यी हुन् चर्चित ११ अन्तर्राष्ट्रिय घटना

अनिता आचार्य/काठमाडौं – यतिबेला हामी वर्ष २०७७ को बिदाई र नयाँ वर्षको स्वागतको पूर्वसन्ध्यामा छौँ । हामीले बिदाई गर्न लागेको वर्ष ०७७ मा विदेशमा के कस्ता घटना परिघटना भए ? ती ११ घटना,

कोरोना भाइरस ’कोभिड – १९’ महामारी

सन् २०१९ डिसेम्बर अन्तिम साता जब चीनले आफ्नो शहरमा अनौठो किसिमको भाइरस देखिएको भनेको थियो,त्यसबेला शायदै कसैले यो विषयलाई दोहोर्याएर सोचेका थिए । तर आज त्यसको करिब साढे एक वर्षपछि पनि विश्व आक्रामक र तिव्र रुपमा फैलिने भाइरसका कारण आतंकित छ।

चीनको हुवेई प्रान्तमा पर्ने वुहान शहरको सानो बजारबाट फैलिएको भनिएको ‘कोभिड–१९’ कोरोना भाइरस मानव जीवनको ठूलो चुनौति बनेको छ । विश्वको प्राय सबै देशमा महामारीका रुपमा फैलिसकेको कोरोनाको कहर कम हुनुको सट्टा दोस्रो लहरको जोखिम बढ्नुले अझै केहि समय यो भाइरसका कारण मानव जीवन अप्ठेरोमा भएको संकेत गर्छ । यस महामारीबाट ८ करोड भन्दा बढी संक्रमित भइसकेका छन् भने १७ लाख भन्दा बढीले ज्यान गुमाउनु परेको छ।

भाइरसका कारण अस्तव्यस्त दुनियाँलाई कोरोनाविरुद्धको खोपले केहि आशाका किरण त छरेको छ । तर महामारी अझै नियन्त्रणमा आइसकेको छैन । यतिबेला विभिन्न देशमा भाइरस विरुद्धका खोपहरु सञ्चालनमा आइरहेका छन् । तर पछिल्लो समय बेलायतमा देखापरेको कोरोना भाइरसको नयाँ स्ट्रेन यूरोप तथा अन्य देशमा तीव्र गतिमा फैलिएका कारण केहि राष्ट्रले लकडाउन समेत गरेका छन् भने भारतमा बढेको संक्रमणको जोखिम नेपालमा समेत देखिएको छ । मानिसहरु अझै सशंकित भएर जीवनयापन गर्न बाध्य छन्।

कोरोनाको खोप लिएका मानिसको समेत ज्यान जाने क्रमले अझै ढुक्क हुने अवस्था छैन । यसले पनि मानिसको जीवन थप कष्टकर बनाइदिएको छ । विश्वभरि कोरोनाका बहुआयामिक प्रभावहरु देखिएका छन् । विश्व अर्थ व्यवस्थामाथि ठूलो क्षति पुरयाएको कोरोनाका कारण सबै पेशा र व्यवसाय धरासायी बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १३ करोड ७३ लाख ६ हजार ९०९ जना मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण २९ लाख ६० हजार ३३८ जनाको मृत्यु भएको छ भने ११ करोड ५ लाख १७ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा २ लाख ८० हजार ५ सय २४ जना संक्रमितमध्ये  ३ हजार ५३  जनाको मृत्यु भएको छ भने २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणको दर क्रमिक रुपमा घट्दै गएको अवस्थामा तीव्र दरमा फैलिएको कोरोनाको दोस्रो लहरका कारण छिमेकी भारतको अवस्था झनै बिग्रँदो छ । छिमेकी मुलुकबाट ओहोरदोहोर गर्ने क्रम नरोकिएका कारण नेपालमा पनि अवस्था बिग्रीएको छ ।

