लोकपथ यात्री– ०७७ : मुस्कान खातुन र उज्ज्वल विक्रम थापा (भिडियो रिपोर्ट सहित)

काठमाडौं- लोकपथले सधैँ नै ती ब्यक्तिलाई सम्मान गर्छ, सलाम गर्छ, जसले हाम्रो समाज र मुलुकलाई अमूल्य गुन लगाएका छन् । यसैले हामीले पाइला चाल्यौँ, लोकपथ यात्री–२०७७।

बितेको बर्ष अर्थात् विसं २०७७ मा आफ्नो कामले मुलुककै मन जितेका ब्यक्तिलाई सम्मानका साथ सलाम गर्ने श्रृंखला हामीले यसबर्षदेखि प्रारम्भ गरेका छौँ । यो क्रम आगामी बर्ष पनि निरन्तर जारी रहनेछ।

त्यसो त गत बर्ष हाम्रो समाजमा यस्ता धेरै ब्यक्तिहरुले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन् । उनीहरु सबैको योगदानको हामीले कदर गरेका छौँ । हामीले यस्तै चेतनशील कर्मबीरमध्येबाट विभिन्न क्षेत्रबाट लिइएको जनमतलाई आधार मानेर यसपटकको लोकपथ यात्री–२०७७ मा मुस्कान खातुनउज्ज्वल विक्रम थापालाई छनौट गरेका छौँ।

मुस्कान खातुन: फक्रिँदैछ मुस्कानको मुर्झाएको खुसी

अनिता आचार्य। रिर्पोटिङको क्रममा लोकपथको टिम २३ भदौमा काठमाडौंको कीर्तिपुर अस्पताल पुग्दा आइसियू कक्षको बेड नं ४०६ मा आफ्नै ढुकढुकी गनिरहेकी थिइन्, वीरगंज छपकैयाकी १४ वर्षीया किशोरी मुस्कान खातुन । एसिड आक्रमण भएको १९ महिनापछि भेट्दा मुस्कानको गहिरो घाउमा खाटा बस्न थालेको देखिन्छ भने मुहारमा मन्द मुस्कान ।

२० भदौ ०७६ मा बिहान ६ बजे स्कुल जान लागेकी मुस्कानमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण भएको थियो । एसिडका कारण जलेको अनुहार, शरीरको दाहिने पाखो र हातपाखुराको घाउ पुरिँदै जाँदा उनको मनमा केहि शितलता थपिएको छ।

लोकपथसँगको कुराकानीको लागि तयार हुँदा मुस्कान भर्खरै विद्यालयबाट घर आएकी थिईन् । वीरगंजको त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कान एसिड आक्रमणपश्चात् उपचारको लागि काठमाडौं आएकी थिईन् । एसिडले पारेको गहिरो घाउ निको भएसँगै काठमाडौंकै ब्राईट फ्यूचर एकेडेमी कक्षा ९ मा अध्ययनरत छिन् उनी । एसिड आक्रमणको घटनाको छाप उनको मष्तिष्कमा यसरी गढेको छ कि, १९ महिनापछि आज त्यो दिन स्मरण गर्दा समेत उनको मथिंगल हल्लिन्छ।

कुराकानीको क्रममा बेलाबेलामा झसंग हुन्थिन् उनी । अनि फेरि सम्हालिन्थीन् । त्यो घटना भएको बेलाअघिसम्म मुस्कानलाई यसरी एसिड आक्रमण पनि हुनसक्छ भन्नेसम्म पत्तो थिएन । उनी ती डरलाग्दा क्षणहरु सम्झँदै भन्छिन्,‘आक्रमणपछि समेत मैले ममाथि के भएको हो भन्ने भेउ पाउन सकेको थिइँन ।’

सदाझैँ स्कुल जाने बाटोमा एकजना केटा उसको साथीसहित प्लास्टिकको जगमा केहि लिएर उभिएको, आफूलाई चिच्याएर बोलाएको, जिस्काउन खोजेको, आफूले अस्विकार गरेको, त्यो जगमा भएको तरल पदार्थ खान भनेको, नमानेको र यता हेर त भनेर अनुहारमा एसिड छ्यापेको सम्झन्छिन् उनी।

