२०७८,बैशाख,२९,बुधबार

चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ?


काठमाडौं । बालबालिकालाई हुनसक्ने चोटपटक वा इन्जरीमा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् ।

यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ । बालबालिकामा हुने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको औषधि उपचार खर्चमा कटौंती गर्न सकिन्छ भने बालस्वास्थ्य प्रवर्धनमा प्रत्यक्ष मद्दत पुग्दछ ।

एक वर्ष मुनिका शिशुहरू

यद्यपी हामी धेरै साना छौं तरः

हामी निरन्तर बढीरहेका हुन्छौं ।

हामीलाई गल्तीले पनि चोट नलागोस् भनेर तपाईको रेखदेखको धेरै खाँचो छ ।

हामी प्रायः सुत्ने, खाने र रुने मात्र गर्छौं, तर पनि तपाईहरूले हामीलाई कसरी सुरक्षित राख्ने हो जान्नै पर्छ ।

हामीले ढल्किन, पल्टिन र बस्न सिकेको पनि धेरै भएको छैन, त्यसैले पनि तपाईले हाम्रो सुरक्षाबारे सोच्नै पर्छ ।

हामीहरूलाई घरबाहिर त चोटपटक/इन्जरीको खतरा छदैछ तर घरभित्रै पनि त्यस्ता धेरै खतराहरू हुनसक्छन् ।

चोटपटक/इन्जरीबाट वर्षेनी हामी जस्ता धेरै शिशुहरू घाइते हुने वा मृत्यु पनि हुने गरेको छ ।

याद राख्नुहोस्

तपाईंहरू हाम्रो लागि दुःख कष्ट गर्नुहुन्छ, तर कुनै आपत आइपरेमा हामी आफ्नो स्याहार आफैं गर्न पनि सक्दैनौ।

 

This image shows an illustration of a young child on the edge of the bed
UNICEF Nepal

 

चाडपर्वमा पनि हामीलाई दुर्घटनाबाट जोगाउनुहोस्

धेरै साना भएकाले हामी लड्यौं भने नराम्ररी घाइते हुनसक्छौं ।

हामी बामे सर्न वा राम्ररी हिंड्न सक्दैनौं, त्यसैले तपाईले हामीलाई यताउता लैजाँदा बोक्नुहोस् ।

तर हामी बढ्दै जाँदा हामी हाम्रा हात र खुट्टा प्रयोग गर्ने भएकाले हामी गुल्टिन सक्छौं ।

तपाईले मलाई समातेर हिंड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर लड्न सक्नुहुन्छ । तपाईसँगै मलाई पनि चोट लाग्न सक्छ ।

आफ्नो पाइला हेरेर हिंड्नुहोस् । मलाई समातेर भर्याङ्गबाट ओर्लंदा बार समातेर मात्र ओर्लनुहोस् ।

मलाई खाटमा राखेर तेल लगाउँदा ख्याल गर्नु भएन भने म खाटबाटै तल झर्न सक्छु ।

हामीलाई पोलिनबाट जोगाउनुहोस्

दुर्घटनावस घरमा आगो लाग्यो भने मलाई पोल्न सक्छ । म धुँवाले निसास्सिन वा मर्न पनि सक्छु ।

हाम्रो घरमा आगो लाग्दैन भन्ने निश्चित गर्नुहोस् ।

मेरो छाला कमलो र पातलो भएकोले छिटै पोल्छ ।

जाडो याममा तातो पानीले नुहाउन मलाई पनि मन पर्छ । तर, पानी कति तातो छ जाँचेर मात्र मलाई नुहाइदिनुहोस् ।

घरभित्र वा सुत्ने ठाउँमा वा म सुतेको ठाउँमा चुरोट नपिउनुहोस् । त्यसबाट आगलागी हुनसक्छ ।

चुरोटको धुँवा त्यसै पनि स्वास्थ्यका लागि ठुलो खतरा हो ।

आगो बालेको वा खाना पकाउने ठाउँमा मलाई नसुताउनुहोस् । मलाई धुँवाले सास फेर्न गाह्रो हुन्छ ।

याद राख्नुहोस् , मलाई  कुनै वस्तु तातो छ कि छैन भन्ने कुरा थाहा हुँदैन । त्यसैले मलाई कुनै समस्या नपरोस् भन्ने निश्चित गर्नुहोस् ।

 

हामीलाई निसास्सिनबाट जोगाउनुहोस् ।

मेरो फोक्सो धेरै सानो भएको र श्वासप्रश्वास प्रणाली कमजोर भएकोले म सजिलै निसास्सिन सक्छु ।