हान्ताभाइरस त्रास

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा चीनमा हान्ताभाइरस देखिएपछि यसले ठूलो त्रास फैलिएको थियो । सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, हान्ताभाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले रोग सार्छ । यसले हान्ताभाइरस पल्मोनेरी सिन्ड्रोम र हेमोराजिक फिभर गराउँछ।

यो रोग हावाको माध्यमले सर्दैन तर मानिसहरू मुसाको पिसाब, दिसा र थुकको सम्पर्कमा आएमा मात्र सर्छ । संक्रमित मुसाले टोकेमा समेत रोग सर्ने सम्भावना रहन्छ । हान्ताभाइरसको प्रारम्भिक लक्षण भनेका थकान, ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, चक्कर आउने, चिसो लाग्ने र आन्द्रामा समस्या आउने हुन् । यसको समयमै उपचार नगरिएमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र मृत्यु समेत हुने देखिन्छ ।

यसको मृत्युदर ३८ प्रतिशत रहेको सीडीसीको भनाइ छ । तर हान्ताभाइरस मानिसबाट मानिसमा भने सर्दैन ।

म्यानमारको हिंसा

यस वर्ष माघको तेस्रो साता म्यानमारको सैनिकले ’पावर प्ले’ गर्दै देशमा ‘कू’ ग-यो । सेनाले सत्ता हातमा लिएर संकटकाल घोषणा गरेसँगै भएका हिंसात्मक प्रदर्शनका कारण म्यानमारको अवस्था अहिले पनि उत्तिकै दर्दनाक छ।

१९ माघमा एकाबिहानै आङ सान सू की लगायत शीर्ष नेताहरुलाई नियन्त्रणमा लिँदै सत्ता आफ्नो हातमा लिएर म्यानमार सेनाले देशमा आपतकालीन व्यवस्था घोषणा गरेपछि भाँडीएको माहोल नरसंहारसम्म पुगेको छ । यतिबेला सारा विश्वको ध्यान म्यानमारको चिन्ताजनक अवस्थाले तानेको छ ।

सञ्चारमा पूर्ण प्रतिबन्ध, मानिसहरु भेला हुन प्रतिबन्ध, कामकाजै ठप्प भएको अवस्था छ, त्यहाँ । बैंक तथा वित्तीय संस्था बन्द छन्, सडकमा हतियारसहित सैनिक गस्ती भइरहेको छ । जनताले सैनिक–स्वामित्वको च्यानलबाहेक अन्य च्यानल हेर्न पाएका छैनन्।

चुनाव मार्फत् निर्वाचित नेताहरुलाई संसदको पहिलो बैठक शुरु हुनुभन्दा केही घण्टाअघि हिरासतमा लिएर सैनिकले कू गर्दै सेनाका प्रमुख मिन आङ लिङलाई सत्ता हस्तान्तरण गरि चालेको कदमपछि यो समाचार तयार पार्दासम्म ७ सय भन्दा बढीको मृत्यु भएको छ भने ३ हजार एक सय भन्दा बढी थुनामा छन्।

लेबनानको राजधानीमा भएको बिस्फोट

लेबनानको राजधानी बेरुतको बन्दरगाहमा ३० साउनमा भएको बिस्फोट इतिहासमै सबैभन्दा ठूलो गैरआणविक विष्फोट मानिन्छ।

करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी १ सय ९० जना भन्दा बढीको मृत्यु भएको थियो भने ६ हजार भन्दा बढी घाइते भए ।

स्वेज नहरमा अवरुद्ध पानी जहाज

चैत्रको तेस्रो साता स्वेज नहरमा फसेको एउटा विशाल कन्टेनर बोकेको पानी जहाजका कारण विश्व अर्थतन्त्रमा आएको समस्याले पनि यो वर्ष हल्लीखल्ली मच्चायो।

