मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ गरिने

RSS
0
Shares

रौतहट । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना गरिने भएको छ ।

नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताए ।

सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिने छ ।

फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ । सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ लगायत लोकप्रिय नेपाली एवम् भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गरेकी थिइन् ।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार २०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दैआएको छ ।

नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभुु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो । देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?