कैलाली । कैलालीको गोदावरी नगरपालिका—५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज मंगलवार बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताए । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
स्थानीयवासी खडकसिंह पालले सञ्चालन गर्दै आएको उक्त कन्सट्रक्शनमा विद्युत् लाइन सर्ट (चुहावट) भई आगलागी भएको अनुमान गरिएको छ ।
यसअघि गत शनिवार धनगढीको चटकपुरमा रहेको एक फर्निचर उद्योगमा पनि आगलागी हुँदा करोडभन्दा बढीको क्षति पुगेको थियो ।
त्यस्तै, गुल्मी छत्रकोट गाउँपालिका १ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले जलेर हिजो सोमवार बेलुकी मृत्यु भएको छ ।
उनले लगाएको लुङ्गीमा पछाडीबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया