अभिभावकबाट नजानेरै भइरहेका छन् केही गल्ती, नपत्याउँदो तरिकाले बढिरहेको छ बालबालिकाको आत्महत्यादर

काठमाडौं । वीरेन्द्रनगर वार्ड नं १, सुर्खेत ।

आठ वर्षीया ममता परियार आफ्नै घरको दलिनमा झुण्डिएको अवस्थामा भेटिइन् । उनकी आमा देवीले दिएको बयान अनुसार घटना हुनुअघि उनले ममतालाई घरको साँचो हराएको निहुँमा सामान्य गाली गरेकी थिइन् ।

आठ वर्षको बच्चाले पासो लगाउनु र मर्नु त परको कुरा यस्तो योजना बुन्नु नै अचम्मको कुरा भएकाले घटना शंकास्पद भएको धेरैले अनुमान गरे । फेरि ममता न मोबाइल चलाउँथिन् न त उनी कुनै सामाजिक सञ्जालको पहुँचमा नै थिइन् । यस्तो अवस्थामा उनले आत्महत्याका बारेमा कहाँबाट, कसरी थाहा पाइन् भन्ने कुरा रहस्यको गर्भमै छ ।

***

ललितपुरको माल्टास्थित कक्षा पाँचमा अध्यनरत ११ वर्षिय समिर लुङ्वा आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे । रातिको खाना खाइसकेपछि आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि पल्लो गाउँ गएका बेला समिरले पासो लगाएको परिवारका सदस्यले बताए । उनले सुसाइड नोट समेत लेखेका थिए जसमा विद्यालयका केही शिक्षकले गर्ने गरेको पक्षपाती व्यवहार र दाजु भाउजुले हेप्ने गरेको कुरा खुलाइएको थियो ।

***

यही वर्षको पुस महिनामा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिकै बस्दै आएका १४ वर्षीय आशिष चौधरीले आत्महत्या गरे । किन गरे भन्ने कारण पहिल्याउँदै जाँदा थाहा भयो कि उनले घरमा नसोधी पैसा झिक्दा आमाले सामान्य गाली गरेकी थिइन् । यही घटनापश्चात् उनले पासो लगाएका रहेछन् ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । बालबालिकाले आत्महत्या गर्ने सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । घटनाको कारण खुट्याउँदै जाँदा प्रहरी अथवा चिकित्सकहरु प्राय एउटै निचोडमा पुगेका छन् । त्यो हो बालबालिकामा देखिने मानसिक समस्या ।

बेलाबेला व्यस्त जीवनबाट पट्यार लागेको अवस्थामा मानिसहरु आफ्नो बालापन सम्झिन्छन् । त्यस्तै निश्फिक्री जीवन जिउन पाए भन्दै विगतको यादमा रमाउँछन् । तर, बाल्यावस्थामै आफ्नो मृत्युको प्रपञ्च रच्न थालेका आजका बालबालिकालाई हेरेर के बुझ्ने ? के बाल्यावस्थाको अबोधपन धमिलिएकै हो त ? यदि हो भने उनीहरुलाई यस्तो अवस्थासम्म केले र कसरी पु¥याउँछ ? जीवनसँग झन् धेरै प्रेममा पर्ने उमेरमा बालबालिकाहरु मृत्यु रोज्ने अवस्थासम्म आखिर कसरी पुग्छन् ?

नेपालमा बाल आत्महत्याको सङ्ख्या उकालो लाग्दै

महानगरीय प्रहरी परिसरको तथ्यांक अनुसार आव २०७४/७५ मा २ सय ५० जना बालबालिकाले आत्महत्या गरेका छन् । त्यसअघिको वर्षमा भने आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या १ सय ५० थियो । यी दुई तथ्यांकको तुलना गर्दा एक वर्षको अन्तरालमै आत्महत्याको ग्राफ तिव्र रुपमा उकालो लागेको देख्न सकिन्छ ।

अघिल्लो वर्ष अर्थात् आव २०७६/७७ मा देशभरिबाट जम्मा ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका छन् जसमध्ये ६ सय ६२ जना बालबालिका रहेका छन् ।

सो वर्ष कोभिड १९ महामारीका कारण भएको लकडाउनले पनि बालबालिका आत्महत्या दरको वृद्धिमा भूमिका खेलेको नेपाल साइकोलोजिस्ट एसोसिएसनका संस्थापक महासचिव मनोविद् गोपाल ढकाल बताउँछन् । कोरोना महामारीले मानसिक स्वास्थ्यमा यतिसम्म असर पु-यायो कि कोरोना शुरु हुनुअघि दिनको १३ देखि १५ जनाले हरेक दिन आत्महत्या गर्दथे भने त्यसपश्चात् आफ्नै हत्या गर्नेको सङ्ख्या दिनको १७ देखि १९ सम्म पुगेको प्रहरीको तथ्यांकले देखाएको छ ।

