रङहरूको पर्व होली किन मनाइन्छ ? यस्ता छन् होलीका रोचक पक्ष

सविता प्रसाई / काठमाडौं । चाडपर्वले हामीलाई आराम मनोरञ्जन निरोगीता, शन्ति, सन्तोष र आनन्द प्रदान गर्दछन् साथै हाम्रै शास्त्रीय मान्यता अनुरूप मर्यादित रूपमा समाजमा चल्नुपर्ने कुरामा अग्रसर गराइरहेका हुन्छन् ।

यिनले हामीलाई अधर्म, असत्य, कुकर्म तथा कुबाटोबाट टाढा रही सत्य र सत्कर्ममा अनुशासित ढङ्गले हिँड्नलाई सधंै अभिप्रेरित गरिरहेका हुन्छन् । पश्चिमी देशका मानिसहरू यी चिज पाउनका लागि करोडौं रूपैयाँ खर्च गरिरहेका हुन्छन् तर पनि पाउन सकिरहेका हुँदैनन् । हामी त यति भाग्यशाली छौं कि आफ्नै घरमा, आफ्नै परिवार र मान्यजनहरूसँग बसेर भगवानको पूजा तथा आराधाना गरेर यस्ता बहुमूल्य वस्तु प्राप्त गरिरहेका छौं ।

हाम्रा चाडपर्वहरू कुनै स्थानीय स्तरमा सम्पन्न गरिन्छ भने कुनै क्षेत्रीय तथा कुनै राष्ट्रिय स्तरमा नै मनाइन्छ । जब ऋतुराज वसन्तको पुनरागमन हुन्छ, प्रकृति हराभरा भइ प्रफुल्ल मुद्रामा मुस्कुराउन थाल्छिन्, वरिपरिको पूूरै वातावरण रमणीय देखिन थाल्छ । अझ संगीतका पारखीहरू राग वसन्तमा आलाप, तान तथा ठुमरीका मीठा धुनहरू गुञ्जाउन थाल्छन् र शिशिरबाट कठ्याङ्ग्रिएको चिसो जाडो न्यानो हुन थाल्छ, पूर्ण आशा र उमङ्गका साथ नयाँ वर्षका शुभ संकेतहरू देखा पर्न थाल्छन् अनि फाल्गुन शुक्ल अष्टमीदेखि प्रत्येकका घरआँगनमा फागु महोत्सव देखापर्न थाल्छ ।
“फाल्गुने पूर्णिमायां तु दुग्धा भवति होलिकाः ।
पश्चात् प्रातः समुत्थाय क्रियते होलिकोत्सवः ।।”

अर्थात् फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ । त्यसको अर्को दिन बिहानै उठेर होलिकोत्सव मनाइने कुरा हिन्दू शास्त्रमा उल्लेख भएको पाइन्छ ।

‘मदनोत्सव‘ तथा ’वसन्तोत्सव‘ पर्वका रूपमा मनाइने होली पर्वर्मा होलिका’र्, होलाका’र्, फागु’र्, होरी’ जस्ता शब्दहरूको सान्दिृश्यता भेटिन्छन् । यो पर्व फाल्गुण शुक्ल पूर्वविद्धा प्रदोष व्यापिनी पूर्णिमामा मनाइन्छ । यस पर्वबार्रे निर्णयामृत’र्, चन्द्रप्रकाश’र्, ज्योतिष तत्व’र्, स्मृतिकौस्तुभ’र्, निर्णयसिन्धु’र्, भविष्योत्तपुराण’र्, धर्म सिन्धु’र्, पुराणसमुच्चय’ आदि ग्रन्थमा उल्लेख भएको पाइन्छ । आचार्य लल्लभट्ट ज्योतिषीले पनि यो पर्वबारे उल्लेख गर्नुभएको छ । बराहपुराणमा फाल्गुण पुर्णिमालाई “पटवास विलासिनी” भनिएको छ । पटवास भनेको अबीरजस्तो चूर्णलाई भनिन्छ । हरेक वर्ष फाल्गुण शुक्लपक्ष अष्टमी तिथीदेखि पूर्णिमासम्म आठ दिन मनाइने भएकाले यस पर्वलार्ई होलाष्टक’ पनि भनिन्छ । नेपाल लगायत भारतका विभिन्न क्षेत्रमा समेत यो पर्व धुमधामका साथ मनाइन्छ । मिथिलाञ्चलमा यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् चैत्र शुक्ल प्रतिपदाका दिन अत्यन्त धुमधामका साथ मनाइन्छ ।

नेपालमा विभिन्न स्थान अनुसार यो पर्व आ–आफ्नो तरिकाले मनाइन्छ । विशेष गरी काठमाडौं उपत्यकामा फाल्गुण शुक्ल अष्टमीको दिन वसन्तपुर दरबारमा शुभ मुहुर्तमा वनबाट काटेर ल्याइएको रूखलाई ताछेर विशेष किसिमको ध्वजा पताका बाँधेर सजाइ चीरोत्थान गरिन्छ र यो पर्वको शुभारम्भ भएको मानिन्छ । ठूलो तीन छत्र भएको यस चीरको आकृति गोलो हुन्छ र तहतह परेको छत्रका झल्लरहरूमा रङ्गीबिरङ्गी कपडा र पताकाहरू झुुण्ड्याइएका हुन्छन् । यसपछि पूर्णिमाको दिन लिंगो अर्थात् चीरको वरिपरि आगो बालेर ढालेपछि यो पर्वको समापन हुन्छ । प्राचीन मान्यता अनुसार राजा गुणकामदेवको समयदेखि नै असन धलाँसीका मानन्धर जातिले सो चीर ठड्याउने जिम्मा पाएबमोजिम मानन्धर समूहर्को सिँ’ गुठीबाट चीर उठाउने कार्य गरिन्छ । चीर गाड्दा परम्परागत सामूहिक गायन गर्दै फागु खेल्नेको मुखभरि अबीर छर्किइन्छ र चीरको पूजा गरिन्छ ।

विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको आगमनमा दुःख पीडा सबै बिर्सिएर, रिसराग सबै भुलेर एक–आपसमा खुसियाली बाँड्दै विभिन्न किसिमको रङ्ग एक–आपसमा दलिने परम्परा भएकोले यसलाई मित्रताको पर्व पनि भनिन्छ ।

विभिन्न किंवदन्ती, शास्त्रीय मान्यता तथा ऐतिहासिकता

‘संस्कृत कोष’ अनुसार अग्निमा डढाइएको अन्नलाई ‘होलिका’ भनिन्छ । प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरेकाले केही विद्वानहरूले यस पर्वलाई वैदिककालीन पर्व पनि भन्ने गरेका छन् । पौराणिक कथनअनुसार यस उत्सवको आरम्भ रघु राजाबाट भएको हो । प्रचलित शास्त्रीय मान्यताअनुसार सत्य युगका सर्वशक्तिमान दैत्यराजा हिरण्यकश्यपुका प्रल्हाद नामक एक छोरा थिए । दैत्यकुलमा जन्मिए तापनि उनी सानैदेखि विष्णुका परम् भक्त थिए । आफू दैत्यराज भएकाले र विष्णुुलाई परम् शत्रु ठान्ने कश्यपुलाई छोराले हरदम विष्णुको नाम जपिरहेको पटक्कै मन परेन र छोरालाई अत्यन्त क्रोधित बनी अनेक यातना दिन थाले र मार्न अनेक उपाय रच्न थाले । तर जति गरे तापनि उनको प्रयास सफल हुन सकेन । यसै क्रममा एक दिन उनले अग्निले कहिल्यै नपोल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादलाई मार्न पठाउँछन् । होलिका प्रल्हादलाई बोकी दन्दनी बलेको आगोभित्र पस्छे । तर अफसोच ! अग्निको प्रचण्ड ज्वालाले होलिकालाई नै दहन ग¥यो र प्रल्हाद भने बाँचे । यसरी असत्यमाथि सत्यको विजय भएको र दुष्कर्मको फल होलिकालाई नै मिलेकोले सबैले खुशियाली बाँडे र यसको सम्झना स्वरूप उत्सव मनाउँदै जाँदा यसले पर्वको रूप धारण ग-यो ।

