अन्तरिक्षमा अंगुर फलाउने प्रयासमा वैज्ञानिक

एजेन्सी । फ्रान्सको एक स्टार्टअप कम्पनीले अन्तरिक्षमा अंगुर उमारेको छ । पछिल्लो केही वर्षदेखि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा खाद्यन्न उत्पादन वैज्ञानिक अनुसन्धानको एउटा महत्वपूर्ण विषय बन्दै गइरहेको छ । सोहि क्रममा स्पेस कार्गो अनलिमिटेडले अन्तरिक्षमा अंगुरको विरुवा उमारेको हो ।

गत जनवरी १३ मा अन्तरिक्षमा तयार गरिएका तिनै विरुवाहरुको स्टिम सेल, कोशिका तथा माटोभित्र राखिएका केही विरुवाहरुलाई लिएर स्पेस एक्सको कार्गो ड्रागन स्पेस क्राफ्ट फ्लोरीडा नजिकै अट्लान्टिक महासागरमा अवतरण गरेको छ ।

कतिपयले यस कम्पनीको कदमलाई पीआर स्टन्टको नाम समेत दिएका छन् । यसबीच नासाको तरकारी उत्पादन प्रणालीमा चिनियाँ बन्दागोभी र रेड रसियन केल सफलतापूर्वक उत्पादन भइसकेका छन् । आगामी दशकसम्ममा नासाको अन्तरिक्ष मिसनमा जाने अन्तरिक्ष यात्रीहरुलाई लक्षित गरी नासाले खाद्यसम्बन्धि यस्ता अभियान चलाउँदै आएको छ ।

पृथ्वीमा अहिले पाइने अंगुर आइएसएसको माइक्रोग्राभिटी र उच्च तहको रेडियसन भएको प्रतिकूल क्षेत्रमा लगेर उमार्ने उद्देश्यले स्पेस कार्गो अनलिमिटेडले यस्तो कार्यक्रम चलाएको हो । यसले त्यहाँ अंगुरको नस्ल उद्विकास भएर आफूभित्र प्रतिकूलताको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्न सक्ने वैज्ञानिकहरुको बुझाई छ । भविष्यमा मौसम परिवर्तनका कारण पृथ्वीमा देखापर्ने सबै किसिमको प्रतिकूल वातावरण तथा भूगोलमा पनि यी अंगुरहरु बाँचेर राम्रो उत्पादन गर्न सकुन् भन्ने कम्पनीको उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?