म्यानमार : गोली लागेर घाइते भएकी एक आन्दोलनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा झन्डै एक साताअघि गोली लागेर घाइते भएकी एक आन्दोलनकारीको शुुक्रवार निधन भएको छ । म्या थवी थवी खाइङ नामकी यी युवतीलाई गत साता २० औं जन्मदिन प्रवेश गर्नुुभन्दा दुुई दिनअघि टाउकोमा गोली लागेको थियो । त्यसयता उनी गम्भीर अवस्थामा थिइन् ।

म्यान्मारमा आङ सान सूकीलाई नजरबन्द गर्दै उनको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले राज्यसत्ता हातमा लिएपछि अस्थिरता निम्तिएको छ । त्यसयता देशमा निरन्तर आन्दोलन चलिरहेको छ । ९ फेबु्रअरीमा भएको आन्दोलनका क्रममा खाइङलाई गोली लागेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई तितर–बितर पार्ने क्रममा पहिले पानीको फोहोरा, त्यसपछि रबर बुलेट र अन्त्यमा गोली नै चलाएको थियो ।

खाइङलाई गोली लागेपछि प्रदर्शनकारीहरु स्तब्ध र आक्रोशित बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको मृत्युसँगै सैन्य अधिकारीहरुप्रति जनताको आक्रोश अझै बढेको छ । ‘म यस प्रणालीबाट हामी मुक्त नभएसम्म आन्दोलन गर्नका लागि सबै नागरिकहरुलाई अपिल गर्दछु,’ खाइङकी दिदी म्याथ था टोइ नुुईले पत्रकारहरुसँग भनेकी छिन्,‘मैले भन्न चाहेको यत्ति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?