मलाई यी अवस्थाबाट जोगाउनुहोस्;

घरभित्रको धुँवाबाट, बिंडी/चुरोटको धुँवाबाट, ओढ्नेले नाक–मुख छोप्नबाट, मकलबाट निस्कने धुँवाबाट, सुतेको बेला कोल्टो पर्नबाट, सुतेको बेला च्यापिनबाट ।

 

हामीलाई पानीमा डुब्नबाट पनि जोगाउनुहोस् ।

मेरो वरपर खुला भाँडोमा पानी भरिएको छ भने तपाईंहरूले त्यसलाई संधै छोपेर राख्नुहोस् ।

म जस्ता कति बच्चाहरू त्यस्ता भाँडोमा डुबेर मरेका छन् ।

 

अब हामी बामे सर्ने र भरखरै हिंड्न शुरु गर्छौं

खाना पकाउने बेला मलाई चुलो नजिक आउन बाट रोक्नुहोस् ।

मैले हात चलाउँदा पोखेर मलाई अनि तपाईलाई पोल्न सक्छ ।

म अझै सानै भएपनि मलाई नयाँ नयाँ कुरा गर्न र खोज्न मन पर्छ ।

याद राख्नुहोस्, यसो गर्दा म ठुलो दुर्घटनामा पनि पर्न सक्छु ।

बामे सर्दै म बाहिर बारीतिर पनि पुग्न सक्छु । ख्याल गर्नुहोस्,  त्यहाँ सर्प, बिच्छी पनि हुन सक्छन् ।

मलाई मेच, टेबुल खाटमा राख्दा होश गर्नुहोस्, म त्यही उभिन र लड्न सक्छु ।

मलाई भर्याङ्ग नजिक वा अग्लो स्थानमा एक्लै नछाड्नुहोस् ।

म उक्लेर वा चढेर त्यहिंबाट लड्न सक्छु । मलाई नराम्रो चोट लाग्न सक्छ ।

कौसीमा छेकबार लगाएको छैन भने मलाई त्यहाँ एक्लै नछोड्नुहोस् । सकभर छिटै त्यसमा बार लगाउनुहोस् ।

भुँईमा वा मैले पुग्ने ठाउँमा तातो चिया, तातो पानी वा तातो खाने कुरा राखेको देखेँ भने म त्यसैलाई छुन चाहन्छु ।

भुँईमा वा मैले पुग्ने ठाउँमा खाना पकाउन वा ताप्नको लागि आगो बाल्नु भएको देखेँ भने मलाई त्यहाँ जान र छुन मन लाग्छ ।

आगोले मलाई पोल्न सक्छ ।

तातो कुराले मेरो छालालाई सजिलै पोल्छ । त्यसैले तपाईंले यसको ख्याल गर्नुहोला ।

मेरो कमलो छालालाई मेरो आफ्नै वा तपाईका नङ्ले कोपर्नबाट बचाउन पनि विशेष ध्यान दिनुहोस् ।

 


 

एक वर्षदेखि पाँचवर्ष सम्म

म एक वर्ष पुगेपछि तपाईहरू कत्ति खुशी हुनु भएको छ । तर म अलि ठुलो भए पनि आफ्नो स्याहार गर्न र खतरा चिन्न सक्दिन ।

अझै पनि घरभित्र वा घर वरपरकै धेरै कुराहरूले मलाई घाइते बनाउने खतरा छ ।

मलाई कुनै नौलो चिज साना, ठुला, जेसुकै देखेपछि त्यसैसँग खेल्न मन लागिहाल्छ ।

मलाई एक्लै खेल्न पनि जान नदिनुहोस् ।

म हातले समात्न सक्ने जुनसुकै वस्तु पनि मुखमा हाल्छु । यसरी जे पायो त्यही मुखमा हाल्दा घाँटीमा अड्किने, विषालु हुने, वा अन्य पेटका रोग पनि लाग्न सक्छ ।

मेरो वरपर भएका सिक्का–पैसा, गेडागुडी, स–साना खेलौनाहरू हटाउनुहोस् र चाहिएको बेलामा मात्र मलाई दिनुहोस् ।

नुहाउने बेलामा म धेरै चलेर चिप्लिन पनि सक्छु र भुँईमा ठोक्किएर नराम्ररी चोट पनि लाग्न सक्छ । मेरो नुहाउने ठाउँलाई सुरक्षित बनाउनुहोस् ।

मलाई सुताउने ठाउँको पनि ख्याल गर्नुहोस् । तखतामा केही ढल्ने कुरा राख्नु भएको रहेछ भने मुसा, बिरालोले ढलाएर मलाई चोट लगाउन पनि सक्छन् ।

This image shows an illustration of a young child reaching for a vase on a table
UNICEF Nepal

 

हेर्नुहोस् त म त ठुलो हुँदैछु नि !

