टिकटक स्टारको मृत्यु प्रकरण: महाराष्ट्रका मन्त्रीद्वारा राजीनामा

काठमाडौँ– भारतको पुणेमा एक युवती मृत्यु घटनामा नाम जोडिएपछि महाराष्ट्र राज्यका वनमन्त्री सञ्जय राठौडले आइतवार राजीनामा दिएका छन्।  पुणेकी टिकटक स्टार पूजा चव्हानले आत्महत्या गरेको घटनामा आफूलाई दोष लगाइएपछि मन्त्री राठौडले पदबाट राजीनामा दिएका हुन्।

शिव सेना पार्टीका उनले आइतबार नै मुख्यमन्त्री उद्धव ठाकरेसँगको छलफल गरेका थिए । राजीनामा दिएपछि पत्रकारसँग कुरा गर्दै मन्त्री राथोडले विपक्षी भारतीय जनता पार्टीले आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजेको आरोप लगाए । उनले घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन् ।

यही फेब्रुअरी ८ तारिख पुणेको हडपसर इलाकास्थित एक भवनबाट २३ वर्षीया चव्हानले हामफालेर आत्महत्या गरेकी थिइन्।  भाजपाका नेता चित्रा वाघले आत्महत्या गर्ने दिन मन्त्री राठौडले पूजा चव्हानलाई ४५ पटक फोन गरेको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?