२०७७, १४ फाल्गुन शुक्रवार १४:५२

ओछ्यानबाटै बेपत्ता दम्पतीको अझै लागेन पत्तो : के भन्छ प्रहरी ?


प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रवार १४:५२

महोत्तरी । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमवार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

बुढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछ्यान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मंगलवार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ । प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् ।

उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस