म्यानमारमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

एजेन्सी । म्यानमारमा सैनिक ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिवार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली लागेका एक जनाको घटनास्थलमै र अर्का व्यक्तिको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचारमा जनाइएको छ । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस, रबरको गोली र पानीका फोहोराले हानेको जनाइएको छ । सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी नेतृ आङ साङ सूचीसहितका नेताहरुलाई नजरबन्दमा राखेपछि म्यानमारमा त्यसको विरोधमा चर्किएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?