काठमाडौंको तथ्यांकले भने आजभन्दा पाँच वर्ष अघिसम्म मात्र पनि बालबालिकाको आत्महत्याको सङ्ख्या शून्य देखाउँथ्यो । त्यसपछिका वर्षहरुमा अलिअलि गर्दै सङ्ख्या उकालो लाग्न थाल्यो । आव ७३/७४ मा २१ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांक रहेको छ भने आव ७४/७५ मा १४ जना बालबालिकाले आफ्नै ज्यान लिएका छन् । त्यसैगरी, ७५/७६ सालमा १६ जनाले आत्महत्या गरेका छन् ।

किन गर्छन् साना केटाकेटीले आत्महत्या ?

बालबालिकाहरु प्राय हाँसिरहन्छन् । रमाइरहन्छन् । उनीहरुलाई हाँसेकै सुहाउँछ । त्यसैले पनि उनीहरु दुखी हुँदा खासै ध्यान दिइँदैन । क्षणिक रिसाइ हो वा चित्त दुखाइ हो भनेर नजरअन्दाज गरिदिइन्छ । अझ बालबालिकामा मानसिक समस्या हुन्छ भन्ने कुरामा त कति अभिभावकलाई विश्वास नै नहुने मनोविश्लेषक वासु आचार्य बताउँछन् । उनको क्लिनिकमा त्यस्ता धेरै बालबालिकालाई ल्याइन्छ जसले असामान्य हर्कत देखाउँछन् अथवा जसको बानीव्यवहारमा पहिले भन्दा परिवर्तन आएको हुन्छ । उनीहरु कुनै किसिमको मानसिक समस्याबाट ग्रस्त छन् भन्दा आमाबुबाले नपत्याउने गरेको घटनाहरु पनि प्रशस्तै भएको बताउँछन् आचार्य ।

केटाकेटीलाई केको तनाव ? खाने, खेल्ने उमेरमा कसरी मानसिक समस्या ? यस्तै यस्तै प्रश्नहरु तेस्र्याइन्छन् उनका अगाडि । हुन पनि मानसिक समस्या भनेको बढ्दो जिम्मेवारी, तनाव, झमेलाले निम्त्याउँछ भन्ने आम बुझाइ छ । अनि, बाल्यावस्था भनेको चिन्ता नै नहुने उमेर भनेर परिचित । यस्तो आधारहीन अनुमानको धरातलमा टेकेर बालबालिकालाई मानसिक समस्या नै हुँदैन भन्ने गलत अनुमान गर्नु झन् गलत भएको उनी बताउँछन् ।

परिवारमा आपसी मेलमिलाप नहुनु, शान्ति र सौहार्दपूर्ण वातावरणको अभाव, साथीहरुसँग तालमेल नहुनु, विद्यालयमा वा घरमा कसैले भनेका कुरा बिझाउनु आदिजस्ता सामान्य कारणहरुले बालबालिकामा वितृष्णा पैदा गर्ने बताउँछन् मनोविश्लेषक आचार्य ।

‘केटाकेटीले बुझ्दैनन् वा फरक पर्दैन भनेर आमाबुबा उनीहरुकै अगाडि झगडा गर्छन्, पारिवारिक समस्याहरुका बारेमा चर्चा गर्छन्, उनीहरुलाई अरुसँग दाँज्ने काम गर्छन्,’ नेपाल साइकोलोजिस्ट एसोसिएसनका संस्थापक महासचिव मनोविद् गोपाल ढकाल भन्छन्, ‘तर यस्ता क्रियाकलापहरुले बालबालिकामा गहिरो असर पर्दछ ।’

इन्टरनेट तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि बालबालिकालाई यस्तो कदम उठाउन उन्मुख गर्ने ढकालको भनाइ छ ।

चलचित्र, सिरियलका साथै इन्टरनेटमा सर्वत्र उपलब्ध भिडियोहरुमा आत्महत्या गर्न उक्साउने किसिमका सामाग्री छ्याप्छ्याप्ती हुनुले पनि बालबालिकामा आत्महत्याप्रति जिज्ञासा बढ्ने मनोविद् ढकाल बताउँछन् । ‘ससाना कुरामा हार मान्ने, विचलित हुने, निराश हुने र आत्महत्या गर्नु नै समस्याको समाधान हो जस्तो सोच्छन् केटाकेटीहरु ।’