होली उत्पत्तिका सम्बन्धमा अर्को एउटा शास्त्रीय मान्यता पनि जोडिएको छ । द्वापरयुगमा मथुराको कारागारमा जन्म लिइ गोकुल पु¥याइएका बालकृष्ण भगवानलाई मार्न उहाँकै मामा मथुराका राजा कंसले पुतना नाम गरेकी राक्षसनीलाई गोकुल पठायो । पुतनाले आफ्नो स्तनमा विष मिलाएर भगवान कृष्णलाई पिलाउन थाली तर सर्वव्यापी भगवानले उसको प्राण नै चुुसिदिएपछि ऊ तत्काल त्यहीँ मरिहाली । यसपछि गोकुलावासीले हर्षोल्लासका साथ अवीर वर्षा गरी रङ्गको होली खेल्न थाले । यसरी सत्य तथा ज्ञानको प्रतीक प्रह्लाद र विज्ञान तथा भौतिकवादी हिरण्यकश्यपुको प्रसंगले अध्यात्मवाद र भौतिकवादको द्वन्द्वको रूपमा पनि यसलाई लिन सकिन्छ ।

यसरी कथा जे जसरी जोडिए तापनि यसको प्राचीनता केलाउँदा सत्ययुगमा प्रल्हादलाई मार्न खोज्ने होलिका दहन अर्थात् आगो बाल्ने र चीर ठड्याउने चलन यसबेलादेखि चलेको मानिन्छ भने श्रीकृष्ण–पूतना र गोपिनीको प्रसंगबाट द्वापरयुगदेखि रङ्ग खेल्ने परम्पराको थालनी भएको मानिन्छ । यसरी नै ‘होलिका दहन’ हुँदै ‘होलिका’ र पछि ‘होली’ भन्न थालियो भने फाल्गुण महिनामा खेलिने हुनाले रूढ हुँदै ‘फागुन’ र यसपछि ‘फागु’ शब्द प्रचलनमा आयो ।

यो पर्व बालस्वास्थ्य तथा नारी सौभाग्यसित पनि सम्बन्धित छ । वात्सायनको समयमा फागुन र चैतमा मदनोत्सव मनाइने चर्चा छ । एक किंवदन्तीअनुसार प्राथमिककालमा ‘दुराढा’ नामक राक्षसनीले बच्चाहरू चोर्न लाग्दा भय र आतंकको वातावरण व्याप्त भयो । उसलाई देशनिकाला गर्न फागु पूर्णिमाका दिन अग्निकुण्डमा दाउरा, गुइँठा आदि एकत्रित गरी आगोबाली चारैतिर देशवासीरूले हाँस्ने, नाच्ने, र गाउने उपाय सिकाएकाले उक्त दिनदेखि यो पर्व मनाउने सामान्य चलन छ । विष्णु धर्मोत्तर पुराणमा यस दिन ‘शरीरमा धूलो, माटो मिसिएको हिलोमा स्नान गर्नु, त्यसमा फूलपाती अवीर आदिद्वारा पृथ्वीधारिणी देवीको अशोका(शोक नाश गर्ने) भनेर पूजा गर्नु’ भन्ने उल्लेख छ ।
पुरातात्विक प्रमाणको रूपमा हेर्दा भारतको विन्ध्याप्रदेशको रामगढ नामक स्थानमा ई. पु. ३०० वर्षको एक शिलालेखमा होली पर्व मनाइएको उल्लेख पाइन्छ । सातौँ शताब्दीमा रचना गरिएको रत्नावली नाटकमा एक पात्रले होलीको वर्णन गरेका छन् ।

