‘डिजिटल नमोबुद्ध’ अभियान : कृषि सम्बन्धी जानकारी दिन मोबाइल एप

RSS
0
Shares

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् ।

नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमूलक बनाउन सक्ने भएका हुन् ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले प्राप्त सेवालाई ११ वटै वडाका लागि सेवा हस्तान्तरण गरेका छन् । उनका अनुसार यो सेवा शुरु भएसँगै ‘डिजिटल नमोबुद्ध’ अभियान नै एक कदम अघिबढेको छ ।

सो सेवाबाट नमोबुद्धका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फत नै जानकारी पाउनेछन् भने दैनिकरुपमा बजारभाउको जानकारी पनि दिन सक्नेछन् । यस्तै बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्न रोग कीरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै किसानले जानकारी पाउनेछन् ।

“किसानलाई मोबाइल एपमै विज्ञबाट सेवा उपलव्ध गराइनेछ”, नगरप्रमुख तिमल्सिनाले भने । एपमा किसानदेखि प्राविधिक र बजारसम्म समेटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादिप तण्डुकारले जानकारी दिए । उनका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् ।

“बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ”, तण्डुकारले भने । उनका अनुसार यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्ति दिलाउनेछ । इसिमोडकी इकोसिष्टम एनालिष्ट इरिका उदासले किसानले यो एप प्रयोग गर्दा धेरै खर्च बेहोर्नु नपर्ने बताए ।

उनले भने, “एक सय रुपैयाँ खर्च गर्दा वर्षभरि एप चलाउन सकिनेछ ।” उनका अनुसार किसानलाई सहज र सुलभ होस् भन्ने उद्देश्यले एपलाई ‘अफलाइन’ मै चल्नसक्ने व्यवस्था गरिएको छ । सूचनामा किसानको पहुँच आवश्यक रहेको कुरालाई मध्यजनर गर्दै आफूहरुले जिओ कृषिको अवधारणा ल्याएको उदासले बताए ।

इसिमोड र सिप्रेडले पाथवेसँगको सहकार्यमा नगरपालिकामा पहिलो पटक यो सेवा शुरु गरिएको हो । एपको सेवाबाट राम्रो मूल्यमा किसानले आफ्ना उत्पादन बिक्रीवितरण गर्नसक्ने अपेक्षा गरिएको छ । नगरप्रमुख तिमल्सिनाले आफूहरु निर्वाचित भएपछि डिजिटल नमोबुद्धको अवधारणा अघि सारिएको र अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको बताए ।

नगरमा यसअघि नै शिक्षा क्षेत्रमा यु लर्निङ, टकिङ टिचरलगायतका कार्यक्रममार्फत डिजिटल नमोबुद्धको अवधारणालाई अघि बढाइएको थियो । कृषि र वातावरणमैत्री नगर बनाउने आफूहरुको अभियान रहेको र वातावरणमैत्री नगरको योजनालाई विभिन्न कार्यक्रममार्फत मूर्तरुप दिइएको तिमल्सिनाले जनाए । उनले जिओ कृषि एपमार्फत किसानले बढीभन्दा बढी फाइदा लिनसक्ने र नगरले यसको सञ्चालन तथा व्यवस्थापनमा विशेष ध्यान दिनेसमेत बताए ।

यो एप परीक्षणकै क्रममा नमोबुद्ध नगरका ३६५ किसान आवद्ध भइसकेका छन् । “वडास्तरबाटै क्रमैसँग थप किसानलाई आबद्ध गर्दै लगिनेछ”, नगरपालिकाका प्रवक्ता सञ्जीव ढकालले भने । उनका अनुसार यसप्रति किसानको आकर्षण बढिरहेको छ । एपमा नमोबुद्ध नगर क्षेत्रभित्र लगाइने २० बालीलाई प्राथमिकताका साथ राखिएको छ भने अन्य बालीलाई पनि समेट्दै लगिने जनाइएको छ ।

परीक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका स्थानीय अगुवा किसान भरत न्यौपानेले आफूहरुका लागि एप निकै उपयोगी र आवश्यक रहेको बताए । उनले एपमार्फत नै आफूहरुलाई कृषि उत्पादनका लागि आवश्यक जानकारी पाउनुका साथै उत्पादित कृषि उपजको बजारको खोजी गर्न सहज भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?