२०७७, १४ फाल्गुन शुक्रवार १४:२५

काठमाडौंमा फेरि बर्डफ्लूः नआत्तिन भन्दै पशुसेवा विभागले गर्‍यो यस्तो अनुरोध


प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रवार १४:२५

काठमाडौं । काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । यही फागुन १३ गते बिहीवार साङ्लास्थित पाँच वटा व्यावसायिक फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

बर्डफ्लू पुष्टि भएसँगै सो स्थान र वरपरका लेयर्स, बोइलर र लोकल गरेर १५ हजार ३५७ कुखुरा, चल्ला लगायत घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु जस्तै अण्डा, दाना आदि नष्ट गरिएको छ ।

त्यस्तै फार्म वरपर स्वास्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन, अस्वभाविक रुपमा पन्छी बिरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न विभागले किसान एवम् व्यवसायीलाई आग्रह गरेको छ ।

झण्डै एक महिनाअघि तारकेश्वर नगरपालिका–१ मै बर्डफ्लू भेटिएको थियो । तर, हाँसमा मात्रै । त्यसवेला पनि संक्रमण भेटिएको क्षेत्रका करिब २३ सय घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु नष्ट गरिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको थियो । विज्ञप्तिमा रोग देखिएको क्षेत्रलाई पूर्णरुपमा ‘निसंक्रमण’ पारेर रोग नियन्त्रणमा लिएको जनाइएतापनि त्यसो नभएको कुरा हालै बर्डफ्लू पुष्टि हुनुले जनाएको छ ।

हरेक चोटी बर्डफ्लूको संक्रमण भेटिएपछि प्राय एउटै प्रश्न उठ्ने गर्दछ । कुखुरा वा पन्छीजन्य मासु खाने कि नखाने ?

चिकित्सकले बर्डफ्लूबाट संक्रमित पन्छीको मासु निर्धक्क खान मिल्ने बताएका छन् । तर, राम्ररी पकाएर मात्र । चिकित्सक भन्छन्, ‘बर्ड फ्लू लाग्दा मासु खान डराउनु पर्दैन ।’ अहिलेसम्म मासु खाएर यस रोगको संक्रमण भएको पुष्टि नभएकाले पनि कुखुरा अथवा पन्छीहरुको मासु खाँदा रोगको जोखिम नभएको चिकित्सकहरु सुझाउँछन् ।

विश्व स्वास्थ्य संगठनले पनि राम्रोसँग पकाएर खाँदा बर्डफ्लू भाइरस नष्ट हुने हुँदा कुखुरा वा अन्य पशुपन्छीको मासु खानु सुरक्षित भएको बताएको छ ।

मासु कसरी पकाउने ?

चिकित्सकहरु कुखुरा तथा अन्य पन्छीको मासु खान सुझाउँछन् तर, राम्रोसँग पकाएर मात्र । उनीहरुका अनुसार निम्नानुसारका विधि अपनाएर पकाएको मासु सुरक्षित हुन्छः

पकाउनुअघि सफा पानीले राम्रोसँग पखाल्ने

पकाउनु भन्दा अगाडि उमालियो भने अझै बेस हुन्छ

७० डिग्री सेल्सियस भन्दामाथिको तापक्रममा मासुजन्य परिकार पकाउने

पकाउँदै गर्दा मासुको भित्र जाँचिरहने, रातो देखिनु हुँदैन

मासु पोल्दा सानो आगोमा धेरै बेर लगाएर राम्ररी भित्रैसम्म पकाउने

बर्ड फ्लूको जोखिम रहँदा हाफ बोइल्ड अण्डा नखाने बरु राम्ररी पकाएर वा उमालेर खाने

कहाँ चुक्यो नेपाल ?

छिमेकी राष्ट भारतमा बर्डफ्लूको आतंकले मच्चाएको भयावह अवस्थाबारे अपडेट रहेको नेपाल आफ्नो देशलाई बर्ड फ्लूबाट जोगाउन कहाँ र कसरी चुक्यो ? नेपालले सुरक्षा तयारी गरेको थिएन ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेका अनुसार भारतमा बर्ड फ्लू भयावह हुन थालेपछि मन्त्रालयले सीमा जोडिएका जिल्लाहरुमा सावधानी अपनाउन निर्देशन जारी गरिएको थियो ।

