नेपालले भारतीय मुद्रासँग किन परिवर्तनशील विनिमय दर पद्धति लागू गर्न सक्दैन ? यस्तो छ कारण

लोकपथ
13
Shares

काठमाडौं – परिवर्तनशील विनिमय दर पद्धति बजारमा सिर्जना हुने विदेशी मुद्राको माग तथा आपूर्ति अनुसार विनिमय दर परिवर्तन हुने पद्धति हो । यस अन्तर्गत विदेशी मुद्राको माग बढ्दै गएमा विदेशी मुद्रा बलियो हुँदै जाने तथा स्वदेशी मुद्रा कमजोर हुँदै जाने प्रवृति देखा पर्दछ भने विदेशी मुद्राको आपूर्ति बढ्दै गएमा वा माग घट्दै गएमा विदेशी मुद्रा कमजोर हुने तथा स्वदेशी मुद्रा बलियो हुदै जाने सम्भावना रहन्छ ।

विदेशी मुद्राको माग तथा आपूर्ति कसरी सृजना हुन्छ ? 
कुनै पनि देशका बासिन्दालाई मुख्यतः विदेशबाट वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्राको जरुरत पर्दछ । तसर्थ विदेशी वस्तु तथा सेवाको माग बढ्दै जाँदा विदेशी मुद्राको माग समेत बढ्दै जान्छ । अर्को तर्फ वस्तु तथा सेवाको निर्यात, रेमिट्यान्स आय, वैदेशिक अनुदान, वैदेशिक लगानी जस्ता श्रोतबाट विदेशी मुद्राको आपूर्ति हुन जान्छ ।

भारतसँग परिवर्तनशील विनिमय दर पद्धति किन उचित विकल्प हुन सक्दैन ? 

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । नेपालको वार्षिक निर्यात तथा आयातमा ६० प्रतिशत भन्दा बढी हिस्सा भारतको रहेको छ । यति मात्रै नभएर नेपालमा सबै भन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्रस्थानमा छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट सृजना हुने अनिश्चितताले ब्यापार तथा लगानीलाई नराम्ररी प्रभावित गर्न सक्दछ । यसको प्रत्यक्ष असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात व्यापारमा पर्न जान्छ ।
नेपालको भारतसँगको व्यापार सधैँ घाटामा रहने गरेको छ । प्रत्येक वर्ष त्यस्तो घाटा बढ्दै गईरहेको छ । यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था छ । यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार रुपमा अवमुल्यन हुँदै जाने देखिन्छ ।

अवमूल्यनबाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
नेपालको आयात व्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, र्इन्धन, आदिको अंश ठूलो छ । विनिमय दरलाई बजारमा छोड्दा भारतसँगको व्यापार घाटाका कारण नेपाली मुद्रा अवमुल्यनवाट नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमा नै बढोत्तरी ल्याई मूल्य वृद्धीमा चाप पर्ने देखिन्छ ।

परिवर्तनशील विनिमय दरमा हुने उतारचढावबाट लाभ प्राप्त गर्नका लागि मूलुकको निर्यात तथा आयात व्यापार विनिमय दरसँग लोचदार हुनुपर्दछ । अर्थात् मुद्रा अवमूल्यन हुँदा विदेशी वस्तु सापेक्षिक रुपमा नेपालमा महँगो पर्ने र नेपाली वस्तु विदेशमा सापेक्षिक रुपमा सस्तो पर्न गई आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्दतिले लाभका अवसर समेत बेला बखतमा सिर्जना गर्ने हुन्छ । तर नेपालमा विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृद्धी गर्न सक्ने क्षमताको विकास नभईसकेको तथा आयातको ठूलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकाल अन्य वस्तुबाट प्रतिस्थापन गर्न नसकिने वस्तुहरु जस्तै पेट्रोलियम पदार्थ , मेसिनरी, पाटपूर्जा, इलेक्ट्रिकल सामान आदि रहेकाले निर्यात तथा आयात व्यापार विनिमय दरसँग बेलोचदार रहेको छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्यून रहन्छ ।

विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पूँजी खातालाई समेत बिस्तारै परिवर्त्य बनाउँदै लैजानुपर्ने हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्रा प्राप्तिको दीगो आधार नहुन्जेल सम्म मुलुकले पूँजी खातालाई पूर्ण परिवर्त्य बनाउन सक्दैन ।

नेपाली जनताहरुमा भारतको अर्थतन्त्र अझै सुध्रिँदै जाने तथा नेपालको मुद्रा व्यापार घाटाका कारण कमजोर हुन्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृति बढ्ने सम्भावना समेत रहन्छ । यसबाट भारतीय मूद्राको मागमा थप विस्तार भई नेपाली मुद्रा अझै अवमूल्यन हुँदै जाने हुन्छ ।

नेपालमा मूद्रा बजार, पूँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रुपमा विकसित नभईसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा नहुन सक्ने सम्भावना हुन्छ । जसले व्यापार तथा लगानीमा नकारात्मक असर पार्न सक्दछ ।

यी विभिन्न अवस्थाहरुका कारण नेपालले तत्काल भारतीय मुद्रासँग परिवर्तनशील विनिमय दर पद्दति लागू गर्न सम्भव छैन । मुलुकको उत्पादन क्षमता सुधार गरी निर्यातलाई विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोतको रुपमा स्थापित नगरुन्जेल हालको स्थिर विनिमय दर पद्दतिलाई परिवर्तन गरिहाल्ने स्थिति छैन ।

सिद्धराज भट्टको पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?