२०७७, २३ फाल्गुन आईतवार १४:५३

ट्वीटरका संस्थापकको पहिलो ट्वीट लिलामीमा, कतिमा हुँदैछ बिक्री ?


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १४:५३

सानफ्रान्सिस्को । विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राखेका छन् ।

उनको त्यो पहिलो ट्वीटलाई हिजो शनिवार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ ।

सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलें,” घोषणा गरेका थिए ।


गत शुक्रवार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार “भ्यालुएबल्स एट सेन्ट” मा एउटा लिंक राखेका थिए । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।
शनिवार डोर्सीका ट्वीट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्वीट खरिद गर्न इच्छा देखाएका थिए । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्वीट २५ लाख डलरमा खरिद गर्ने घोषणा गरेका थिए ।

डोर्सीको उक्त ट्वीट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन् ।

आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन (एनएफटी)” मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण (टप सट)को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो ।

  • एजेन्सी

प्रतिक्रिया दिनुहोस