म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु, राष्ट्र संघद्वारा घटनाको निन्दा

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’को विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा आइतवार कम्तीमा १८ जनाको ज्यान गएको छ । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा अन्य दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । यस घटनलाई सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका क्रममा भएको बल प्रयोगलाई संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले अहिलेसम्मकै घातक भनेको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ मा सैन्य ‘कू’ पछि ठूलो सङ्ख्यामा शान्तिपूर्ण विरोध प्रदर्शनको हप्तौँपछि सुरक्षा बलले शनिवारदेखि हिंसात्मक कारबाही सुरु गरेको हो । सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।

आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाउँदै मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार प्रदर्शन सुरु भएयता ८५० भन्दा बढी मानिस पक्राउ परेका छन् । यो हप्ता पनि थप सयौँ गिरफ्तार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?