अन्तर्राष्ट्रिय नारी दिवस : प्रेरणादायी यी नेपाली नारीहरु जसलाई इतिहासले सम्झिरहनेछ

काठमाडौं । आज मार्च ८ तारिक अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रबाट लैंगिक असमानता हटाउँदै महिलाको स्तरोन्नतिको पहल गर्न यस दिवसलाई विश्वव्यापी रुपमा मनाइन्छ । यस अवसरमा महिलाको व्यक्तित्व विकास गर्दै घर, टोल, समाज हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म उनीहरुको पहुँच वृद्धि गर्न विभिन्न किसिमका अभियान तथा योजना निर्माण र लागू गरिन्छन् ।

पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा यो दिवस मनाइएको थियो ।

नेपालमा पनि महिला सशक्तिकरणको उद्देश्यले यस दिन देशव्यापी रुपमा कार्यक्रमहरु आयोजना गरिन्छन् । समाजमा उल्लेख्य योगदान पु-याउने महिलाहरुलाई सम्मान पनि गरिन्छ । विकसित देश त लैंगिक असमानताबाट मुक्त छैन भने नेपाल जस्तो विकासशील मुलुकमा महिलाले कुनै क्षेत्रमा नेतृत्व सम्हाल्नु कति गाह्रो काम होला ? यसका बावजुत हाम्रो समाजमा केही त्यस्ता प्रेरणादायी महिलाहरु छन् जसले समाजको पुरातनवादी सोच र अदृश्य बन्धनबाट उम्किएर नयाँ इतिहास कोरे । जसले केही नयाँ गर्ने अठोट लिए, नयाँ चलन शुरु गरे, नयाँ कुराको सिर्जना गरे । तिनै सम्माननीय महिलाहरुको जीवनका बारेमा लोकपथले तयार पारेको सामाग्री यस प्रकार छः

पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य : पिता डा.पिनाकीप्रसाद आचार्य र आमा इन्दिराकी छोरी शैलजा आचार्य नेपालकी पहिलो उपप्रधानमन्त्री हुन् । उनी वि.सं २०५५ सालमा उपप्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन् । नाताले पूर्व प्रधानमन्त्रीद्वय विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाकी भाञ्जी शैलजाले अविवाहित रहेर आफ्नो सम्पूर्ण जीवन राजनीतिलाई सुम्पिएकी हुन् । उपप्रधानमन्त्री बन्नुअघि उनले कृषि तथा जलस्रोत मन्त्री र उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्षजस्ता पदको कार्यभार सम्हालिसकेकी थिइन् ।

मामा गिरिजाप्रसाद प्रधानमन्त्री भएका वेला आपूm सोही मन्त्रिमण्डलमा कृषिमन्त्री रहेकी शैलजाले ‘प्रधानमन्त्री निवासदेखि सिंहदरबारसम्म भ्रष्टाचारको दबदबा छ’ भनेपछि ठूलो सनसनी मच्चिएको थियो । उक्त अभिव्यक्ति फिर्ता लिन दबाव आएपछि उनले राजीनामा दिएर सरकारबाट बाहिरिइन् ।

वि.सं २००१ जेठमा विराटनगरमा जन्मिएकी शैलजा सानै उमेरदेखि लोकतान्त्रिक आन्दोलन र पार्टी राजनीतिमा लागेकी हुन् । २०१७ सालमा पञ्चायत व्यवस्थाको विरोधमा राजा महेन्द्रलाई काठमाडौँको टुँडिखेलमा कालो झण्डा देखाउँदा उनको उमेर १७ वर्षको मात्र थियो । त्यसपछि उनले धेरै वर्ष लोकतान्त्रिक आन्दोलनका क्रममा जेल जीवन बिताइन् । नेपाली कांग्रेसको उपसभापति हुने पहिलो महिला पनि उनै हुन् । अल्जाइमर र निमोनियाका कारण २०५६ जेठमा ६५ वर्षको उमेरमा उनको निधन भयो ।
लोकतन्त्रको आदर्श, मूल्यमान्यताप्रति समर्पित साहसिक नारी व्यक्तित्वका रुपमा इतिहासमा उनको सम्मानजनक स्थान छ ।

