प्राथमिक क्षेत्रमा बीमा कम्पनीको न्यून लगानी : किन टेर्दैनन् नियामक निकायलाई ?

लोकपथ
0
Shares

काठमाडौं – बीमा कम्पनीहरुको प्राथमिक क्षेत्रमा लगानी न्यून देखिएको छ । बीमकको निर्देशिकामा उल्लेख भएअनुसार बीमा कम्पनीले लगानी गर्न सकेका छैनन्। ‘बीमकको लगानी निर्देशिका २०७५’ अनुसार बीमा कम्पनीहरुले लगानी गरेको देखिँदैन । बीमा समितिले बनाएको निर्देशिकाको अवज्ञा गर्दै बीमा कम्पनीहरुले प्राथमिकता प्राप्त क्षेत्रको लगानीमा आनाकानी गरेका छन् । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानीको अवस्था हेर्दा बीमा कम्पनीले नियामक निकाय समितिको निर्देशनको अवज्ञा गरेको देखिन्छ । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको छ महिनामा कृषि, पर्यटन, जलस्रोत लगायत पूर्वाधारका क्षेत्रमा ०.९७ प्रतिशत, नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा ०.८८ प्रतिशत, घरजग्गामा ०.१० प्रतिशत, सूचिकृत कम्पनीको साधारण शेयरमा ६.३४ प्रतिशत, बैंक तथा वित्त कम्पनीको अग्राधिकार शेयरमा र ऋणपत्रमा ८.५१ प्रतिशत तथा अन्य क्षेत्रमा ०.१६ प्रतिशत लगानी गरेको समितिको तथ्यांकले देखाएको छ ।

हाल सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीहरुले छ महिनामा ३ खर्ब ८८ अर्ब ९८ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको देखिएको छ । जसमा जीवन बीमा कम्पनीहरुले ३ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीहरुले ३ खर्ब ८८ अर्ब ९८ करोड रुपैयाँ गरेको लगानीमध्ये ७२.८० प्रतिशत वाणिज्य बैंकहरुको मुद्धतिमा, ८.६१ प्रतिशत विकास बैंकहरुको मुद्धति बचतमा र ०.९१ प्रतिशत वित्त कम्पनीहरुको मुद्धतिमा राखेका छन् ।

बीमा कम्पनीहरुले समितिको निर्देशन विपरित लगानी गरेपछि लगानीलाई विविधिकरण गर्न समितिले प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नु पर्ने भन्दै यसअघि नै निर्देशन जारी गरिसकेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको निर्देशन विपरित अब कुनै पनि बीमा कम्पनीले लगानी गर्न नपाउने बताए । बीमा कम्पनीहरुले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न नपानेपछि समितिले निर्देशन नै जारी गर्नुपरेको कार्यकारी निर्देशक पौडेलले बताए ।

यस्तो छ लगानी निर्देशिकामा व्यवस्था :
सो लगानी निर्देशिका अनुसार कुल टेक्निकल रिजर्भको २० प्रतिशत ऋणपत्रमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोतमा ५ प्रतिशत नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा लगानी गर्न सक्ने व्यवस्था छ । त्यस्तै,वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाउने व्यवस्था छ ।

घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?