मेलम्चीको ‘हेडवर्क्स्’ निर्माण अन्तिम चरणमा

RSS
0
Shares

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवर्क्स्’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

हेडवर्क्स् निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा हेडवर्क्स्’ को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार विदेशबाट ‘हाइड्रो मेकानिकल’ सामग्री आउन बाँकी छ । उनले भने, “बाहिरबाट आउनुपर्ने सामान आएपछि जोडेर सञ्चालन गरिनेछ ।”

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडवक्र्स’ निर्माण गरेको हो । आयोजना अन्तर्गत सुरुङ, हेडवक्र्स र सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्रको निर्माण भएको छ । सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएकाले सुरुङबाट पानी काठमाडौं ल्याइएको छ । तत्कालका लागि ‘हेडवर्क्स्’ सम्पन्न नभएकाले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको प्रवक्ता पन्तले जानकारी दिए । उनले भने, “अबको केही महिनामा नै हेडवर्क्स् सम्पन्न भएर त्यसबाट पानी पथान्तरण गर्न सकिनेछ ।”

यही फागुन १० गते अम्बाथानबाट पानी सुरुङभित्र पठाइएकामा हिजो शनिवार सुन्दरीजल आइपुगेको छ । अबको केही दिनसम्म सुरुङ परीक्षण गर्ने आयोजनाले जनाएको छ । सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए ।

सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उनको भनाइ छ । उनले भने, “ठूलो चुहावट नभएमा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?