क्यानडा, मेक्सिको र अमेरिकाले २१ मार्चसम्मका लागि प्रतिबन्ध लम्ब्याए

काठमाडौं । कोरोना खोप कार्यक्रम शुुरु भएपनि विश्वका धेरै देशमा अहिले पनि बिरामीहरुको संख्या बढिरहकै छ । यसैलाई मध्यनजर गर्दै क्यानडा, मेक्सिको र अमेरिकाले २१ मार्चसम्म कडाई लम्ब्याएका छन् । जसअनुसार यहाँका मानिसहरुले अत्यावश्यकबाहेकका काममा यात्रा गर्न पाउने छैनन् ।

मानिसहरुले यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । २१ फेब्रुअरीसम्मका लागि गरिएको यस्तो कडाईलाई अर्को एक महिनासम्मका लागि लम्ब्याईएको हो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाईसम्म हरेक अमेरिकीलाई खोप लगाइने जानकारी दिएका छन् । सरकार यसका लागि पूर्ण रुपमा तयार रहेको उनले बताए । खोप कम्पनी फाइजरले प्रत्येक साता अमेरिकीहरुलाई एक करोड खोप लगाइने जानकारी दिएको छ ।

अमेरिकामा अहिलेसम्म ५ करोड ७० लाखभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको छ ।

त्यसैगरी चीनमा ४ करोड मानिसहरुले खोप लगाइसकेका छन् । युरोपेली युनियनअन्तर्गतका देशहरुमा अहिलेसम्म २ करोड ४५ लाख र भारतमा १ करोड ४ लाखले खोप लगाइसकेका छन् ।

विश्वमा अहिलेसम्म ११ करोड १२ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ६१ लाख मानिस निको भइसकेका छन् भने २४ लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?