अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा

काठमाडौं । आउँदो चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने समाजका अध्यक्ष डा. चेतराज भट्टले जानकारी दिए ।

गणित विषयका २३ वटा विधा समेटिएको सम्मेलनमा तथा पाँचवटा कार्यपत्र र २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ ।

गणितको महत्त्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताउँदै समाजका अध्यक्ष भट्टले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको महत्त्व बुझाउन सम्मेलनले भूमिका खेल्ने उल्लेख गरे ।

सम्मेलनमा नेपाली गणितज्ञले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन् । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?