अब मलाई माथि माथि पुग्न र त्यहाँबाट हेर्न रहर लाग्छ ।

त्यसैले म पिर्का, डोको वा भाँडाकुँडाको सहायताले झ्यालमा चढेर बाहिरतिर हेर्ने पनि गर्दछु ।

मलाई रुखमा चढ्न पनि धेरै मन पर्छ । एक्लै वा साथीसँग रुखमा चढेर खेल्दा म त्यहाँबाट लडेर घाइते हुने र हाड भाँचिने पनि हुनसक्छ ।

मलाई टेबुल वा अग्लो ठाउँमा राखेको कुरा भेट्न र त्यसलाई समात्न मन लाग्छ । यसो गर्दा मलाई धेरै खतरा हुनसक्छ भन्ने थाहै हुँदैन ।

चर्पी

मलाई एक्लै छाड्नु भयो भने तपाईलाई पछ्याउँदै काम गरेका ठाउँमा पनि आइपुग्छु । एक्लै घरमा बसे पनि चोटपटक लगाउन सक्छु । मलाई तपाईहरूको रेखदेखको धेरै खाँचो पर्दछ ।

मैले तपाईहरू वा हजुरबा–आमाको औषधि भेटें भने पनि खाइदिन्छु । त्यसरी औषधि खाएँ भने मलाई विषालु असर पनि हुनसक्छ ।

घरको भुँइतिर शिशीमा केही किटनाशक, केमिकल वा रसायनिक पदार्थ भेटेँ भने पनि म खाइदिन्छु । यसले मलाई धेरै नराम्रो असर पनि गर्न सक्छ ।

अब म तपाईले सिकाएका सुरक्षासम्बन्धी केही कुराहरू सिक्न पनि सक्छु । त्यसैले मलाई माया गरेर मेरो सुरक्षाका कुराहरू सिकाउन शुरु गर्नुहोस् । तर पूर्ण रुपमा सिकेको कुरा पालना गर्न मलाई अझै समय लाग्छ । त्यसैले घरवरपर र बाहिर मलाई हुनसक्ने खतराहरूको खोजि गरेर तिनलाई हटाउनुहोस् ।

 


स्कुल जाने उमेरका बालबालिका

मलाई यो उमेरमा घर भित्रभन्दा घर बाहिर खेल्न मनपर्छ ।

स्कुल जाँदाखेरी मलाई बाटोमै पनि चोटपटक लाग्ने धेरै कुराहरू हुन्छन् ।

एक्लै स्कुल पठाउनु भयो भने मलाई चोट लाग्ने खतरा धेरै बढी हुन्छ ।

This image shows an illustration of two children climbing up walls
UNICEF Nepal

म स्कुलबाट फर्के पछि सकभर मेरो शरीरमा कतै चोट पो लागेको छ कि भनेर जाँच्नुहोस् । आफुलाई चोट लागेको कुरा मैले नभनेर लुकाएको पनि हुनसक्छ ।

यसरी जाँच गर्दा मेरो चोटपटकको कारण सोध्नुहोस् र अबदेखि मलाई वा अरुलाई त्यस्तो नहोस् भनेर त्यसको समाधान गर्ने प्रयास गर्नुहोस् ।

मैले एक्लै वा साथीसँग तलका खतरापूर्ण काम गर्दैछु कि ? विचार गरौं ।

  • माछा मार्ने, पौडी खेल्ने
  • ठुलो साइकल चलाउने
  • झ्यालमा उक्लँने, घरको छाना माथि हिंड्ने
  • गुलेली खेल्ने, बार नाँघ्ने, धारिलो हतियार खेल्ने,
  • रुख चढ्ने,  चलिरहेको बसको पछाडि झुण्डिने
  • आगोसँग खेल्ने,
  • भिरालोमा दगुर्ने, खाल्डो वरपर वा नजिकै खेल्ने
  • अँध्यारोमा वा जंगलमामा एक्लै हिंड्ने
  • भाँचिएको ढिकिच्याँउ वा अन्य असुरक्षित खेलौनासँग खेल्ने

