सत्ता समीकरणका ४ विकल्प, प्रधानमन्त्रीमा कसको सम्भावना कति ? (भिडियो रिपोर्ट)

  • रामजी बलामी

सर्वोच्च अदालतले पूर्वएमाले र पूर्व माओवादी केन्द्र ब्यूँँताइदिएपछि राजनीतिक कोर्स एकाएक सत्ता समीकरणतर्फ मोडिएको छ । अब बस्ने प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढ्दो छ । माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्छ । कुनैपनि सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, प्रधानमन्त्री ओली विश्वासको मत लिन नपरोस् भन्ने हेतूले अघि बढेका छन् ।

प्रतिनिधिसभामा एमालेका १ सय २१, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३, जनता समाजवादी पार्टीका ३२, जनमोर्चाका १, राप्रपाका १, नेपाल मजदुर किसान पार्टीका १ र स्वतन्त्र १ सांसद रहेका छन्। सरकार गठनका लागि प्रतिनिधिसभाका १ सय ३८ सांसद आवश्यक हुन्छ।

यतिवेला सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सत्ता समीकरणको खेलमा छन् । प्रधानमन्त्री ओली एमाले नेतृत्वको आफ्नो सरकारलाई निरन्तरता दिन चाहिरहेका छन भने माओवादी केन्द्र जसरी पनि ओली सरकार ढाल्ने कसरतमा छ । नेपाली कांग्रेसमा पनि ओली सरकारको विकल्प खोज्नुपर्ने मत बलियो हुँदै गएको छ ।

जनता समाजवादी पार्टी भने निर्णायक दल बन्न पुगेको छ । सर्वोच्चको पछिल्लो फैसलाले जसपाको दुवै हातमा लड्डु पर्ने देखिएको छ । उसले प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल कांग्रेससंग सत्ता समीकरणका लागि मोलमोलाई गरिरहेको छ । तर, उसले कुन हातको लड्डु बढी मीठो मानेर चाख्न खोजिरहेको छ भन्ने कुरा निश्चित हुन सकेको छैन । यद्यपि जसपाका नेताहरु ओली नेतृत्वको सरकारबाट यसअघि आफूहरुले धोखा पाएको बताइरहेका छन ।

नयाँ सरकार निर्माणकालागि अहिले ४ वटा विकल्प छलफलमा छन् । तीमध्ये बढी सम्भावित ३ वटा विकल्पमाथि दलहरुले पहल थालेको देखिन्छ । एउटा विकल्प सहायकसिद्ध देखिन्छ । यावत विकल्पहरु सफल नभएको अवस्थामा सवैभन्दा ठूलो दलको एकल सरकार, विश्वासको मत लिने जस्ता विकल्पहरु संविधानमा ब्यबस्था छ । यसबाट पनि सरकारको पार लागेन भने मध्यावधी निर्वाचन नै अन्तिम गणतव्य बन्छ ।

विकल्प १ : एमाले र जसपाको समीकरण

यतिवेला नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धन सवैभन्दा बढी सम्भावित र सरल समीकरणका रुपमा देखिएको छ । प्रधानमन्त्री ओली आफू नेतृत्वको सरकारलाई जसरी पनि निरन्तरता दिने पक्षमा छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीसँग गठबन्धनका लागि कसरत गरिरहेका छन् ।

गत बिहिवार रातिमात्रै प्रधानमन्त्री ओलीसँग जसपाका नेताहरुले छलफल गरेका थिए । छलफलपछि दुवै पक्षले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । त्यसअघि पनि प्रधानमन्त्री ओलीले जसपाका नेता महन्त ठाकुरसँग छलफल गरेका थिए । जुन कुरा जसपाका अधिकांश नेतालाई थाहै थिएन । जसपाले आफ्ना नेता, कार्यकर्ताको मुद्धा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरी सहितका नेताहरुको रिहाइ तथा संविधान संशोधन गर्ने माग पुरा भएमात्रै सत्ता समिकरणको विषयमा छलफल गर्ने बताउँदै आएको छ ।

स्मरणीय कुरा के हो भने हाल जसपामा रहेका तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अहिले उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका केही नेताहरु ओलीसँग सत्ता साझेदार गर्न नहुने अडानमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु ओलीसँग नरम देखिएका छन ।

प्रधानमन्त्री ओली जसरी पनि यो समीकरण सफल पार्ने दाउमा छन् । त्यसकारण कतै जसपा नै फुट्ने त होइन भन्ने अनुमान समेत हुन थालेको छ । यदि यो समीकरण सफल भएमा ओलीनै पुनः प्रधानमन्त्रीमा दोहोरिने छन् ।

