विश्वका २० देशमा कोभ्याक्सको दुई करोड मात्रा पठाइयो

RSS
0
Shares

जेनेभा । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।

विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।

यी खोपहरु यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम घानाबाट शुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका छन् । उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम जारी रहने बताए ।

अर्को हप्ता पनि यो खोप बढी जसो अफ्रिकी देशलाई नै दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ । खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए ।

अहिलेसम्म कार्यक्रम अनुसार यो खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको पनि उनले बताए । विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई शुरुमा यो खोप अनुदानमार्फत् दिइने गरी वितरणको कार्यक्रम बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?