होली मनाउने तरिका

काठमाडौं उपत्यकामा पूर्णिमाको दिन गाडिएको चीर विधिपूर्वक ढाल्दा चीरमा झुण्याइएका पताका लुछाचुडीँ गरेर लिने चलन छ । यस्ता पताका औषधोपचारका लागि काम लाग्ने समेत जनविश्वास रहेको छ । बाजा बजाउँदै परम्परागत भाकामा होलिकालाई विभिन्न गाली–गलौज गर्दै रंग दल्दै चीरलाई टुँडिखेलमा लगेर गाड्ने चलन छ । यो दृश्य र वरिपरिको वातावरण साँच्चै मनमोहक र रङ्गीन लाग्दछ । यद्यपि यो प्रक्रिया नअपनाइकन पनि फागु नखेलिने भने होइन । होलीको मुख्य काम होलिका दहन नै हो । रङ खेल्ने, पिचकारी हान्ने चलन पछि थपिएका हुन् । पुराण समुच्चयमा ‘दिनको आधा भागपछि फाल्गुण महिनाको पूर्णिमामय रातमा भद्रा समाप्त भएपछि होलिका जलाउनुपर्छ’ भनिएको छ ।

त्यस्तै ‘निर्णयसिन्धु’मा भद्रारहित पूर्णिमामा होलिकालाई जलाउनुपर्छ भनिएको छ । भविष्य पुराणमा ‘रात परेपछि गोबरले लिपेको चारकुने आँगनमा वा चोकमा बालकको रक्षा गर्नुपर्छ भनिएको छ । धर्मसिन्धुमा ‘होलिका डढाउँदा सर्वप्रथम संकल्प भनी सुकेका काठ गोबरका गुँइठाको थुप्रोमा आगो बाल्नुपर्छ र पुज्नुपर्छ’ भनिएको छ ।

कृषिप्रधान देश नेपालले यस पर्वलाई ‘नवोन्नेष्टि’ यज्ञपर्वका रूपमा मनाउँदै आएको पाइन्छ । केराउ, चना, जौ, गहँु आदि नयाँ अन्न भुट्ने पर्व हो होलिका । यसैले यस पर्वलाई प्राकृतिक पर्व पनि भनिन्छ । उपत्यका बाहेक काभ्रेपलाञ्चोकको शिव मन्दिर, पर्वतको मेदी बेनी, म्याग्दीको तातोपानी कुण्ड र अर्घाखाँचीको चुंद्राबेँसीमा विषेश किसिमले होली मनाइन्छ । मिथिला क्षेत्र तथा तराईका अन्य समुदायमा भने पूर्णिमामा आगो बाली होलिका दहन गरिसकेपछि भोलिपल्ट एकआपसमा रङ्ग दलादल गरी फागु खेल्ने चलन छ । यस अवसरमा होलीसम्बन्धी गान, भजन, प्रवचन आदि कार्य पनि गरिन्छ ।

चीनमा पनि यो पर्व ‘चिङहुङ’ नामक राक्षसको बध भएको उपलक्ष्यमा पन्ध्रदिन सम्म ‘च्वेज’ नामबाट धुमधामसँग मनाइन्छ । बर्मा र थाइल्याण्डमा पनि यो पर्व पानीको पूजा गरी मनाइन्छ ।

सास्कृतिक साथ वैज्ञानिक महत्व बोकेको यस पर्वमा खेलिने रङ्ग र अवीरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने साथै होलिका दहनको धुवाँबाट शीतकालजन्य अनेकौँ रोगहरू नाश गर्ने साथै खरानीले दुष्टात्माहरूको कुदृष्टि नपर्ने तत्कालीन फाइदाहरू गाँसिएका छन् । तर आजभोलि यसको साँस्कृतिक महत्वलाई चटक्कै बिर्सिइ दूषित पानी भरेर बनाइएको लोलाको विकृतिले र इच्छाविपरित जथाभावी रङ दल्ने प्रवृत्तिले यसको महत्व नै ओझेल पर्न थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?