भूमध्य सागर र लाल सागरलाई जोड्ने इजिप्टको स्वेज नहरमा कन्टेनर बोकेको पानी जहाज अड्किएको हो । उक्त जहाजका कारण अर्बौं डलर बराबरको समान गन्तव्यमा पुग्नबाट रोकिएको थियो । युरोप र एसिया जोड्ने छोटो कृत्रिम समुद्री मार्गका रूपमा रहेको स्वेज नहरमा पानी जहाज अनियन्त्रित भएपछि अड्किएको हो । त्यसका कारण स्वेज नहरमा मालवाहक कार्गो जहाजहरूको जाम भएको थियो।

ताईवानमा रेल दुर्घटना

यात्रुहरुले भरिएको एक्सप्रेस ट्रेन २० चैतमा ताईवानको पूर्वी शहर हुउलिएनको नजिक एउटा ट्रकमा ठक्कर खाई दुर्घटना हुँदा ५१ जनाको निधन भएको घटनाले पनि धेरैको ध्यान तान्यो।

झण्डै ५ सय जना सवार उक्त रेल सुरुङमार्ग क्रस भएपछि दुर्घटनाग्रस्त भएको थियो । ताईवानको राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको उक्त रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किदा निर्माणकार्यमा प्रयोग भएको एउटा सवारी रेलमार्गमा आएका कारण दुर्घटना भएको हो।यसैबीच ताइवानका यातायात मन्त्रीले रेल दुर्घटनाको जिम्मेवारी लिँदै राजीनामा प्रस्ताव गरेका कारण उनको जिम्मेवारी बोधलाई एक पाठका रुपमा लिनुपर्ने व्याख्या पनि भयो ।

झण्डै ५ सय जना सवार उक्त रेल सुरुङमार्ग क्रस भएपछि दुर्घटनाग्रस्त भएको थियो । ताईवानको राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको उक्त रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किदा निर्माणकार्यमा प्रयोग भएको एउटा सवारी रेलमार्गमा आएका कारण दुर्घटना भएको हो।यसैबीच ताइवानका यातायात मन्त्रीले रेल दुर्घटनाको जिम्मेवारी लिँदै राजीनामा प्रस्ताव गरेका कारण उनको जिम्मेवारी बोधलाई एक पाठका रुपमा लिनुपर्ने व्याख्या पनि भयो ।

‘ब्ल्याक लाइभ्स म्याटर्स’ अभियान

जातिय भेदभावलाई लिएर अमेरिका पहिल्यैदेखि बदनाम छ । काला जाति र गोरा जातिका बीचमा बाँडिएको अमेरिकाको निष्ठाको पल्ला अवश्य पनि गोरा जातिकै पट्टि बढी ढल्किएको छ भनेर विश्वले नै बुझ्दै आएको छ ।

यद्यपि, यस विषयमा व्यापक रुपमा विरोध भने भइरहेको थिएन । सबैले अनुभूति गरेको कुरालाई शब्द र व्यवहार मार्फत् प्रष्फूटन गरिएको थिएन । यही कमीलाई पूरा गरिदियो जर्ज फ्लोयड नामक ४६ वर्षीय काला जातिका व्यक्तिको निर्मम हत्याले।

मे २५ का दिन एक पसलेले फ्लोयडले २० डलरको नक्कली नोट दिएर चुरोट किन्न खोजेको भन्दै पुलिसलाई खबर गरेपछि पुलिसले उनलाई नियन्त्रणमा लिएको थियो । सिसिटिभी फुटेजको सहायताले यो पत्ता लाग्यो कि एकजना पुलिसले उनलाई भूइँमा लडाएर घाँटीमाथि ८ मिनेट १५ सेकेण्डसम्म घुँडाले थिचेका थिए । जसकारण उनको ज्यान गयो । यस घटनाले काला जातिमाथि वर्षौँदेखि भइरहेको ज्यादती र हिंसात्मक व्यवहारका अन्य घटनाहरु पनि ब्यूँताइदियो ।