मलाई अहिले पनि याद छ, “ती केटाहरुले समातेको जगबाट बाफ उडिरहेको थियो । त्यसबखत मैले त्यो चिज तातोपानी होला भन्ने अनुमान गरेकी थिएँ । आक्रमणपछि जब अनुहार र हातको रङ कालो भयो । त्यसको जलनले मैले हत्तपत्त पुछ्न खोज्दा छाला र हातको मासु उप्किन थाल्यो तब मैले यो के आश्चर्य भयो भनेर ठानेँ ।” आज पनि घटनाबारे बताउँदा मुस्कानका ओठमुख सुक्छ। तर मलाई जब कीर्तिपुर अस्पतालमा आमाबुबा साथीभाई, दाजुदिदी, देश विदेशबाट हौसला प्राप्त भयो, तब मैले यो अठोट गरेँ अब उप्रान्त यो घटना कसैमाथि नहोस् । उनी दृढ सुनिन्छिन्।

बिहान सबेरै उठ्नु, नमाज पढ्नु अनि साथीभाईसँग खेलकुद र आमाबुबालाई काम सघाउनु एसिड आक्रमणअघि मुस्कानको दैनिकी यसरी बित्थ्यो । तर कहिल्यै कल्पनासम्म पनि नगरेको घटना आफूमाथि आईलाग्यो मुस्कान भावुक सुनिन्छिन् । प्रेम प्रस्ताव अस्विकार गरेकै कारण छपकैयाका सम्साद मियाँ र मजिद मियाँले भदौ २० गते बिहान गणेशमान चोकमा एसिड प्रहार गरेका थिए।

घटनापछिको एक वर्ष अस्पतालको बेड, फलोअप उपचार प्रक्रियामा धाएरै बित्यो । दर्दनाक घटनापछिको एक वर्षपछि मुस्कानको जीवनमा धेरै बदलाव आएको छ । अहिले उनी नमाज पढ्दा प्रार्थना गर्छिन्, ‘कोही छोरीचेलीले एसिड आक्रमणजस्तो जघन्य घटना भोग्नु नपरोस् ।’

फेरिँदैछ मुस्कानको जीवन

एसिड आक्रमणको डरलाग्दो घटनापश्चात् मुस्कानको जीवनमा अनेकन घटनाक्रम र तिनका उपक्रम जोडिएर आए । मडारिएको कालो बादल हटेपछि जब धक नमानी आकाश खुलिदिन्छ, उसैगरी मुस्कानको मुर्झाएको खुसी फेरि फक्रिन थालेको छ।

तर ती दिन यस्ता थिएनन् । मुस्कान एकजना भाई एकजना बहिनी आमा र बुबा भएको सानो परिवारमा हुर्कँदै थिईन् । वीरगंजको भीड सहरमा एउटा छुट्टै सानो संसार थियो । मुस्कानका बुबाले छोरीको आँखामा डाक्टर बन्ने सपना देखेका थिए । छोरीको रहरलाग्दो सपना साकार पार्न आँट भरिरहेका थिए । तर अपत्यारिलो तरिकाले आइलागेको एसिड आक्रमणको घटनाले खातुन परिवारमा बज्रपात निम्तियो।

घटनाको एक वर्ष छोरीले जीवन र मृत्युको लडाईँ लडिरहेको, असह्य पीडामा छट्पट्याइरहेको, शरीरका अंग अगंमा चोट र एसिडको जलनका कारण खप्नुपरेको दुखाई । झण्डै एक वर्ष यी अत्यन्तै कहालीलाग्दो दिन गुजार्यो यो परिवारले । यतिसम्म कि मुस्कानको दाहिने कान एसिडको जलनबाट क्षतविक्षत भएका कारण जब चिकित्सकले शल्यक्रिया गरि हटाइदिए । छोरीलाई पीडा होला भनेर मुस्कानका बुबाले नक्कली कान किनेर ल्याए । कयौँ रात बुवा रसुल अन्सारी र आमा सहनाज खातुको निन्द्रा हराएको छ।

एसिड छ्याप्नेसँग बदला लिन मन छ ?

