प्रहरी हिरासतमै एक जनाको मृत्यु

काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वली रहेका छन् ।

बिरामी परेपछि वलीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । उनको उपचारको क्रममा आइतवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि हिजो शनिवार उनी पक्राउ परेका थिए ।

वली कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनकी जेठी भने श्रीमती रोल्पामै छिन् ।

प्रहरीका अनुसार अत्याधिक मदिरा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्थामा रहेकाले प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । वलीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?