घाटु र सोरठी बिर्सँदै नयाँ पुस्ता, जोगाउने कसले ?

‘सांस्कृतिक नृत्यबारे स्कूलमा पठनपाठन गराउनुपर्छ’

काठमाडौं । यदि नाच्नुलाई कसैले मनोरञ्जनसँग मात्र जोड्छ भने ऊ गलत छ । यदि नाच्नुलाई ‘समय बर्बाद गर्नु’को संज्ञा दिन्छ भने ऊ गलत छ । यदि कसैको ‘बेरोजगारी’ वा ‘कामचोरी’लाई ‘नाचेरै समय खेर फालिस्’ भन्दै गाली दिन्छ भने ऊ गलत छ । किनकी नृत्य फगत हातखुट्टाको चाल र अनुहारको भावभंगी मात्र होइन । नृत्य कला हो । नृत्य संवेगहरुको निकास हो ।

नृत्यले कुनै समाजको आवाज बोलिरहेको हुन्छ । कुनै सभ्यताको चित्रण गरिरहेको हुन्छ । प्रत्येक समुदायको नृत्यले उसको पहिचान बोकेको हुन्छ । संस्कृति प्रतिबिम्बित गरेको हुन्छ । हामी आफै पनि त नेपाली संस्कृतिमाथि कति गर्व गर्छौं ?

तर जब हामी नेपाललाई संस्कृतिले सम्पन्न राष्ट्र भन्दै चिनाउँछौं तब हामी आफैलाई यसको कारण थाहा हुन्छ कि हुँदैन ? यदि कसैले ‘तिम्रो राष्ट्रको संस्कार संस्कृति कस्तो छ’ भन्ने प्रश्न राख्यो भने हाम्रो प्रतिक्रिया के हुन्छ ? आफ्नै देशको संस्कृतिका बारेमा कति जानकार छौं हामी ? अनि सांस्कृतिक नृत्यहरुको बारेमा नि ?

केही त्यस्तै लोपन्मुख नेपाली लोक नृत्यहरुका बारेमा तल उल्लेख गरिएको छ जसले नेपाली मूल्यमान्यता र संस्कृतिलाई बडो सुन्दर ढंगले बयान गरेका छन्ः

घाटु नृत्य

लगभग एकै उमेरका किशोरीहरु भेला हुन्छन् । संगीतको सुस्त लयमा झुम्छन् । बग्छन् । यस संगीतको प्रभाव यति हुन्छ कि उनीहरु अर्धचेत अथवा अचेत अवस्थामा पुग्छन् । उनीहरुलाई मादल बजाएर गीत गाउँदै साथ दिइरहेका हुन्छन् गाउँका पुरुषहरुले । गीत सकिएपछि उनीहरुलाई तितेपातीले आँखामा पानी छर्किएर वा संगीतकै माध्यमबाट ब्युँझाइन्छ । कसैले छोएर वा अन्य तरिकाले ब्युँझाउन पाइँदैन ।

यो अनौठो तर विशेष नृत्यको नाम हो, घाटु नृत्य र यसमा नाच्ने किशोरीहरुलाई भनिन्छ घाटुसरी । नेपालको गुरुङ समुदायमा प्रचलित लोक नृत्य घाटु विशेष गरी गण्डकी प्रदेशमा नाचिन्छ । ११ देखि १९ वर्षीया उमेर समूहका अविवाहित किशोरीहरुले प्रस्तुत गर्ने यो नृत्यलाई जहाँ कहीँ र जोकोहीले प्रस्तुत गर्न पाइँदैन । घाटुसरी छानिने प्रक्रिया पनि छुट्टै हुन्छ । त्यसैले यो नृत्य विशेष अवसरमा मात्रै प्रस्तुत गरिन्छ ।

आजभोलि सांस्कृतिक कार्यक्रमहरुमा अथवा लोक नृत्य प्रतियोगिताहरुमा यो नृत्य प्रस्तुत गर्न थालिएको छ । यस्ता कार्यक्रममा भने नृत्यलाई जीवन्त बनाउन र यसको मर्मलाई जीवित राख्न नृत्याङ्गनाहरुले अचेत भएको अभिनय गर्ने गरेका छन् । उनीहरुले नाच्ने गीतहरु पनि असली घाटु गीत हुँदैन ।

