फेरि पश्चिमी वायु सक्रिय, मौसम बदली हुने

काठमाडौं । नेपालमा फेरि पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।

अहिले केही पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?