धेरैको मनमा आउने प्रश्न हो यो । यो सवाल मुस्कान आफैँले पनि अस्पतालमा होश आएदेखि सोचेकी हुन् । तर सोछे जस्तो मात्रै पनि होईन यो सवाल देशको कानून कार्यान्वयन भएमात्रै पनि पुग्छ भन्छिन् उनी । तर काठमाडौं वा देशका केन्द्रस्तरमा मात्रै अनेकन कार्यक्रम गरेर यस्ता घटनामा कमी नआउने उनको धारणा छ । उनी चाहन्छिन् भएका कानूनको पूर्ण कार्यान्वयन होओस् । पिडितले पिडकका कारण फेरि पिडा पाउने अवस्था नआओस् ।

कसैको प्रेम स्वीकार नगरेको कारण उसको रुप बिगारिदिन्छु भन्ने निकृष्ट सोच पुरुषमा हावी हुनुको कारण फितलो कार्यान्वयननै भएको उनको बुझाइ छ । अब कानून बलियो बनेको छ । यसको पूर्णत कार्यान्वयन होस् । कानूनको कडा पालना भएमा यी समस्या दोहोरिएर आउँदैन । उनको बुझाई छ ।

विवाहसँग सुन्दरता पनि जोडिएर आउने समाजको सोचमा अब बदलाव ल्याउनुपर्छ भन्ने उनको मत छ । एसिड आक्रमणपछि उनको सोच फेरिएको छ । बदलिएकी छिन् उनी । मानव जातिले सुन्दरतालाई आधार मानेर गर्ने प्रेम साँचो प्रेम कसरी हुनसक्छ । उनी मलिन सुनिन्छिन् ।

मुस्कानका बुबाआमालाई लाग्छ, हरेक अभिभावकले आफ्ना सन्तानको समस्या सुनिदिनुपर्छ । त्यसो गर्दा उनीहरुले खुलेर आफूमाथि परेका समस्या शेयर गर्छन् । यसैकारण सकभर घटना नै हुन पाउँदैनन् । भईहालेमा अपराधी पक्रिन सकिन्छ ।

मुस्कानले दिन्छिन् प्रेरणा

धेरै रात मुस्कानको छट्पटाहटमा उनका अभिभावक रोएका छन् । तर अहिले रसुल र सहनाज छोरीको मनमा दृढ अठोट देख्छन् । यो अठोट भर्न यी दम्पत्तीले आफ्नो सबै शक्ति र सामर्थ्य खर्चिएका छन् । मोबाईलमा भेटिएका उत्प्रेरक भिडियो, शारिरीक अशक्तता भएका व्यक्तिले गरेका काम, नपत्याइएका पात्र र तिनका आँटबारे सार्वजनिक भएका विभिन्न भिडियो किलप्स छोरीलाई देखाएर उत्प्रेरणा भरिदिनु उनीहरुले आफ्नो कर्तव्य ठाने । आज मुस्कान जसरी मुस्कुराउँदै छिन् त्यो सबैको जस उनी स्वयंले पनि आफ्नो अभिभावकलाई दिन्छिन्।

हिजोआज मुस्कान आफ्नो नियमित उपचार, पढाइका अतिरिक्त सरकारीस्तरबाट आयोजना भएका विभिन्न सेमिनार, प्रेरणा दिने भाषण, गोष्ठी, भेला, बहस, छलफल, अन्तक्रिया र समिक्षात्मक कार्यक्रम, सम्मान र आत्मरक्षा तालिममा व्यस्त छिन् । स्कुल पढाईबाट बिदा मिलेसम्म उनी आफूले भोगेका, सिकेका, जानेका कुरा अरुलाई विशेषत महिला दिदीबहिनीलाई लक्षित गरेर बाँड्न कतिपनि हिच्किचाउँदिनन् । किनकी उनलाई एसिड आक्रमणकारीबाट आफूजस्तै छोरी चेली र दिदी बहिनीलाई बचाउँनुछ।

