पाकिस्तानमा क्रिश्‍चियन नर्समाथि लगाइएको ईश्‍वरनिन्दाको झुटो आरोपको भर्त्सना

इस्लामावाद । एक मानवअधिकार समूहले कराचीको शोभराज मातृत्व अस्पतालमा कार्यरत क्रिश्चियन नर्समाथि भएको आक्रमण र लगाइएको गलत आरोपहरुको निन्दा गरेको छ ।

मानवअधिकारवादी समूह ‘ह्युमन राइट फोकस पाकिस्तान’ले तबिता नाजिर जिलमाथि भएको क्रूर हमला र ईश्वरनिन्दाको झूटो आरोपको भर्त्सना गरेको हो । बिरामीहरुबाट अतिरिक्त उपहार र पैसा लिने काम बन्द गर्न आफ्ना सहकर्मीहरुलाई सुझाव दिएपछि उनीहरुका आँखाको तारो बनेकी थिइन् तबिता ।

‘जनवरी २८ मा तबिताका सहकर्मीहरूले भर्खरै जन्मेको बच्चाका परिवारबाट पैसा लिन लागेका थिए । तबिता वरिष्ठ भएका कारण त्यो पैसा नलिने सुझावहरु दिइन् त्यसपछि अन्य नर्सहरूले उनलाई जबरजस्ती कुटपिट गरे र दोष स्वीकार गर्दै र क्षमायाचनाको बयान लेख्‍न बाध्य तुल्याए,’ विज्ञप्तिमा भनिएको छ ।

तबितामाथि ईश्वरनिन्दाको झूटो आरोप लगाएका त्यहाँका कर्मचारीहरुले त्यहाँ पुगेर उनलाई डोरीले बाँधे । प्रहरीले सोधपुछपछि त्यो व्यक्तिगत विवाद भएको बतायो ।

विज्ञप्तिमा भनिएको छ, ‘भीडको दबावका कारण प्रहरीले पाकिस्तान दण्डसंहिताको धारा २९५ सी अन्तर्गत एफआईआर दर्ता गरेको छ । पैगम्बर मुहम्मदविरुद्ध ईश्वरनिन्दा गर्न मृत्युदण्ड सुनाइन्छ ।’

‘ह्युमन राइट्स फोकस पाकिस्तान’का अध्यक्ष नावेद वाल्टरले तबिताको मुद्दाले फेरि ईश्वरनिन्दा मुद्दाहरूको प्रमाणित गरेको र व्यक्तिगत कलह र झगडाका कारण काम गर्ने ठाउँमा दुर्व्यवहार गर्दै अनावश्यक आरोप लगाइएको बताएका छन् ।

उनले भने, ‘दुर्भाग्यवश एकपटक जब एक व्यक्ति ईश्वर निन्दाको सिकार हुन्छन् यसले व्यक्ति र परिवारको सम्पूर्ण जीवनलाई असर गर्दछ र उनीहरू पहिले जस्तो बाँचिरहेका थिए जस्तो जीवन बिताउन असमर्थ हुन्छन् । तबितालाई पनि त्यस्तै भयो र अहिले उनी र उनको परिवारमा उच्च जोखिम र गम्भीर खतराहरू बढेको छ ।’

उनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मागसमेत गरिएको छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?