पानी नपर्दा महोत्तरीका किसानहरु चिन्तित

RSS
0
Shares

महोत्तरी । लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेतपाती गर्दै आएका महोत्तरीका किसानहरु चिन्तित बनेका छन् । खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरुले लगाएका तरकारीका बोट र बेला (लहरा) सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् ।

लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो । खेत बारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, रामतोरई, करेला, फर्सी र लौकासहितका तरकारीका विरुवा पानीबेगर सुकिरहेका छन्, पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौं जिल्लाको भङगाहा नगरपालिका ४ का तरकारी किसान चन्देश्वर राय दनुवारले दनुवारले विरक्तिँदै भने “बारीमा लहलह बढ्नुपर्ने तरकारीका विरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला उनले भने ।

यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्य सकिँदासम्म पानी नपर्दा वैशाखी तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ ।

नयाँ वर्ष सँगै लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो” सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भने “गत वर्षको वैशाखी र बर्खे तरकारी बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।

जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्बर ठाउँ मानिन्छन् । त्यसैगरी मटिहानी नगरपालिकाका ढेकाहा, वर्दाहा, आवर र बलवा नगरपालिकाका धमौरा, रौजा बस्ती तरकारी उत्पादनमा उर्बर क्षेत्र मानिन्छन् ।

मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले विरक्तिएका हुन् । बस्ती नजिकै जता हेर्यो, खोलाखोल्सी छन्” बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा चने तर खोलाखोल्सी सिंचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्नेमात्र छन् ।

गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भने “खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो । स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर) को काम पनि सकिएको महतोको भनाइ छ ।

स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार, चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य छन् ।जिल्लामा मौसमी÷बेमौसमी र वर्षभरिका विभिन्न याममा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करिब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ । यसपालिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या परेको किसानहरु बताउँछन् ।

किसानको यो चिन्ताबीच प्रदेश–२ सरकारको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?