स्याबास, मुस्कान

किनकी,
‘म पुरुष हुँ’ भन्ने अंहमले दिएको दर्द र दाग लिएर कर्मशील मुस्कान हाम्री महान छोरी हुन् ।
सुन्दर अनुहारमा कहिल्यै नमेटिने दाग र मनभित्र पीडाको पहाड बोकेर अझै पनि मुस्कान मन्द मन्द मुस्कुराउन सकेकी छिन्। समाजमा यस्ता कमै ब्यक्ति हुन्छन् जसले यस्तो साहस गर्न सक्छन्।

यसैले मुस्कानलाई हाम्रो सलाम ।

उज्ज्वल विक्रम थापा : यसैले त उज्ज्वल नक्षत्र

रामेश्वर सापकोटा। एसिड आकक्रमणबिरुद्ध अभियान चलाएर त्यसबिरुद्ध राज्यको ध्यान आकृष्ट गर्न कम्मर कसेका व्यक्ति हुन्, उज्वल विक्रम थापा । उनको अनवरत प्रयासपछि सरकार एसिड अर्थात तेजाव आक्रमणविरुद्ध कडा कानून ल्याउन बाध्य भयो । उनले रातदिन प्रधानमन्त्री निवास बालुवाटार धाएर सरकारलाई एसिड आक्रमण जस्तो जघन्य अपराधका विरुद्ध अध्यादेशमार्फत कानून संसोधन गर्न बाध्य पारे ।

एसिड आक्रमणबाट पीडित बनेका ब्यक्तिको हकअधिकार र सहयोगमा क्रियाशील अभियन्ता उज्ज्वलले एसिड आक्रमणमा परेका १९ मध्ये १३ जनालाई प्रत्यक्ष सहयोगमात्र गरेनन,कानूनी उपचार पनि खोजे ।

मुस्कान खातुन लगायत एसिड आक्रमणबाट घाइतेहरुको उपचारमा अभियान नै चलाए । उनी नेपालका सबैजसो एसिड पीडितको मुहारमा मुस्कान ल्याउन सधै लागिपरे । तेजाव आक्रमण विरुद्ध गत असोजमा जुन कानून ल्याइएको छ, त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको अभियन्ता थापाको गुनासो छ । सात दिनभित्रै फैसला सुनाउने परिपाटी बनाएमात्र अर्काे अपराधीले त्यस्तो अपराध गर्ने हिम्मत हम्मेसी गर्न नसक्ने उनको ठहर छ।

यस्तो छ, उज्ज्वलको पहलमा ल्याइएको एसिड आक्रमणविरुद्धको कानून

कसैलाई एसिड फ्याकेर, छर्किएर, खन्याएर वा सेवन गराएर अंगभंग भएको अवस्थामा दुवै आँखा जलेर दृष्टिपूर्ण रुपमा नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्णरुपमा नष्ट भएमा, नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जलेर कुरुप भएमा, महिला भए दुवै स्तन काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग नासिएमा पीडकलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुनेछ ।

एउटा आँखा, एउटा कान जलेर काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जलेर काम नलाग्ने भएमा, दुवै हात वा दुवै खुट्टा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भागमा क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

एसिड आक्रमणका कारण कसैको शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच बर्षदेखि १० वर्ष कैद र एकलाखदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ।

आक्रमण गर्दा एसिड शरीरमा नपरे वा उम्किएमा पनि त्यस्तो काम गर्न खोज्ने व्यक्तिलाई मुद्दा हेरी १० वर्षसम्म कैद र पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ।

एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणाम स्वरुप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ भने शरीरमा कुनै असर भए त्यस अनुसार कसूर भएको मानेर मुद्दा चलाइने समेत उल्लेख छ । एसिड (तेजाब) को परिभाषा पनि विस्तृत बनाइएको छ।

पीडित ब्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अंगभंगको गम्भिरता तथा जरिवाना रकमसमेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनुपर्नेछ । यो अध्यादेश १२ असोज ०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन्।

