम्मको समष्टिगत वित्तीय प्रगति ४७.७ प्रतिशत भएको छ ।

कृषकद्वारा व्यवस्थित र सञ्चालित रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ सिञ्चित क्षेत्र विकास अन्तर्गत लम्की विस्तारको ६ हजार हेक्टर तथा पथरैया नदीदेखि कान्छा नदीसम्मको १८ हजार हेक्टर गरी जम्मा ३८ हजार ३ सय हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सेवा उपलब्ध गराउने यस आयोजनाको मुख्य उद्देश्य रहेको छ ।

यस्तो छ इतिहास

यस आयोजनाको पानीको स्रोत कर्णाली नदीको हो । यो आयोजनामा पश्चिमी भङ्गालो झरही नाला रहेको छ । यस प्रणालीको निर्माण करिब १ सय वर्ष अगाडि थारु समुदायको अथक प्रयासबाट भएको बुझिन्छ । रानी कुलो वि.सं. १९५३ सालमा पदमकुमारी शाह, कुलरिया कुलो वि।सं। १९६० मा पूर्व कर्णेल ढुण्डीराज शाही तथा जमरा कुलो वि.सं. १९७२ मा मधु महतो तथा कनैया महतोबाट शुरु गरिएको बुझिन्छ ।

के छन् समस्या तथा चुनौतीहरु ?

विभिन्न कारणले पूर्वनिर्धारित समयमा काम सम्पन्न गर्न नसक्नु यस आयोजनाका लागि मूख्य चूनौतीका रुपमा रहेको छ । आयोजनाको इन्टेक क्षेत्रको जग्गामा क्षतिपूर्ति लिएका व्यक्तिहरुबाट समेत अतिक्रमण हुने गरेकाले आयोजना विस्तारमा समस्या परिरहेको छ ।

त्यस्तै,लम्की विस्तार अन्तर्गत मूल नहरको रेखाङ्कनमा परेका घर, जग्गाका जग्गाधनीहरुबाट नहरको एलिमेन्ट सार्नुपर्ने भनी संघर्ष समिति गठन गरी सर्भेक्षण तथा निर्माणमा अवरोध भएकाले समस्या निम्तिएको आयोजनाले जनाएको छ । रुख कटान र राष्ट्रिय निकुञ्जसँगको समन्वय कठिनाइ,जग्गा प्राप्तिमा समस्या लगायतका कारणले यो आयोजना निर्माणमा ढिलाई भएको आयोजनाले जनाएको छ ।

के हो राष्ट्रिय गौरवका आयोजना ?

अर्थतन्त्रको जीवन रेखाका रुपमा रहेका र मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने, रणनीतिक महत्वका सडक, सिँचाइ, जलविद्युत्, विमानस्थल, रेल, खानेपानी, वन तथा पर्यटन क्षेत्रको आधारशिलाका रुपमा रहने, ठूला पूर्वाधार जन्य आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ।

नेपालको अर्थतन्त्रलाई गतिशील एवम् थप विस्तार गरेर अतिकम विकसित स्तरबाट विकासोन्मुख हुँदै विकसित राष्ट्रको स्तरमा पु–याउने राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन सहयोग पुयाउने उदाहरणीय आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन् । मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पूँजी निर्माण र प्रादेशिक सन्तुलनमा यी आयोजनाहरु कोसेढुङ्गा साबित हुनेछन् । यी आयोजनाहरुमा रुपान्तरणकारी, रणनीतिक महत्व र उच्च राष्ट्रिय प्राथमिकता आदि विशेषताहरु रहेको पाइन्छ ।

राष्ट्रिय गौरवका आयोजनाका प्रकार

हलसम्म मुलकभरी २४ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । जसमध्ये सडक तथा रेलसम्बन्धी ७ वटा, सिँचाइसम्बन्धी ६ वटा, जलविद्युत संबन्धी ४ वटा, विमानस्थलसम्बन्धी ३ वटा, धार्मिक तथा सांस्कृतिक सम्पदासम्बन्धी २ वटा र खानेपानी एवम् चुरेक्षेत्र संरक्षणसम्बन्धी १/१ वटा आयोजना रहेका छन् ।

मन्त्रालयगत रुपमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा १० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ६ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५ वटा एवम् रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा पर्ने १/१ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् ।

रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनालाई काठमाण्डौ–तराई मधेश द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको छ भने कालीगण्डकी करिडोर र कर्णाली करिडोरको केही खण्डमा पनि नेपाली सेनाबाट काम भइरहेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य

राष्ट्रिय गौरवका प्रत्येक आयोजनाहरुको आयोजनागत उद्देश्य फरक फरक भएपनि समग्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य साझा जस्तै हुने गर्छन । जसमा :

  • समृद्ध नेपालको आधारशिला निर्माण गर्ने
  • सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने
  • पूर्वाधारको विकासमार्फत् सघन अन्तरआबद्धता बढाउने
  • सांस्कृतिक सम्पदाको संवद्र्धन तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लगायत उदेश्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?