राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक लगाउँदै इरान

एजेन्सी । इरानले आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्ने भएको छ । इरानले संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका निरीक्षणकर्ताहरूलाई छोटो सूचनामा नै परमाणु केन्द्रहरूको अनुगमन गर्नका लागि दिएको अधिकार निलम्बन गर्न लागेको हो ।

त्यसका लागि उसले मंगलवार त्यससम्बन्धि संशोधित कानुनलाई संसदबाट पास गराउने तयारी गरेको बीबीसीले जनाएको छ । उक्त नीति परिवर्तन भएपछि इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए)का निरीक्षणकर्ताहरूले इरानको परमाणु केन्द्रहरूको आकस्मिक निरीक्षण गर्न पाउने छैनन्। यद्यपी आगामी तीन महिनाका लागि भने उनीहरुले परमाणु केन्द्रको निगरानी गर्न सक्नेछन् ।

सन् २०१५ मा भएको परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले पछिल्लो कदम चालेको हो।

इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ भने अमेरिकी राष्ट्रपति बाइडन पहिले इरानले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने अडानमा छन् ।

सन् २००६ मा आकस्मिक अनुगमनको व्यवस्थालाई निलम्बन गरेको इरानले सन् २०१५ को सम्झौता अनुसार पुन: यस्तो अनुगमन गर्न दिन सहमत भएको थियो। ट्रम्प प्रशासनले इरानमाथि पुनस् प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौताअनुसार रोकेको आफ्नो परमाणु कार्यक्रम फेरि शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?