देउडा नाच

हातमा हात मिलाई, काँधमा काँध मिलाई सबैजना गोलो घेरा बनाएर उभिन्छन् । खुट्टा अघि पछि गर्दै एउटै लयमा नाच्न थाल्छन् । गीत आफै गुन्गुनाउँदै ।

यस्तो नृत्यलाई भनिन्छ, देउडा नृत्य ।

नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा प्रस्तुत गरिने यो नृत्य यसकारण पनि विशेष छ किनकी यसमा जोकोही सामेल हुन सक्छन् । प्रायजसो विशेष चाडपर्व, मेला आदिमा प्र्रस्तुत गरिने यस नृत्यले भेदभाव जान्दैन । महिला, पुरुष, बालबालिका, जनजाति, विदेशी जो पनि हात समातेर यसमा संलग्न हुन सक्छन् ।

सोरठी नाच

एक राजाले सन्तानको अभिलाषामा ७ जना रानीसँग विवाह गर्छन् । नभन्दै कान्छी रानीले छोरीलाई जन्म दिन्छिन् । अन्य रानीहरु ईष्र्याले चुरचुर हुन्छन् र भर्खर जन्मिएकी राजकुमारीलाई नदीमा फ्यालिदिन्छन् । त्यस बच्चीलाई एकजना माझीले फेला पार्छन् र हुर्काउँछन्, बढाउँछन् । ठूलो भएपछि उनी राजकुमारी भएको कुरा थाहा हुन्छ । त्यसपछि राजारानीको उनीहरुकी एक्ली सन्तानसँग पुनर्मिलन हुन्छ । र, दुष्ट रानीहरुले सजाय पाउँछन् । यही खुसीको उपलक्ष्यमा प्रस्तुत गरिएको थियो सोरठी नाच ।

यो नृत्य विशेषगरी नेपालको पश्चिम क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिमाझ प्रचलित छ । दशैँ र तिहारबीचको समयमा यो नृत्य प्रस्तुत गर्ने चलन रहिआएको छ ।

धान नाच

वर्षौं पहिले समाज सरल थियो । प्रविधिको प्रभाव थिएन । औद्योगिकरणले छोएको थिएन । मानिसहरु कुटोकोदालो गर्थे । वस्तुभाउ पाल्थे । खेतीकिसानी मूख्य पेशा थियो । अर्मपर्ममा जाने, घाँसदाउरा गर्ने, रोपाइँमा सघाउने आदिजस्ता त्यसवेलाका दिनचर्या थिए ।

त्यहीवेला विकास भयो लिम्बु समुदायले नाच्ने ‘धान नाच’ । नामले नै पनि प्रष्ट्याउँछ कि यो नाच बालीनालीसँग सम्बन्धित छ । बालीनाली भित्र्याउँदा धान नाच्ने चलन थियो लिम्बू समुदायमा । यसका अतिरिक्त विवाह, शुद्ध्याइ, चाडपर्व तथा मेलाहरुमा पनि यो नृत्य प्रस्तुत गरिन्थ्यो ।

सन्थाल नृत्य

रंगीचंगी धोती, पछ्यौरा, श्रंगार, चाँदीका झुम्का, कल्ली, गरगहनामा सजिएका महिला र धोती, कमिज, ऐना र झुम्का भएको फेटा, मयूरको प्वाँख, मादल, ढोल, झ्याम्टामा ठाँटिएका पुरुषहरु सामूहिक रुपमा बाजा बजाउँदै, सिठी फुक्दै फुर्तीसाथ नाच्छन् । उनीहरुको प्रस्तुतिमा एउटा छुट्टै जोस देख्न सकिन्छ ।

यस्तो उर्जाशील नृत्य हो नेपालको पूर्वी तराई क्षेत्रमा नाचिने सन्थाल नृत्य । अल्पसङ्ख्यक सन्थाल जातिको पारम्परिक नृत्य हो यो । दशैँको घटस्थापनादेखि शुरु गरिने यो नृत्य दशैँको टीकाको दिनसम्म निरन्तर जारी रहन्छ । त्यसपछि एकादशीदेखि पूर्णिमासम्म हुने विभिन्न मेलाहरुमा उनीहरुले सामूहिक रुपमा भव्यताका साथ नृत्य प्रस्तुत गर्दछन् ।