उज्ज्वलले गरेको प्रयासकै कारण यो सम्भव भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यो प्रकरणमा धन्यवाद दिनै पर्छ, जसले उज्ज्वल र एसिड पीडितहरुलाई बोलाएर उनीहरुको कुरा सुनेर कानून बनाउन निर्देशन दिए ।

यहाँनिर उज्ज्वलले तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेललाई सम्झिए । यसको कारण छ, किनकी यो कानून ल्याउन तबमात्र सम्भव भयो जब खरेलले यसका लागि निकै गम्भिर भएर पहल गरे । काूनन ल्याउन किन जरुरी छ भनेर प्रधानमन्त्री ओलीलाई बुझाउन सफल भए।

समस्या: पुरुषप्रधान सोच

उज्ज्वलले लोकपथसँगको कुराकानीमा भने, ‘एसिड लगायत जलनका जति पनि घटना छन् त्यसको सरकारले निःशुल्क उपचार गर्नुपर्छ ।’ उनी एसिडका साथै आगोले पोलेकाहरुको उपचारमा पनि लागेका छन् । जलनको पीडा देखेर नै आफू यस्तो अभियानमा लागेको उनको भनाइ छ।

विश्वव्यापी रूपमा एसिड आक्रमणबाट ८३ प्रतिशत महिला पीडित छन् भने १७ प्रतिशत पुरुष पीडित छन् । किन यस्तो हुन्छ ? हामीले उज्ज्वललाई सोध्यौँ । ‘पुरुषप्रधान समाजमा पुरुष कहिल्यै पनि आफू तल पर्नै चाहदैन,किनकी हाम्रो हुर्काइ नै यसरी भएको छ । यसैले छोराको सोचमै परिर्वतन नल्याएसम्म यस्ता घटनाहरु घटी नै रहन्छन् ।’

भगवानभन्दा पहिले सम्झिने नाम

एसिडले पोलेका हुन वा आगोले जलेका हुन, उनीहरुले भगवानभन्दा पहिले सम्झिने पहिलो नाम नै ‘उज्ज्वल‘ हुन् । तर उनी यस्तो सोच्दैनन् । भन्छन, ‘हरेक नागरिकले एसिड बिरुद्ध समाजमा प्रहरीको भूमिका निर्वाह गर्न जरुरी छ ।’

उज्ज्वलले यसबीचमा बुझेको कुरा हो,अमानवीयतालाई शब्दमा ब्याख्या गर्न सकिदैन । तेजावका कारण मानिसका शरीरबाट मासुका टुक्रा निस्किएका, आँखा पग्लिएका ह्दयविदारक अवस्थाले एसिड आक्रमणलाई निर्मूल पार्नुपर्छ भन्ने उनलाई लाग्यो ।

‘मलाई यसतर्फ लाग्ने प्रेरणा भनेकै पीडितको पीडा अनि आफ्ना बाबु आमाले सन्तानले भोगेको ह्दयविदारक अवस्था हो,’ उज्ज्वल भन्छन्,‘यही पीडा कम गर्न लाग्दा वर्षाै बितेको थाहा भएन । सबै नेपालीको सहयोले नै अभियान सम्भव भएको हो ।’

अनि त हामीले शेरउडका यी विद्यार्थीलाई भन्यौँ, थापा परिवारको मात्र होइन देशकै नक्षत्र ।

क्या बात् उज्ज्वल ।

समाज चलायमान छ । उज्ज्वलजस्तै केही ब्यक्तिहरु हाम्रो समाजमा छन् । सामाजिक मुल्य, मान्यता र आदर्शमाथि पटक पटक प्रहार भइरहँदा त्यसको रक्षाका लागि अघि सरेर आफ्नो जिम्मेवारी निर्वाह गर्न यस्ता ब्यक्तिहरु अघि सरिरहन्छन् । त्यसैमध्येका एक हुन्, उज्ज्वल । अनि त हाम्रो सामाजिक मुल्य, मान्यता र आदर्श अझै बाँकी छ ।

यसैले उज्ज्वललाई हाम्रो सलाम ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

तस्वीर/भिडियो: दीपक विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?