मङ्गलादेवी सिंहः नेपालको लोकतान्त्रिक आन्दोलनको प्रसङ्ग आउँदा मङ्गलादेवी सिंहलाई स्मरण गरिएन भने सन्दर्भ शायद अपूर्ण रहला । वि.सं १९९७ सालमा विवाह भएको चार महिना पनि नबित्दै पति गणेशमान सिंह राजकाज मुद्दा लागेर राणा शासनको फन्दामा परे ।
नवविवाहित नारीले आफ्नै श्रीमानको फाँसीको दिन गन्नुपर्ने अवस्था कति दर्दनाक होला ? यही पीडाबाट गुज्रिइन् मङ्गलादेवी ।
यही घटनाले उनलाई राजनीतितिर तान्यो । वि.सं १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि उनी जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । उनी शुरूदेखि नै विद्रोही महिलाका रूपमा प्रस्तुत भइन् ।
वि.सं १९८२ मंसिर २५ गते बग्गी मर्मत गर्ने पेशा भएको सामान्य परिवारमा पिता बद्रीलाल र माता पूर्णदेवी श्रेष्ठबाट उनको जन्म भएको थियो । मङ्गलवार जन्मिएको हुनाले उनको नाम मङ्गलादेवी राखिएको बताइन्छ ।

नेपाल महिला संघकी संस्थापक पनि हुन् मङ्गलादेवी । महिला आफ्नै व्यक्तित्वले चिनिनुपर्छ भन्ने मान्यताबाट प्रेरित भएर उनले आफ्नो नाममा कहिल्यै ‘श्रीमती’ लेखिनन् । उनलाई ‘प्रथम महिला’ पनि भनिन्थ्यो । २००७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको वि.सं २०५२ मा मधुमेह तथा मिर्गौला रोगबाट निधन भयो ।

पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीः नेपाली संसदीय प्रजातन्त्रको इतिहासमा पहिलो जननिर्वाचित महिला सांसद बनाउने श्रेय तत्कालीन सुदूरपश्चिमाञ्चलका जनतालाई जान्छ । वि.सं २०१५ सालको संसदमा उनी एकजनामात्र महिला सांसद थिइन् । डडेल्धुरा क्षेत्रबाट निर्वाचित भएकी ठकुरानीले २००३ सालमा नेपाली कांग्रेसबाट राजनीतिक जीवन शुरू गर्दा पुरूषप्रधान समाजको अनेक निन्दा, तिरस्कार र अपहेलना सहनुप¥यो । यही आलोचनालाई चिर्दै उनले जनतालाई विस्तारै आफ्नो पक्षमा लिँदै गइन् जसको परिणामस्वरुप सो आमचुनावमा ४४ वर्षकी ठकुरानी शानदार मतले विजयी भएकी थिइन् ।

२००७ सालको जनक्रान्तिमा डडेल्धुरा क्षेत्रमा सक्रियरूपले लागिपरेकी ठकुरानीले घरका निजी बन्दुक क्रान्तिकारीहरूलाई दिने, उनीहरुका निमित्त गाँस र बासको व्यवस्था मिलाइदिने, पार्टीका राजनीतिक कुरा लिएर गाउँगाउँ पुग्ने, परोपकार तथा समाजसेवामा जोड दिने, कार्यकर्ताहरूलाई स्नेही व्यवहार गर्ने, पार्टीप्रति अविचलित आस्था र निष्ठा राख्नेजस्ता गुणहरुका कारणले गर्दा सबैको मन जित्न सफल भएकी थिइन् ।