राउटे नृत्य

फिरन्ते जीवनशैली भएका राउटेहरु जंगलमा बसोबास गर्दछन् । उनीहरुको जीवनशैली सामान्य मानिसको भन्दा भिन्न हुन्छ । सभ्यता र विकासको परिधि भन्दा कोसौं टाढा यो जातिका मानिसहरु पढ्नलेख्न जान्दैनन्, आयआर्जनको निश्चित बाटो पनि हुँदैन, बाहिरी दुनियाँका बारेमा बेखबर हुन्छन् तर यिनीहरुको आफ्नै नृत्य भने हुन्छ । खुसीयाली मनाउँदा अथवा चाडपर्वको अवसरमा उनीहरु नाचेर रमाइलो गर्ने गर्छन् ।

नृत्यका लागि उनीहरुको छुट्टै पहिरन वा श्रृंगार भने हुँदैन ।

हुड्केली नृत्य

नेपाली लोक बाजा हुड्काको तालमा नाचिने भएकाले यस नृत्यलाई हुड्केली नृत्य भनिन्छ । मध्य पश्चिम र सुदूर पश्चिम क्षेत्रमा नाचिने यस नृत्यमा पौराणिक कथा, राजा महाराजाहरुको गौरव गाथा साथै पुराना युद्धहरुको बयान गरेको पाइन्छ । यस नृत्यमा एकजनाले भट्याउने र अरुले त्यसैमा साथ दिने चलन छ ।

हुड्केली नाचमा नाच्नेहरुले एक हातमा डमरुजस्तो देखिने हुड्का बोकेका हुन्छन् भने सेतो पहिरन लगाएर टाउकोमा सेतै पगरी बाँधेका हुन्छन् । रातो कपडा छड्के पारेर कम्मरमा बाँधिएको हुन्छ ।

***

यस्ता लोकनृत्यहरुले फगत मनोरञ्जन मात्र प्रदान गर्ने नभइ हाम्रो समाज, परिवेश, त्यहाँ बसोबास गर्ने मानिस र तिनको सभ्यताको स्पष्ट चित्रण गर्ने भएकाले पनि यसको जगेर्ना गर्नुपर्ने बताउँछन् संस्कृतिविद प्रा.डा.देवमणि भट्टराई ।

‘पश्चिमा संस्कृतिको प्रभावका कारण हाम्रो मौलिक परम्परा ओझेलमा परेको छ,’ मौलाउँदो आधुनिकताको जोखिम औंल्याउँदै उनी अगाडि थप्छन्, ‘यस्तै चलिरहने हो भने हाम्रो आफ्नो भन्ने केही रहँदैन, हामी हाइब्रिड संस्कृतिका पालक बन्न पुग्छौं ।’

‘डिस्को र ¥यापमा मात्रै रमाउने पुस्ताको उत्पादन हुनु भनेको जानेबुझेको पुस्ताले आफ्नो संस्कार, संस्कृति, चालचलनका बारेमा उनीहरुलाई बुझाउन र सिकाउनबाट चुक्नु हो,’ प्रा.डा.भट्टराई केही चिन्तित हुँदै भन्छन् ।

‘यो समस्याको समाधान के हो ?,’ लोकपथले प्रश्न राख्यो ।

‘सानैदेखि घरमा लोक गीत गाउने, सुन्ने, चाडवाड वा समारोहमा लोक नृत्य गर्ने, विद्यालयका पाठ्यपुस्तकमा परम्परा र संस्कृति सम्बन्धि छुट्टै पाठ राखिदिने, लोक परम्पराको अवलम्बन गर्ने व्यक्तिको खिस्सी नगर्ने, देशव्यापी लोक नृत्य तथा गायन प्रतियोगिता आयोजना गर्ने आदिजस्ता गतिविधि मार्फत् यो समस्यालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ,’ उनले सहजै उत्तर फर्काए ।

सरकारको तहबाट नीतिनियम लागू गर्ने, संस्कृतिको प्रवद्र्धन गर्ने किसिमका कार्यक्रमहरु ल्याउने त छँदै छ त्यसका साथै हरेकले व्यक्तिगत स्तरबाट पनि आआफ्नो लोक संस्कृति जोगाउने प्रयत्न गर्नुपर्ने सुझाव दिन्छन् संस्कृतिविद् प्रा.डा.देवमणि भट्टराई ।

तस्वीरः सामाजिक सञ्जालबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?