कोरोना कहरकाबीच बीमा क्षेत्रले आशा जगायो

कमला अर्याल / काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस ‘कोभिड – १९ ‘संक्रमणले विश्वका हरेक मुलुकलाई आक्रान्त बनायो ।

कोभिड – १९ को संक्रमणका कारण मानव स्वास्थ्यसहित आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक लगायतका सबै क्षेत्र प्रभावित भए । जसको असरबाट नेपाल पनि अछुतो रहन सकेन । त्यति हुँदा हुँदै पनि केही क्षेत्र भने कोरोनाकैबीच पनि सकारात्मक रहे ।

आर्थिक क्षेत्रका बीमा, उद्योग, व्यवसाय, कलकारखाना, पर्यटन लगायतका क्षेत्र पूर्ण रुपमा प्रभावित भएका थिए । तर यसै क्रममा बीमा क्षेत्रको कारोबार भने खासै प्रभावित भएको देखिएको छैन । समग्रमा २०७७ मा बीमा क्षेत्रको व्यवसाय सन्तोषजनक नै रह्यो । कोरोना कालमा पनि सन्तोषजनक कारोबार भएकाले २०७७ बीमा क्षेत्रका लागि केहि आशा जगाएको क्षेत्रका रुपमा देखिएको छ।

लकडाउन भएर सबै क्षेत्र पूर्ण रुपमा ठप्प भए पनि बीमा कम्पनीहरुले अनलाईनको माध्ययबाट सेवा निरन्तर दिइरहे । बीमा कम्पनीहरुले बीमा दाबीको काम तथा बीमा नविकरणको काम अनलाइनमार्फत् गरिरहे । त्यहि कारण पनि बीमा कम्पनीहरुको समग्रमा कारोबार आशा लाग्दो रह्यो ।

चालू आर्थिक वर्षको फागुन महिनासम्ममा बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, यस अवधिमा १ करोड १ लाख ७६ हजार २९० बीमा लेख जारी भएका छन्।

कोरोना कालमा बीमा क्षेत्रमा समस्याको रुपमा देखिएको कोरोना बीमा लेख हो । २०७६ को फागुनदेखि नेपालमा देखिन थालेको कोरोनाको संक्रमणका कारण बीमा समितिले कारोना बीमा लेख जारी गर्ने निर्णय गरेको थियो। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा कोरोना बीमा लेखमा सर्वसाधारणको आकर्षण पनि बढ्दै गयो । व्यक्ति र संस्थागत रुपमा धमाधम कोरोना बीमा हुन थाल्यो। निर्जीवन बीमा कम्पनीहरुले धमाधम कोरोना बीमा गर्न थाले । जसले गर्दा कोरोना बीमा गर्नेको चाप यति बढ्यो कि कोरोना बीमालेख बन्द नै गर्नुप-यो।

महामारीको आँकलन नगरी गरिएको यस्तो निर्णयले बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्नै धौ धौ पर्न थाल्यो । त्यसपछि कोरोना बीमाको दाबी भुक्तानीको दायित्व बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा सरकारमा बाँडफाँड गर्दै गत जेठ २३ मा बीमा समितिले रोकिएको कोरोना बीमालेख पुनःसुचारु गर्न निर्देशन दियो । त्यसपछि मात्रै कोरोना बीमा लेख पुनः सुचारु भएको छ । नयाँ कोरोना बीमालाई पनि पुरानै पोलिसीले समेट्ने समितिले जनाएको छ।

यस्ता छन् २०७७ मा बीमा क्षेत्रमा भएका मुख्य काम

२०७७ मा बीमा समितिले नयाँ अध्यक्ष प्राप्त ग-यो । सरकारले पूर्व सचिव सूर्यप्रसाद सिलवाललाई समितिको अध्यक्षका रुपमा नियुक्त गर्‍यो।

समितिमा अध्यक्षका रुपमा सिलवाल आएलगत्तै बीमा क्षेत्रका लागि विभिन्न काम गरे। उनले अहिले विकराल बन्दै गइरहेको कोरोना बीमा, बीमा कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी गर्ने तथा कृषि तथा पशुपन्छी बीमा निर्देशिका परिमार्जन इजाजतपत्र सबै बीमा कम्पनीहरुलाई निर्देशन दिने लगायका काम भएका छन् । त्यति मात्रै होइन, बीमा क्षेत्रमा विकृतिका रुपमा देखिएको एकल बीमा पोलिसीमा विकृती र बीमा कम्पनीहरुले अभिकर्तालाई बिना धितो करोडौँ कर्जा दिने गरेको विषयमा पनि समिति खरो रुपमा उत्रियो । २०७७ मा सरकारले ७५ जिल्लामा स्वास्थ बीमा पु-याएको छ । यो स्वास्थ्य बीमा कार्यक्रम सरकारले आर्थिक वर्ष ०७१/७२ को बजेट मार्फत् घोषणा गरेका कार्यक्रम हो।

त्यस्तै, वर्ष २०७७ मा नयाँ तीन जीवन तथा तीन निर्जीवन बीमा कम्पनीहरु प्रभु लाइफ, रिलायन्स लाइफ, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा, जनरल र अजोड लगायतका बीमा कम्पनीहरुले सर्वसाधारणका लागि साधारण शेयर आइपीओ जारी गरेका गरे।

त्यस्तै, २०७७ मा बीमा क्षेत्रमा असफल कामका रुपमा भने बीमा सम्बन्धी विधेयक रहेको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विधेयक संसबाट पारित हुन सकेन । पछिल्लो समय राजनीति क्षेत्रमा देखिएको गातिरोधका कारण बीमा ऐन पारित हुन नसकेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?