कांग्रेसले तत्काल कसैसँग सहकार्य नगर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल कसैसँग सहकार्य नगर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा विहीवार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो ।

“अहिलेसम्म कानुनीरुपमा नेपाल कम्युनिष्ट पार्टी एउटै छ र त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै छन्,” कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भने, “त्यसैले कुन नेकपासँग सहकार्य गर्ने, सरकारमा जाने कि नजाने जस्तो विषयमा हामी छलफलमै प्रवेश गरेका छैनौँ ।”

प्रतिनिधिसभा बैठक शुरु भएपछि जसरी राजनीतिक घटनाक्रम विकसित हुन्छ सोही अनुरुप निर्णय गर्ने  उनले बताए । उनले भने,‘ संसद बैठक शुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गर्छ । अहिले यो समूह वा अर्को समूहलाई समर्थन गर्छु भन्ने बेला भएको छैन ।’

संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?