राष्ट्रपतिको बङ्गलादेश भ्रमण : दुई देशको सम्बन्ध नवयुग प्रवेशको अपेक्षा

RSS
0
Shares

काठमाडौं । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक बङ्गलादेशमा भ्रमण हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् ।

नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा अपेक्षा गरिएको छ ।

समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिका सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच्चस्तरीय भ्रमण अति उपयोगी हुने गरेका छन् । राष्ट्रपति भण्डारीको यो भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।

नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २ सय १७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?