मन्त्रालयले भारतसँग जोडिएको प्रदेश २ का आठवटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा सुरक्षा सतर्कता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरेको थियो । साथै स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि थप जनशक्ति तथा मेशिनरी सामाग्र आवश्यक परेमा जानकारी गराउन समेत मन्त्रालयले निर्देशन दिएको डा.घिमिरेले लोकपथसँग बताए ।

बर्डफ्लू भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्न भनेर परिपत्र गरिएको थियो ।

प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक लगाउन भनी निर्देशनसमेत दिइएको थियो ।

यसका बावजुत एक महिनाअघि तारकेश्वरमा बर्डफ्लू पुष्टि भएपछि कृषि तथा पशुपन्छी मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै निम्नानुसारका नियमहरु पालना गर्न अपिल गरेको थियोः

– पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्न गराउन हुन

– फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न÷गराउन हुन

– सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनु हुन

– कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिनु हुन ।

यद्यपि नेपालमा बर्डफ्लू पुष्टि भएपछि मन्त्रालयले जारी गरेको निर्देशन अनुरुप फिल्डमा कडाईका साथ पालना नगरिएको सरोकारवालाको ठम्याइ छ । बर्ड फ्लू फैलिएको खबरपछि भारतभर कुखुराको मूल्य सस्तो भएको मौका छोपी व्यापारीहरुले खुल्ला सीमाको फाइदा उठाएको हो कि भन्ने लख स्वभाविक हो ।

व्यापारीहरूले भारतबाट कम मूल्यमा कुखुरा ल्याएर नेपाली बजारमा महंगो मूल्यमा बेच्ने दुष्कर्म गरेका कारण नेपालमा रोग भित्रिएको हुनसक्ने अनुमान गरिएको छ ।

नेपालमा बर्डफ्लूको संक्षिप्त इतिहास

नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लू देखिएको थियो । त्यसपछि हरेक वर्षजसो अथवा केही वर्षको अन्तरालमा बर्डफ्लू देखिइरहन्छ नेपालमा पनि ।

यसले सबैभन्दा ठूलो क्षति चाहिँ सन् २०१३ मा पु(याएको थियो । त्यसवेला काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलाली गरी नेपालका २ सय १ वटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।

त्यसैगरी, बर्डफ्लूकै कारण नेपालमा पहिलोपटक मानिसको ज्यान गएको घटना भने वि.सं २०७५ साल चैत १५ गते भएको थियो । ज्वरो र खोेकीको लक्षण देखिएपछि अस्पताल पुगेका २१ वर्षीय युवामा पछि श्वासप्रश्वासको समस्या पनि देखिएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो । के कारणले मृत्यु भएको भनेर खुट्याउन नसकेपछि परीक्षणका लागि उनको -याल जापानको प्रयोगशालासम्म पु-याइएको थियो । वि.सं २०७६ साल वैशाख १७ गते बल्ल नमूना परीक्षणको नतिजा आइपुगेको थियो जसमा उनी बर्डफ्लू संक्रमित रहेको पुष्टि भएको थियो ।

सोही वर्ष काठमाडौंको तारकेश्वर र टोखा नगरपालिकामा २५ हजार भन्दा बढी कुखुराको बर्ड फ्लूका कारण मृत्यु भएको थियो ।

के हो बर्डफ्लू ?

इन्फ्लूएन्जा भाइरसको कारण चराहरुमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक संक्रामक महामारी हो बर्ड फ्लू । इन्फ्लुएन्जा भाइरसका तीन समूह हुन्छन् जसमध्ये समूह ‘ए’मा पर्ने भाइरसको संक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।

जंगली चराहरु त्यसमा पनि विशेषगरी सीमसारतिर बस्ने चराहरुमा यो भाइरस पाइन्छ । यसको संक्रमण भने सबै प्रजातिका चराहरुलाई हुने गर्छ । जंगली चराहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले यस भाइरसले घर पालुवा पक्षीजस्तो तिनीहरुलाई थला पार्न सक्दैन । त्यस्ता चराहरुमध्ये पनि विशेष गरेर जंगली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ ।

यस भाइरसको संक्रमणले कुखुरा, टर्की, हाँस जस्ता घरपालुवा चराहरुलाई भने निकै असर पु¥याउँछ । जसको परिणामस्वरुप घरपालुवा चराहरुमा छिट्टै नै यसको संक्रमणले महामारीको रुप लिन पुग्छ ।

प्रतिक्रिया दिनुहोस