त्यो बेला आमाबाट पाएको ६ हजार रूपैयाँमा चार हजार रूपैयाँ उनले डडेल्धुरामै विद्यालय स्थापना गर्न खर्चेकी थिइन् ।
२०१६ सालमा विपी कोइरालाको मन्त्रिमण्डलमा उनी पञ्चायत् तथा स्थानीय स्वायत्तशासन उपमन्त्री भइन् । उनका विभागीय मन्त्री काशीनाथ गौतम थिए ।

डेढ वर्षको मन्त्रित्वकालमा उनले परिवार नियोजनका लागि सरकारी प्रयासको प्रारम्भ गरिन् । ठकुरानी नेपाल परिवार नियोजन संघकी संस्थापक अध्यक्षसमेत हुन् ।

वि.सं १९७२ साल मङ्सिर १४ गते डडेल्धुरामा जन्मिएकी द्वारिकादेवीलाई महाकाली अञ्चलाधीशले पञ्चायतको समर्थन गराउन अनेक प्रलोभन, त्रास र दबाव दिए पनि त्यसको पर्वाह नगरी पञ्चायतको विरोधमा सदैव आफूलाई उभ्याइरहिन् । २०५९ मंसिर २४ गते ८८ वर्षको उमेरमा क्यान्सर रोगबाट उनको निधन भयो ।

पहिलो महिला प्राध्यापक अंगुरबाबा जोशी: वि.सं २०११ सालमा पद्मकन्या क्याम्पसको प्राध्यापक र २०१९ सालदेखि ११ वर्षसम्म सोही क्याम्पसको प्रधानाध्यापक भएकी अंगुरबाबा जोशी प्रसिद्ध वैज्ञानिक प्रा.डा.स्व बलराम जोशीकी पत्नी हुन् ।

बनारस हिन्दू विश्वविद्यालयबाट वि.सं २०११ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर, दुई वर्षपछि पटना विश्वविश्वविद्यालयबाट कानूनमा स्नातक र २०१८ सालमा अक्सफोर्ड विश्वविद्यालयबाट कानून विषयमा शिक्षा हासिल गरेकी उनी साहित्य, धर्म, दर्शनशास्त्र, राजनीतिशास्त्र, संस्कृत भाषामा समेत गहिरो दखल भएकी व्यक्तित्व हुन् ।

वि.सं २०३३ सालमा राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय नारी वर्ष’ मनाउने घोषणा गरेपछि उनी ‘नारी वर्ष नेपाल समिति’की पहिलो अध्यक्ष बनेकी थिइन् ।

त्यसताका नेपालमा महिलासम्बन्धी गतिविधिहरु भर्खरभर्खरै मात्र हुन थालेका थिए ।

तारागाउँ विकास समिति र तारागाउँ होटलकी संस्थापक, अन्तर्राष्ट्रिय महिला अधिवक्ता संगठनकी सदस्य (२०३१–३३), २०३२ सालमा तीन वर्षका लागि राष्ट्रिय पञ्चायत सदस्य, पहिलेको ‘सामुदायिक सेवा समन्वय परिषद्’की अध्यक्ष लगायत महत्वपूर्ण ओहोदामा आसीन रही उनले समाजमा उल्लेखनीय योगदान पु-याएकी छन् ।

वि.सं १९९२ असोजमा जन्मिएकी अंगुरबाबाको घाँटीको क्यान्सरका कारण यही २०७७ असार ६ गते ८९ वर्षको उमेरमा निधन भएको हो ।
शिक्षा, महिला सशक्तिकरणको क्षेत्रमा उनले पु-याएको योगदान सराहनीय छ ।

पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामू शेर्पाः जबजब नेपाली महिलाको गौरव गाथा गाइन्छ पासाङ ल्हामू शेर्पाको नाम छुट्दैन । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेर उनले धेरै महिलाहरुलाई प्रेरित गरेकी छन् । दुर्भाग्यवश चुचुरोमा पुगेर फर्किने क्रममा उनको मृत्यु भयो । तर, आज पनि उनलाई साहसको प्रतीक मानेर आदर गरिन्छ ।

