पहिलो पटक कुखुराबाट मानिसमा बर्ड फ्लु (H5N8) संक्रमण

एजेन्सी । विश्वमा पहिलो पटक कुखुराबाट मानिसमा बर्ड फ्लु (H5N8) संक्रमण भएको पाइएको छ । रुसको एक पोल्ट्री फार्ममा कुखुराबाट मानिसमा पहिलो पटक बर्डफ्लु सरेको पाइएको हो । बर्ड फ्लुको अन्य प्रकार मानिसहरूमा संक्रमण भएर मृत्यु समेत भएको पाइए पनि H5N8 प्रकारको बर्ड फ्लुको मानिसमा संक्रमण भएको यो पहिलो घटना हो।

गत डिसेम्बरमा रुसको दक्षिण क्षेत्रमा रहेको उक्त पोल्ट्री फार्ममा काम गर्ने सात जना कामदारमा बर्ड फ्लु पुष्टि भएको रुसको उपभोक्तको स्वास्थ्य हितमा काम गर्ने अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ

अहिले ती सातै जना कामदार निको हुने क्रममा रहेका छन्, रुसको कन्ज्युमर हेल्थ वाचडगकी प्रमुख अन्ना पोपोभाले बताएकी छिन्। उनका अनुसार उक्त बर्ड फ्लु मानिसबाट मानिसमा सर्ने सम्भावना भने देखिएको छैन । उनले उक्त घटनाको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई गराईसकेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?