यदि यो पहल असफल हुने देखिएमा प्रधानमन्त्री ओलीले ०५२ सालकै जस्तो समीकरण दोहो-याउन  सक्ने विश्लेषकहरुको आंकलन छ । त्यतिवेला नेकपा एमालेले कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारबिरुद्ध तेस्रो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएको थियो । अहिलेपनि कुनै उपाय नलागेको अवस्थामा प्रधानमन्त्री ओलीले जसपाका शीर्ष नेतालाई प्रधानमन्त्रीमा लागि प्रस्ताव गर्न सक्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको समाचार बाहिरिएको छ ।  यता जसपाका नेताहरुले पनि सरकारको नेतृत्व दावी गरेका छन् । जसपानै निर्णायक दल भएकाले अहिलेको राजनीतिक परिदृश्यमा उसको अडान र कदम निकै महत्वपूर्ण देखिएको छ ।

विकल्प २ : कांग्रेस, माओवादी केन्द्र र जसपा समीकरण

नयाँ सरकार बनाउनका लागि अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पनि सत्ता समीकरणको तीव्र पहल भईरहेको छ । प्रधानमन्त्री ओलीसंग रुष्ट बनेको माओवादी केन्द्र जसरी पनि ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट झार्न चाहन्छ । त्यसका लागि माओवादी हदैसम्म लचिलो हुने देखिन्छ।

त्यसो त माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग पटक पटक छलफल गरिसकेका छन् । अध्यक्ष दाहालले सभापति देउवादेखि जसपाका नेता डाक्टर बाबुराम भट्टराई समेतलाई प्रधानमन्त्री पदको उम्मेदवारका लागि आग्रह गरिसकेका छन् ।

संसदको दोस्रो ठूलो दल भएकाले यो समीकरण सफल भएमा अबको प्रधानमन्त्री देउवा हुनेछन् । पछिल्लो समय कांग्रेस नेताहरुमा प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने मत बलियो बन्दै गएको छ । यद्यपि कतिपय नेताले भने अझै मध्यावधि निर्वाचनलाई प्राथमिकता दिईरहेका छन् । विशेषतः वरिष्ट नेता रामचन्द्र पौडेल पक्षका नेताहरु प्रधानमन्त्री ओलीविरुद्ध खुलारुपमै उत्रिन थालेका छन् ।

विकल्प ३ः एमाले र कांग्रेसको समीकरण

अहिले संसदमा नेकपा एमाले पहिलो नम्वरमा छ भने नेपाली कांग्रेस दोस्रो नम्वरमा छ । यी दुवै दल मिलेर पनि सरकार बनाउन सक्छन् । तर यस विकल्पमा खासै छलफल भएको देखिँदैन । पहिलो र दोस्रो विकल्पले पार लागेन भने मात्रै यो विकल्पमाथि छलफल हुने देखिन्छ । यदि यस खालको समीकरण भयो भने आगामी प्रधानमन्त्री कांग्रेस सभापति देउवा हुने सम्भावना प्रवल छ।

विकल्प ४ : एमाले र माओवादी केन्द्रको समीकरण

संसद पुनस्थापनापछि एमालेको ओली समूह र माओवादी केन्द्रबीच वारपारको राजनैतिक लडाँइ चलिरहेको छ । साविक नेकपा दाहाल—माधव समूहबाट एमालेमा फर्किएका माधव—झलनाथ समूह भने किंङकर्तव्यविमूडको अवस्थामा छन् । ओलीले पेल्दै जाँदा यो समूहले पार्टीमा समानान्तर कमिटी भने गठन गरेका छन । तर उनीहरु ओलीकै कदममा हस्ताक्षर गर्न वाध्य हुनेछन् किनकी एमालेको संसदीय दलको नेता ओली नै हुन्।

सर्वोच्चले एमाले र माओवादी केन्द्र नब्यूँताएसम्म ओलीलाई हटाउँन दाहाल—माधव समूहले भएभरको बलबुत्ता लगाएका थिए । अहिले एमालेमा ओली समूह बहुमतमा छ, त्यसैकारण पनि ओलीले उनीहरुलाई दबाबमा राख्ने पक्कापक्की छ ।

यद्यपि यसप्रकारको समीकरणका लागि खुलेर पहल नभएपनि माओवादी केन्द्र र माधव–खनाल समूहका नेताहरु कम्युनिष्ट गठबन्धन तोड्न नहुने पक्षमा छन् । यस समीकरण अनुसार ओली र प्रचण्डबाहेकका नेतालाई प्रधानमन्त्री बनाएर समीकरण मिलाउन सकिन्छ । तर, यसप्रकारको समीकरणको सम्भावना भने एकदमै कम छ किनकी एमालेमा ओली र माधव समूहबीच छलफलको वातावरण समेत देखिंदैन । अहिले सत्ता समीकरणका लागि जसपासँग भईरहेको छलफलमा ओली पक्ष मात्रै सहभागि छन् ।

एमालेको गत शुक्रवारको वैठकले पदाधिकारीहरूको पद हेरफेर गरेपछि त पार्टीभित्रै भूकम्प गएको छ । यतिवेला माधव–झलनाथ समूह समानान्तर कमिटी गठन गर्दै अघि बढेको छ । यसकारण सत्ता समीकरणको नयाँ विकल्प पो देखापर्ने हुन् कि भन्ने पनि आमजिज्ञासा छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?