तत्कालीन राजा वीरेन्द्रले उनलाई ‘नेपाली तारा’को उपाधि दिएका थिए जुन मरणोपरान्त विरलै दिने गरिन्छ ।
उनका नाममा हुलाक टिकट, राजमार्ग, शालिक, पर्वतारोहण तालिमकेन्द्र आदि स्थापित भएका छन् । कृषि मन्त्रालयले उनकै नाममा ‘पासाङ्गल्हामू गहुँ’ नामक उन्नत बिऊको नामकरण समेत गरेको छ ।

वि.सं २०१८ डिसेम्बर १० मा उनको जन्म एक पर्वतारोही परिवारमा भएको थियो जसले उनलाई किशोरावस्थादेखि नै हिमाल आरोहणतिर आकर्षित गरेको थियो । सन् १९९३ अप्रिल २२ का दिन उनले सगरमाथाको सफल आरोहण गर्नुअघि माउन्ट ब्लाँ र चो ओयू हिमाल चढिसकेकी थिइन् । ३२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

पहिलो महिला गायिका मेलवादेवी गुरूङ: नेपालमा ग्रामोफोन रेकर्ड गराउने पहिलो नेपाली गायिका थिइन् मेलवादेवी गुरूङ । वि.सं १९८५ सालमा उनले भारतको कोलकातामा पुगेर ग्रामोफोन रेकर्डमा गाएको गीत ‘सवारी मेरो रेलैमा’ थियो जुन चन्द्र शम्शेरलाई निकै मनपर्ने गीत थियो ।

ओखलढुङ्गाको रुम्जाटार काफलबोट गाउँमा पिता ज्ञानबहादुर लामिछाने गुरूङ र माता सप्तदेवीकी जेठी छोरी मेलवाको जन्म वि.सं १९५६ सालमा भएको थियो ।

बाल्यावस्थादेखि नै गायनमा सिपालु भएकोले उनलाई आमा र दिदी बलमायाले १९६५ सालमा काठमाडौं ल्याएर प्रधानमन्त्री चन्द्र शम्शेरको दरबार (सिंहदरबार)मा प्रवेश गराएका थिए । पछिल्लो कालखण्डमा उनले आफ्नो नाम फेरेर ‘सुलभा’ राखे पनि मेलवादेवी नेपाली संगीतको क्षेत्रमा आज पनि सम्झिइने नाम हो ।

उनले तत्कालीन दरबारका रंगमञ्चमा नौ वर्षको उमेरमै गाउन थालिन् । उनको गायन प्रतिभाबाट चन्द्र शम्शेर र उनका छोरा केशर शम्शेर यति प्रभावित भए कि मेलवालाई शास्त्रीय संगीतका उस्तादहरूबाटै दरबारभित्र थप तालिम दिन थालियो । त्यसपछि त मेलवादेवीको प्रतिभाको बयान भारतसम्म पनि पुग्यो ।

चन्द्र शम्शेरकहाँ भोजभतेर र पाहुना सत्कार हुँदा भव्य रंगमञ्चमा मूख्य गायिकाका रुपमा प्रस्तुत हुनेमा मेलवादेवी नै थिइन् । यसकारणले गर्दा दरबारका अर्काथरी रिसले जल्न थाले र उनको स्वर बिगार्ने षड्यन्त्र रच्न थालियो । त्यही षड्यन्त्रको एउटा उदाहरण थियो उनले खाने पानमा सिन्दुर हालिनु ।

त्यसपछि उनको स्वर अचानक खस्किन थाल्यो । चन्द्र शम्शेर अति दुखी भए । स्वरको उपचार गर्न बेलायती डाक्टर झिकाए, तर जति कोसिस गरे पनि मेलवाको स्वर पहिलेजस्तो भएन । यति हुँदाहुँदै पनि चन्द्र शम्शेर उनलाई गाउन लगाइरहन्थे ।

