डिजिटल बैंकिङ्गले फड्को मारेको वर्ष

कमला अर्याल/काठमाडौं- आर्थिक वर्ष २०७६/७७ अर्थतन्त्रका लागि सुखद् समय रहेन । तर विद्युतीय (डिजिटल) बैंकिङ्गले भने सकारात्मक फड्को मारेको छ।

अघिल्लो वर्षको फागुनदेखि नै कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण फैलिएपछि सरकारले अघिल्लो चैत ११ देखि मुलकभरी लकडाउन गरेको थियो । सो वेलादेखि वर्षैभरी अधिकांश क्षेत्र प्रभावित भए । तर डिजिटल बैंकिङ्ग कारोबार भने अत्यन्तै उत्साहजनक रुपमा अगाडि बढ्यो । लकडाउनका बेला अधिकांश बैंकहरुले आफ्ना ग्राहकलाई घरबाटै डिजिटल कारोबार गर्न आग्रह गरे।

बैंकहरुले डिजिटल कारोबारमा छुट समेत दिएर ग्राहकलाई प्रोत्साहन गर्ने काम गरे । जसका कारण डिजिटल कारोबार उच्च रुपले बढ्यो । कोरोनाको संकटले डिजिटल कारोबारको अर्काे विकल्पको रुपमा क्यूआर कोडको सेमत सुरुवात भयो । अघिल्लो वर्ष ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस)मा छलाङ मारेको नेपाल राष्ट्र बैंकले यसपालि ‘क्यूआर कोड’मा छलाङ मारेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद आधिकारीले क्यूआर कोड लागु गर्न अभियान नै चलाएका छन् । उनी कहिले तरकारी बजार त कहिले खाद्यन्न पसलमा क्यूआर कोड सुरु गर्न दौडिरहेका छन् । पछिल्लो समय अधिकांश तरकारी तथा फलफुल बजार, किराना पसल, खाद्यान्न पसल गायतका स्थानमा क्यूआर कोड लागु भएको छ । क्यूआर कोडबाट कारोबार गर्दा एक व्यक्तिले अर्काे व्यक्तिलाई छुनु पर्दैन । त्यसो गर्दा कोरोना सर्ने संभावना निकै कम हुन्छ । बैंकिङ प्रणालीमा अघिल्लो वर्षदेखि नै क्यूआर कोडको थालनी भएपनि २०७७ मा यसले व्यापकता पाएको हो।

विगतका दिनहरुमा राजधानी र देशका मुख्य शहरहरुमा मात्रै खुम्चिएको इन्टरनेट सेवा अहिले गाउँ गाउँ पुगेको छ । गाउँ गाउँमा इन्टरनेट सेवा पुगेपछि त्यसले डिजिटल कारोबारलाई थप टेवा पु¥याएको छ । राष्ट्र बैंकले अहिले क्यूआर कोडलाई बैंकिङ प्रणालीमा डिजिटल कारोबारको पछिल्लो अभ्यासको रुपमा अगाडि बढाइए पनि बैंकहरुले विदेशमा कारोबार गर्न डलर कार्डको पनि सुरुवात गरिसकेका छन्।

चालु आर्थिक वर्ष २०७६/७७ को आठ (फागुन) महिनासम्मको तथ्यांक हेर्ने हो भने डिजिटल कारोबारले छलाङ नै मारेको देखिन्छ । कोरोना कालमै बढी प्रयोगमा आएको क्यूआर कोडमार्फत फागुन महिनामा २ अर्ब ५ करोड ५० लाख रुपैयाँ क्यूआर कोडमार्फत कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो । यस अवधिमा ६ लाख ३५ हजार ७३८ वटा कारोबार भएका छन्।

क्यूआर कोडमार्फत गत माघमा १ अर्ब ७१ करोड २० लाख, पुस महिना १ अर्ब २४ करोड ५० लाख, मंसिर महिनामा १ अर्ब २५ करोड ६० लाख रुपैँया बराबरको कारोबार भएको थियो।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन महिनासम्म रियल टाइम ग्रस सेटलमेन्ट(आरटिजिएस) मार्फत १७ खर्ब ३६ अर्ब ३२ करोड ९ लाख रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै,एटिएममार्फत ६० अर्ब ७१ करोड १० लाख रुपैँया बराबर कारोबारल भएको छ । त्यस्तै,आइपिएस मार्फत १ खर्ब ७९ अर्ब ६९ करोड ७० लाख,कमेन्ट आइपिएसमार्फत १ खर्ब १० अर्ब ५७ करोड,डेविड कार्डमार्फत ६३ अर्ब ७९ करोड ७० लाख रुपैँया बराबरको कारोबार भएको छ ।

त्यस्तै, क्रेडिट कार्डमार्फत १ अर्ब ३ करोड ९० लाख,प्रिपेड कार्डमार्फत,१० करोड २० लाख,इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ८८ करोड, मोबाइल बैंकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख, ब्रान्चलेस बैंकिङमार्फत १ अर्ब १२ करोड ३० लाख, वालेट मार्फत १० अर्ब १८ करोड,पोइन्ट अफ सेलमार्फत ३ अर्ब ३२ करोड र इकमर्श मार्फत १० करोड ४० लाख रुपैँया बराबरको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?