टेलिकमको ५ जी सेवा : यस्तो छ योजना

लोकपथ
0
Shares

काठमाडौं – नेपाल टेलिकमले नयाँ प्रविधिमा आधारीत ५ जी सेवा लागू गर्ने तयारी गरेको छ । यो सेवा विल्कुलै नयाँ प्रविधिमा आधारित सेवा हो । यो पूर्ण रुपमा अटोमोसन हुन्छ । साथै यो सेवाको गति पनि निकै उच्च हुन्छ । ‘अहिले हामीले परिक्षणका रुपमा शुरु गर्न लागेका छौँ ।’ टेलिकमका म्यानेजर सरोजकुमार शाक्यले भने ।

शाक्यका अनुसार टेलिकमले परिक्षणका रुपमा उपत्यकासहित पोखरा, विराटनगर र नेपालगञ्ज लगायतका मुलुकका केही सिमित शहरहरुमा ५ जी सेवा लागू गरिनेछ । ‘यो शुरुको परिक्षण हो । नतिजा कस्तो आउँछ, त्यसैका आधारमा थप विस्तार गर्दै लैजान्छौँ ।’ उनले भने । यसका लागि तिव्र गति आवश्यक पर्ने भएकाले त्यसको तयारी टेलिकमले गरिरहेको छ ।

उच्च र नयाँ प्रविधिका लागि खर्च पनि उच्च लाग्ने भएकाले यस्तो सेवा केही महँगो हुने टेलिकमले जनाएको छ । सरकारले ५ वर्षभित्र नेपालमा सबै क्षेत्रमा ५ जी पुर्‍याउने लक्ष्य राखेको छ। टेलिकमले २०७८ सालभित्रै ५ जी सेवा शुरु गरिसक्ने जनाएको छ । त्यस्तै, टेलिकमले पछिल्लो सेवा वायरलेसमा आधारित फेरजी सेवा दिइरहेको छ । यसमा एएलटी भन्ने टेक्नोलोजी ८०० मेगाहर्जमा काम गरिरहेको छ । यसमा अर्को ‘भ्वाइल कल’ सेवा समेत रहेको छ ।

त्यस्तै,टेलिकमले अहिले एटिटिएच अप्टीकल फाइबरमा आधारित द्रुत गतिमा डाटाहरु पठाउन तथा प्राप्त गर्न सक्ने क्षमता सहितको सूचना आदान प्रदान गर्न सकिने नविनतम सेवा दिइरहेको छ । टेलिकमले उपलब्ध गराउने यो सेवामा हाल ६० एमबिपिएस गतिसम्मको ब्रोडब्याण्ड इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा संचालन गरिरहेको छ । भविष्यमा भिडियो अन डिमाण्ड समेत प्रदान गर्ने टेलिकमको योजना रहेको छ । यो प्रविधीबाट उच्च गतिको इन्टरनेट प्राप्त गर्न सकिन्छ भने आइपी प्रविधिमा आधारित टेलिफोन सेवा तथा टेलिभिजन जस्ता सुविधाहरु उपलब्ध गराउन सकिन्छ । यस सेवाबाट ग्राहकले इन्टरनेट, टेलिफोन तथा छुट्टाछुट्टै तारमार्फत् सेवा लिनुपर्ने बाध्यता रहँदैन । यसअन्तर्गत व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि आकर्षक शुल्कसहितका योजनाहरु रहेका छन् ।

टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ९ ७५ अर्ब नाफा कमाएको छ । सरकारी कोषमा योगदान ३५.०५ अर्ब, प्रतिशेयर आम्दानी ६४.९९ रुपैँया रहेको छ । त्यस्तै, टेलिकमका कुल ग्राहकको संख्या २ करोड पुगेको छ भने भ्वाइस सेवाको बजार हिस्सा ५२.६९ प्रतिशत रहेको छ ।

त्यस्तै, मोबाइल ग्राहकको संख्या १.९३ करोड पुगेको छ भने इन्टरनेट सेवाको बजार हिस्सा ४८.६८ प्रतिशत रहेको छ । त्यस्तै,टेलिकमको इन्टरनेट प्रयोगकर्ताको संख्या १.५० करोड पुगेको छ भने इन्टरनेट ग्राहक वृद्धिदर ९.९३ प्रतिशत रहेको टेलिकमले जनाएको छ । साथै टेलिकमले भ्वाइस सेवा बापतको राजश्व २५.०१ अर्ब तथा इन्टरनेट सेवा बापतको रावश्व ८.२१ अर्ब रुपैयाँ संकलन गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?