दरबारभित्रको षड्यन्त्रका कारण मेलवादेवी दरबारबाट बाहिरिएर चन्द्र शम्शेरले विजयेश्वरीमा किनिदिएको घरमा बस्न थालिन् । त्यहीँ रहँदा दरबारका तबला वादक भक्तकृष्ण मानन्धरसँग उनको प्रेम विवाह भयो र विमला र शान्ति नामका दुई छोरी जन्मिए ।

अन्तरजातीय विवाह गरेकोमा भक्तकृष्णलाई दरबारमा प्रवेश निषेध भयो र मेलवादेवीलाई आफ्नो समुदायबाट पनि वञ्चित गरियो । त्यसपछि उनी शहीद शुक्रराज शास्त्रीको सल्लाहमा दुईटी छोरीका साथ एकमहिनाको सुत्केरी अवस्थामै घर बेचेर कोलकाता पुगिन् । एउटा स्कूलको संगीत शिक्षिका बनिन् र घरमा पनि संगीत कक्षा चलाएर गुजारा गर्न थालिन् ।

षड्यन्त्रका कारण स्वरमा केही परिवर्तन आएतापनि भारत पुगेपछि गायन प्रतिभाबाटै उनी सुपरिचित भइन् र धेरै पुरस्कार पनि पाइन् । इलाहावाद संगीत सम्मेलनले उनलाई ‘ठुमरीकी रानी’ उपाधिले सम्मान ग¥यो । २०१२ साल मंसिरमा खाना पकाइरहेको स्टोभ अचानक पड्केर उनको मृत्यु भयो ।

मदन पुरस्कार पाउने पहिलो महिला साहित्यकार पारिजातः नेपालको साहित्यिक नक्षत्रमा पारिजातको नाम स्वर्णअक्षरले कुँदिएको छ । अहिले पनि उनलाई नेपालको उत्कृष्ट महिला साहित्यकारको संज्ञा दिइन्छ ।

उनको वास्तविक नाम विष्णुकुमारी वाइबा हो ।

उनले शिरिषको फूल, महत्ताहिन, परिभाषित आँखाहरू, वैँशको मान्छे, तोरीबारी, बाटा र सपनाहरू गरी १० उपन्यास, चार कथासंग्रह, निबन्ध आदि गरी जम्मा २० वटा कृति लेखेकी छन् ।

‘शिरिषको फूल’ उपन्यासले उनलाई मदन पुरस्कार पाउने पहिलो महिलामात्रै बनाएन विश्वमा समेत पहिचान दिलायो । यस पुस्तकको अङ्ग्रेजी अनुवाद ‘द ब्लू मिमोसा’लाई विदेशका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश गरिएको छ ।
वि.सं १९९४ सालमा दार्जिलिङमा जन्मिएकी पारिजात सानै हुँदा आमा अमृत मोक्तानको निधन भएपछि हजुरबुबा मनोविज्ञानविद डा. के.एन मोक्तानले हुर्काएका थिए ।

स्कूलको पढाइ दार्जिलिङबाट पूरा गरेपछि उनी वि.सं २०११ सालमा १७ वर्षकै उमेरमा नेपाल आइन् । पद्मकन्या कलेजबाट बीए उत्तीर्ण गरेकी पारिजात २६ वर्षकै उमेरमा पक्षघातले थलिइन् । वामपन्थी विचारधाराकी उनले थलिएकै अवस्थामा पनि कलम चलाउन छाडिनन् । जीवनले दिएको पीडाकै कारण होला उनका लेखमा विद्रोह र पीडाको झल्को पाइन्छ ।

अहिले भारतको पश्चिम बंगालस्थित सिलिगुढी र नेपालका विभिन्न स्थानमा उनको शालिक खडा गरिएको छ भने सरकारले उनको सम्मान स्वरुप तस्वीर राखेर हुलाक टिकट पनि प्रकाशित गरेको छ । आजीवन अविवाहित रहेकी उनको वि.सं २०५० सालमा मृत्यु भयो ।

पहिलो महिला पार्टी अध्यक्ष पम्फा भूसालः वि.सं २०५२ मा जनमोर्चा नेपालको पार्टी अध्यक्ष बनेकी पम्फा भूसाल नेपालको इतिहासमै पार्टीको अध्यक्षता सम्हाल्ने पहिलो महिला नेता हुन् ।