अर्को कुरा इन्टरनेट र सामाजिक सञ्जालको सहज पहुँचले केटाकेटीहरुलाई असाध्यै जिद्दी बनाइदिएको मनोविदद्वय आचार्य र ढकालको मत छ । ‘आफ्ना ससाना माग पूरा नहुँदा मर्ने धम्की दिने, कसैको भन्दा कम हुन नमान्ने जस्ता प्रवृत्ति अहिलेका केटाकेटीमा बढ्दो छ,’ मनोविश्लेषक आचार्य भन्छन् ।

खासमा बालबालिकाले यस अपराधको ‘ग्राभिटी’ नै नबुझी यसो गर्ने ढकाल बताउँछन् ।

आत्महत्या गर्ने सोच बनाएका बालबालिकाले कस्तो लक्षण देखाउँछन् ?

विज्ञहरुले बताएअनुसार आत्महत्या गर्ने सोच बनाइसकेको बच्चाले केही संकेत नदिइ आत्महत्या गर्दै गर्दैन । उसले आफ्नो अभिव्यक्ति मार्फत् होस् या हाउभाउ, तौरतरिका मार्फत् केही गलत भइरहेको संकेत दिन्छ ।

‘साथीसँग टाढिने, घरपरिवारसँग नबोल्ने, एकोहोरो हुने, रुचि भएका विषयहरुमा पनि विस्तारै चासो कम हुँदै जाने आदिजस्ता लक्षणहरु आत्महत्या गर्ने सोचमा रहेका केटाकेटीले देखाउँछन्,’ मनोविद् गोपाल ढकाल भन्छन् ।

आफ्ना छोराछोरीको बोलचाल, हाउभाउ, बानीव्यवहारका बारेमा हरेक अभिभावकलाई स्पष्ट थाहा हुने भएकाले यदि केटाकेटीले माथि उल्लेखित लक्षण देखाउन थालेमा अभिभावकले विशेष ध्यान पु¥याउनु पर्ने मनोविद् को सुझाव छ । ‘छोराछोरी कस्तो सङ्गतमा छन्, केकस्तो गतिविधिमा सामेल भएका छन् भनेर अभिभावकले हेक्का राख्नैपर्छ,’ मनोविद् ढकालले सुझाए ।

थोरै भिन्न मत राख्दै बासु आचार्य भन्छन्, ‘कहिलेकाहीँ बालबालिकाले अचानक आवेगमा आएर यस्तो निर्णय लिन सक्छन् जसकारण न उनीहरुले कुनै पूर्वसंकेत नै दिन्छन् न त अभिभावकले उनीहरुको समस्या बुझ्ने समय पाउँछन् ।’ आजभोलि यस्तो किसिमको आत्महत्या बढेको आचार्यको ठहर छ ।

‘यदि अगाडिदेखि योजना नबनाइने भए बालबालिकाले शुरुमा आत्महत्याको बारेमा थाहा पाउँछन् चाहिँ कसरी ?’ भन्ने प्रश्नको उत्तरमा मनोविद् आचार्यले सामाजिक सञ्जाल र इन्टरनेटबाट प्रवाह गरिने अनुचित सामाग्रीहरुलाई दोषी ठह-याए । ‘आजभोलि बालबालिकाहरुको मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल जस्ता माध्यममा पहुँच बढेको छ र यस्ता मध्यममा जस्तोसुकै जानकारी वा सामाग्रीहरु निर्वाधरुपमा राखिएको हुन्छ,’ आचार्य अगाडि थप्छन्, ‘त्यसैको प्रभावले बालबालिकाले आत्महत्या गर्ने तरिकाहरु जान्ने गरेको घटना पनि बाहिरिने गरेका छन् ।’

मनोविद्हरुको यही मान्नु छ कि यस दलदलबाट बालबालिकालाई निकाल्ने सबैभन्दा मूख्य जिम्मेवारी अभिभावकको नै हो ।
‘छोराछोरीले मोबाइल, इन्टरनेट, भिडियो गेम आदिमा कति समय बिताइरहेका छन् भन्ने कुराको हेक्का राख्नुपर्छ, उनीहरुको साथी सर्कल, दैनिक गतिविधिमा ध्यान दिनुपर्छ, उनीहरुलाई खुलस्त आफ्ना कुरा भन्ने वातावरण सिर्जना गरिदिनु पर्छ सके वेलावेला परामर्शदाताबाट सल्लाह पनि लिन सकिन्छ,’ मनोविद् आचार्यले उपयोगी उपायहरु सुझाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?