प्यालेस्टाइन क्षेत्रमा भएका युद्ध अपराधबारे आईसीसीले अनुसन्धान गर्ने

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधको औपचारिक अनुसन्धान गर्ने भएको छ । आईसीसीका प्रमुख अभियोजनकर्ताहरुले सन् २०१४ मा इजरायलले कब्जा गरेको पश्चिम तटीय क्षेत्र, पूर्वी जेरुसेलम र गाजापट्टीमा भएका घटनाबारे छानविन शुरु गरेका हुन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको यो बहसको विषयमा आईसीसीले इजरायल र प्यालेस्टाइन दुबै देशले गरेका युद्ध अपराधको अनुसन्धान हुने अपेक्षा गरिएको छ । तर इजरायलले भने यो मामिला आईसीसीको क्षेत्राधिकारमा नपर्ने भन्दै विरोध जनाउँदै आएको छ । इजरायलले रोम विधान अनुमोदन गरेको छैन । यद्यपी सोसम्बन्धी मुद्दा अघि बढाइने अधिकारीहरुले जनाएका छन् ।

इजरायलले सन् १९६७ देखि मध्यपूर्वको युछमा वेस्ट बैंक, गाजा र पूर्वी जुरुसेलमलाई नियन्त्रणमा लिएपछि स्वामित्व विवाद बढेको छ । सन् २०१४ मा इजरायलले कब्जा गरेको पश्चिम तटीय क्षेत्र, पूर्वी जेरुसेलम र गाजामा भएका घटनाबारे छानविन हुने मुख्य अभियोजनकर्ता फतहू बेनसौदालाई उदृत गर्दै ‘द गार्जियन’ले जनाएको छ ।

गत महिना अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगले सो क्षेत्रमा भएका आपराधिक गतिविधिहरुको थप अनुसन्धान गर्न आदेश दिएसँगै सो प्रक्रिया अघि बढाउन लागिएको हो । आईसीसीसँग नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधसम्बन्धी अभियोजनमा मुद्दा दायर गर्ने अधिकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?