दोस्रो चरणको कोभिड १९ खोप अभियान शुरुः खोप लगाउनेले ध्यान दिनैपर्छ यी कुरा

काठमाडौं । नेपालमा दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आज(आइतवार)देखि कोरोनाविरुद्धको खोप दिन शुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रमा आजबाट ज्येष्ठ नागरिकलाई खोप दिन शुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानै शिक्षण अस्पतालमा गइ खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरेका छन् ।

अधिकांश वृद्धवृद्धामा प्राय दीर्घकालीन रोग हुने भएकाले खोप लगाउने कि नलगाउने भन्ने दुविधा उब्जिएको छ ।

चिकित्सक भने निर्धक्क भएर खोप लगाउने आश्वासन दिइरहेका छन् । यदि नेपालमा कोरोनाको दोस्रो लहर शुरु भयो भने सबैभन्दा शुरुमा संक्रमित हुने नै वृद्धवृद्धा र दीर्घरोगी भएकाले खोप लगाउनु नै उचित भएको जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डे बताउँछन् । जुनसुकै खोप लगाउँदा पनि अलिअलि असहज महसुस हुने बताउँदै पाण्डे भन्छन्, ‘खोप लाउनुअघि नै लगाएपछि रिंगटा लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने लगायत सामान्य लक्षण देखा पर्नसक्छ भनेर मानसिक रुपमा तयार हुनुपर्छ ।’

‘कसले खोप लगाउने र कसले नलगाउने भन्ने विषयमा के भन्नुहुन्छ ?’ भन्ने लोकपथको प्रश्नमा उनले स्पष्ट रुपमा भनेका छन्ः

विगतमा कुनै खोप, औषधि वा खानाले गम्भीर असर देखिएका व्यक्ति

अहिले ज्वरो, रुघाखोकी, आदिजस्ता स्वास्थ्य समस्याले ग्रसित व्यक्ति

कोरोना संक्रमित व्यक्ति

कुनै दीर्घ रोगका कारणले कडा औषधि लिइरहेका व्यक्ति

नसासँग सम्बन्धित रोग लागेका व्यक्ति

माथि उल्लेख गरिएका व्यक्तिहरुले खोप नलगाउन डा. पाण्डे सुझाउँछन् ।

त्यसैगरी,

मधुमेह, कोलेस्टेरोल, थाइराइडको समस्या, उच्च रक्तचाप, प्रोस्टेट, दम, एकपटक हृदयाघात भइसकेका व्यक्ति, मुटुमा स्टेन राखेका व्यक्ति आदिले आफ्ना चिकित्सकसँग परामर्श लिएर खोप लगाउन सक्ने डा.पाण्डे बताउँछन् ।

फेरि दुईपटक खोप लगाइयो भन्दैमा निश्फिक्री नहुने सल्लाह दिन्छन् चिकित्सक । डा.पाण्डेका अनुसार यदि जनस्वास्थ्यका मापदण्ड नअपनाउने हो भने खोप लगाइसकेका व्यक्तिलाई पनि पुनः संक्रमण हुनसक्छ । भलै खोपबाट प्रतिरोधात्मक क्षमता विकास हुनाले उनीहरुलाई कुनै असर पर्दैन तर, उनीहरुले अन्य खोप नलगाएका व्यक्तिमा संक्रमण फैलाउने सम्भावना रहने डा.पाण्डेको भनाइ छ ।

त्यसैले, खोप लगाइसकेपछि पनि मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, आदिजस्ता सुरक्षा विधि अपनाउने सल्लाह चिकित्सकले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?