अमेरिकाको एउटा शहर मात्र नभएर राज्य, राज्य मात्र नभएर सम्पूर्ण देश र विश्वमै भइरहेको भेदभावको विरोध गर्ने झिल्को सल्काइदियो । सामाजिक सञ्जालमा ह्यासट्याग ब्ल्याक लाइभ्स म्याटर्स भनेर अभियान नै चल्यो । थुप्रै सेलिब्रेटीहरुले कालो फोटो पोस्ट गर्दै अमेरिकामा हुने जातीय भेदभावप्रति विरोध जनाए । सो हत्यामा संलग्न ४ जना प्रहरीलाई बर्खास्त गरेर उनीहरु विरुद्ध ज्यानमारेको अभियोगमा कानूनबमोजिमको सजाय सुनाइएको छ।

बिग्रँदो भारत चीन सम्बन्ध

चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा यसवर्षको केहि महिना अवस्था तनावपूर्ण रह्यो । गत १५ जूनमा भएको पहिलो हिंसात्मक झडपमा २० जना भारतीय सेनाको मृत्यु भएपछि लद्दाखको मात्रै होईन, भारत र चीनको सम्बन्ध झनै बिग्रिँदै गएको छ।


पहिलो झडप भएको ७५ दिनपछि फेरि गलवानमा २९ जूनमा हिंसात्मक झडप भयो । जसमा एक भारतीय सेनाको मृत्यु भएको बताइएको छ। चिनियाँ सैनिकले पनि ज्यान गुमाएको सो घटनामा ढुङ्गामुढा प्रयोग गरिएको थियो । त्यसको केहि समयपछि दुबै देशले आफ्नो सीमामा युद्धको तयारी थालेको समेत बताएका थिए। दुबै तर्फका सेनाले ट्यांक्स, मेशिनगन र आधुनिक हतियारको तयारी थालेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

यतिसम्म कि उनीहरुले एयरफोर्सको तयारी पनि बढाएका थिए । एसियाका दुई भिमकाय मुलुक यसरी अशान्तिको बाटोमा हिँडेको भन्दै विश्व समुदायले वार्ता गर्न दुई देशलाई सुझाएका थिए।

अमेरिका र इरानबीच द्वन्द्व

अमेरिकी सेनाले गरेको हवाइ आक्रमणमा परी इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपश्चात् अमेरिका र इरानबीचको द्वन्द्व फेरि ब्यूतियो । सो हमलापछि इरानका सर्वोच्च नेताले बदला लिने भन्दै अमेरिकालाई चेतावनी समेत दिए।

यता अमेरिकाले भने तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले अमेरिकाको सुरक्षाका खातिर यो रक्षात्मक कारवाही गरेको बताएको थियो । सुलेमानीको मृत्यु भएपछि इरानले ३ दिनसम्मका लागि देशमा राष्ट्रिय शोकको घोषणा गरेको थियो । यस हमलाले तेस्रो विश्व युद्ध निम्त्याउन सक्ने भन्दै सामाजिक सञ्जालमा ‘तेस्रो विश्वयुद्ध’ ट्रेन्डिङमा आएको थियो ।

इतिहास रच्दै जो बाइडेन बने अमेरिकाका राष्ट्रपति, कमला ह्यारिसले पनि रचिन् इतिहास

यसै वर्ष भएको अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई पछार्दै प्रजातान्त्रिक पार्टीका जो बाइडेन अमेरिकाका ४६ औँ राष्ट्रपति बने।

उनको जितले इतिहास कोरेको छ किनकी यसपालि अमेरिकी राष्ट्रपति चुनावमा सन् १९०० देखि यताकै सर्वाधिक नागरिकहरुको सहभागिता रह्यो । चुनावमा १ सय ५९ मिलियन भन्दा बढी अमेरिकीहरु सहभागी भएका थिए जुन कूल जनसङ्ख्याको ६६.७ प्रतिशत हुन जान्छ। जितका लागि संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा बाइडेनले २८४ भोट ल्याएर विजयी भएका हुन्।

उता उनका प्रतिस्पर्धी तथा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याएका थिए । सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेन अनुभवप्राप्त राजनीतिज्ञ, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्तारूपमा परिचित छन् । त्यसैगरी उपराष्ट्रपतिका रुपमा विजयी भएकी कमला ह्यारिसले पनि इतिहास रचेकी छिन् । उनी अमेरिकाको इतिहासमा पहिलो अश्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।

बेलायतका राजकुमार ह्यारी र मेघन राजपरिवारबाट अलग हुने निर्णय

बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्कलले राजपरिवारको जिम्मेवारीबाट अलग हुने निर्णय यही वर्ष लिए। उनीहरुले राजपरिवारका वरिष्ठ सदस्यहरुको भूमिका त्यागे पनि महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै महारानी एलिजावेथलाई पनि निरन्तर समर्थन गरिरहेने बताएका थिए।

यतिमात्रै होईन प्रिन्स ह्यारी र उनकी श्रीमती डचेस अफ ससेक्स मेगन मर्केलबाट सबै रोयल टाइटल फिर्ता लिइएको छ। यो सनसनीको श्रृंखला यतिमा मात्रै रोकिएन । ह्यारी र मेघनले एक टेलिभिजनमा दिएको अन्तर्वार्ताले विश्वभरि सनसनी मच्चायो । टेलिभिजन दुनियाकी प्रसिद्ध ‘होस्ट’ ओप्रा विन्फ्रेले लिएको उक्त अन्तर्वार्ता यस वर्षको फागुन तेस्रो साता राति आइटिभीमा प्रसारण भएको हो । यस प्रतिक्षित अन्तर्वार्ताको पर्खाइमा रहेका विश्वभरिका तमाम दर्शकमाझ सो कार्यक्रममा भएका कुराकानीले थुप्रै रहस्योद्घाटन गरेको छ । दरबारभित्र हुने जातीय विभेद, अन्य सदस्यहरुसँगको सम्बन्ध लगायत मानसिक स्वास्थ्यसम्मका संवेदनशील विषयहरुमा कुराकानी भएको छ।

अन्तर्वार्ताबाट बेलायत दरबार र त्यहाँ बसोबास गर्नेहरुका बारेमा खुलासा भएका नयाँ कुराले दुनियाँलाई आश्चर्यमा पा-यो । अन्तर्वार्ताबाट सार्वजनिक भएको सबैभन्दा अचम्मलाग्दो कुराहरुमध्ये एक यो हो कि जब मेघन पहिलो पटक गर्भवती भएकी थिइन् तब दरबारभित्र ह्यारी र मेघनको बच्चा कतिको कालो हुन्छन् भन्ने विषयमा समेत चर्चा भएको थियो । मेघनले विवाहपश्चात् राजपरिवारमा बस्दा एक्लो र बाँधिएको महसुस गरेको बारे पनि खुलाएकी थिईन् ।

भारतमा किसान आन्दोलन

कृषिसम्बन्धी तीन विधेयक फिर्ताको माग राख्दै भारतको राजधानी दिल्ली निकै समय किसानका कारण तनावग्रस्त बन्यो ।

किसानहरूले कृषिउपज व्यापार एवं वाणिज्य (संवद्र्धन एवं सरलीकरण) विधेयक २०२० मा राखिएको न्यूनतम समर्थन मूल्य हटाउने व्यवस्था खारेजी लगायतका माग राख्दै ८ मंसिरदेखि शुरु भएको आन्दोलन निकै उग्र भएको थियो । तर पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर आएसँगै यो आन्दोलन स्थगित भएको छ।

यधपि किसानहरुका अहम सवाल पूरा नभएको भन्दै किसानले आन्दोलन जारी राख्ने बताएका छन् । यसैबीच नागरिकता संशोधन ऐनका विषयमा उत्तरपूर्वी भारतमा गरिएको विरोध प्रदर्शनमा ५३ जनाको मृत्यु भएको थियो । यो घटनाको पनि विश्व समुदायले आलोचना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?