उनले वि.सं २०३३ देखि विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन् । पूर्वमाओवादी पार्टीको पोलिटब्यूरोसम्म पुग्ने २ मात्र महिलामध्ये उनी एक हुन् ।

२०६२/६३ सालको बृहत शान्ति सम्झौतापछि २०६४ सालमा पहिलोपटक तत्कालीन माओवादी सरकारमा सामेल हुँदा उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री नियुक्त भएकी थिइन् ।

अविवाहित रहेर उनले आफ्नो सम्पूर्ण जीवन राजनीतिलाई समर्पण गरेकी छिन् ।

वि.सं २०१९ सालमा अर्घाखाँचीको किमडाँडामा पम्फाको जन्म माता इन्द्रकला र पिता गोविन्द भूसालको घरमा भएको थियो । छोरा पाउनका लागि उनका मातापिताले धेरै सन्तान जन्माएका थिए जसमध्ये काइँली थिइन् पम्फा । छोरीलाई पढाउनुहुन्न भन्ने मान्यता भएको घरमा जन्मिएकी पम्फा परिवारको इच्छाविपरीत विद्यालय जाने गाउँकी पहिलो छात्रा बनिन् । एसएलसी उत्तीर्ण गरेपछि आइएस्सी सकेर पुल्चोक इन्जिनिरयरिङ कलेजबाट ओभरसियरको पढाइ पूरा गरिन् । भूसालले केही समय साना जलविद्युत आयोजना र अर्घाखाँचीकै सार्वजनिक निर्माण शाखामा ओभरसियरका रुपमा कार्यरत रहिन् । उनी अहिले पनि नेपाली राजनीतिमा सक्रिय छिन् ।

यी महिलाहरु त केही उदाहरण मात्र हुन् । यसका अतिरिक्त पनि त्यस्ता कैयौं नेपाली महिला छन् जसले विभिन्न क्षेत्रमा ‘पहिलो’ महिलाका रुपमा खाता खोलेका छन् । जस्तैः

पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी

पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की

नेपाली साहित्यकी पहिलो विद्यावारिधि र साझा पुरस्कार पाउने पहिलो महिला बानिरा गिरी

पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ

पहिलो महिला राजदूत विन्देश्वरी शाह

पहिलो महिला ईन्जिनियर शान्ति मल्ल

पहिलो महिला प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बिमला थापा शर्मा

नेपाली सेनामा पहिलो महिला मेजर (बहालवाला) सुलोचना पौडेल

पहिलो महिला पाइलट रक्षा राणा आदि

पहिलो नेपाली नायिका भुवन चन्द

हरेक क्षेत्रमा महिलाको योगदान उतिनै रहेपनि आर्थिक, राजनैतिक र उत्पादनमूलक क्षेत्रमा महिला सहभागिता बढ्न जनआन्दोलनपछिको पिँढीलाई केही हदसम्म सजिलो भएको देख्न सकिन्छ ।

आजभोलि प्राध्यापन देखि प्लेन उडाउने, शव जलाउने, कृषि, निजी क्षेत्र आदिमा महिलाको सहभागिता छ । कतिपय क्षेत्रको नेतृत्व पनि सम्हालेका छन् महिलाले । राज्यले समेत महिला सशक्तिकरणका निमित्त देशको राजनीति देखि हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाएको छ ।

हरेक छोरी शिक्षित हुँदै, रोजगारी पाउँदै, हरेक तह र तप्कामा नेतृत्व लिँदै, सिक्दै सिकाउँदै अघि बढ्दैछन् जुन सकारात्मक संकेत हो । यद्यपि, हत्या, बलात्कार, दुर्व्यवहार आदिजस्ता दिनानुदिन बढ्दै गएका अपराधिक क्रियाकलापहरुले भने महिला सुरक्षामाथि प्रश्नचिह्न खडा गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?