दश वर्ष पुगेका बालबालिका

हामी बालबालिका १० वर्ष पुगेपछि हाम्रो शरीरमा केटा र केटी हो भनेर स्पष्ट छुट्टिने गरी शारीरिक परिवर्तन आउँछ । हामीहरू आफै पनि यही बेला केटा र केटीको भिन्नता थाहा पाउँछौं । हामी यसै उमेरमा साथी बनाउने गर्दछौं ।

नेपालमा १० वर्ष पुगे पछि हामीजस्ता बालबालिकाले घरको काममा सघाउनु पर्ने जिम्मेवारी पनि थपिन्छ । जस्तै भाई–बहिनीको हेरचाह, भान्सा, गोठ र खेतवारीमा काम गर्ने, घाँस–दाउरा गर्ने आदि । यस्ता काम गर्दा हामीलाई ठुल्ठुला चोटपटक पनि लाग्ने गर्दछन् ।

बालअधिकारका हिसाबले यस उमेरमा हामीले जोखिमपूर्ण काम गर्नु हुदैन ।

हामीले टाढाको स्कुल जानु पर्छ, कच्ची बाटोमा साइकल चलाउनु पर्छ ।

हामी बसमा यात्रा गर्दा जोखिमपूर्ण व्यवहार पनि देखाउँछौं ।

हाम्रो उमेरका कतिपय बालबालिका चोटपटक लाग्ने धेरै खतरा भएका कामहरू गर्दा घाइते, अपाङ्ग वा मृत्यु पनि भएका छन् ।

खाना पकाउने ठाउँमैं आगलागी भएर पनि कतिपय महिला र केटीहरू पोलिएर कुरुप हुने, घाइते, अपाङ्ग वा मृत्यु पनि हुन्छ ।

एक अध्ययनले हरेक वर्ष नेपालमा १०–१९ वर्षका करीव १,७००  किशोर–किशोरीहरूको चोटपटक (इन्जरी) बाट मृत्यु हुन्छ भने, करीव तीन लाख जति घाइते हुने अनुमान गर्न सकिन्छ ।

This image shows an illustration of two children riding the back of a bus
UNICEF Nepal/2020/BTulachan

किशोरावस्थाका केटाकेटीहरू

This image shows an illustration of two young boys on a scooter
UNICEF Nepal/2020/BTulachan

किशोरावस्था हामीहरूले निम्न अनुसारका कृयाकलापहरू गर्दछौ;

आफ्नो शरीरको बनावट र अनुहारमा ध्यान दिने

सजिलैसँग भावुक हुने

घनिष्ट साथी बनाउने

केटाले केटीलाई र केटीले केटालाई साथी बनाउने

बाहिर जान रमाउने

कहिलेकाँही समयमा घर नआउने,

विभिन्न खालका कल्पना गर्ने

कौतुहलताको निराकरण गर्न खोज्ने

किशोरावस्थामा हामीहरू प्रायः

जोखिमयुक्त व्यवहार प्रदर्शन गर्दछौं ।

अरुको देखासिकी गर्ने चलन पनि बढि नै हुन्छ ।

यसबाट हामीहरूलाई चोटपटक लाग्ने अत्याधिक सम्भावना हुन्छ ।

त्यसैगरी यस उमेरमा हामी झै–झगडा गर्ने, कुलतमा लाग्ने र हिंसात्मक व्यवहार पनि देखाउँछौं ।

तर हामीहरूले समूहमा मिलेर राम्रा–राम्रा कामहरू पनि गर्न सक्छौं । चोटपटक (इन्जरी) रोकथाममा पनि सहयोग गर्न सक्छौं ।

 


चोटपटकका समस्याहरूलाई रोकथाम गर्न अभिभावकले गर्नु पर्ने आधारभूत कामः

घर वरपर रहेका जोखिम वा खतराका वस्तुहरू पत्ता लगाउने र हटाउने ।

बच्चाको राम्रो रेखदेख गर्ने ।

बच्चालाई खतरापुर्ण ठाउँमा जानबाट रोक्न छेकबार लगाउने ।

बच्चालाई चुलोमा आउन बाट रोक्ने ।

परिवार र समुदायका सबैले आफु सुरक्षित हुने र बालबालिकालाई पनि सिकाउने ।

  • युनीसेफ बाट

प्रकाशित मिति: २०७७,चैत्र,३१,मंगलवार १८:४०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि

काठमाडौं – मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवानसँग प्रार्थना गर्छ । उसको माग सूनुवाई हुन्छ

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि

काठमाडौं – श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५