बाँसबारीबाट गायत्री परिवारलाई हटाउन खोजेकामा हिन्दू महासंघको आपत्ति

RSS
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको संकल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव गणेशप्रसाद नेउपानेले मंगलवार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते गायत्री परिवारलाई पत्र लेखी स्थान खाली गर्न भनेको प्रति आपत्ति जनाएका हुन् । पन्ध्र वर्षअघिदेखि स्थानीय सरकारको सहमति र स्थानीय समाजको सहभागितामा बाँसबारीमा खाली रहेको सार्वजनिक जग्गा सफाइ गरी दिव्यधामको परिकल्पना गरेर सामान्य पवित्र कुटी निर्माण गरी नित्य जप, ध्यान, भजनकीर्तन, अखण्ड दीप प्रज्वलन र नित्य पूजन तथा हवन गरी ठूलो जनसमुदाय लाभान्वित भएको महासंघले जनाएको छ ।

राष्ट्र शान्ति, समृद्धि तथा विश्व शान्तिको कामनाले गायत्री परिवारले आध्यात्मिक अभियान चलाउँदै आएको छ । विगतमा वडा कार्यालयले गायत्री परिवारका गतिविधिको निरीक्षण गरी सहयोग गर्ने, सिफारिस गर्ने लगायतसमेत गर्दै आएको महासचिव नेउपानेले बताए । मन्त्रहरुको पनि मूल गायत्री मन्त्र उत्पत्ति भएको नेपाललाई विश्वमै चिनाउने उद्देश्यले काम गरिरहेका बेला वडा कार्यालयले गरेको हस्तक्षेप बन्द गर्न महासंघले सरकारसँग माग गरेको छ । नेपाललाई गुरु राष्ट्र बनाउने अभियानमा रहेको संस्थामाथिको हस्तक्षेप समग्र देशप्रतिकै आक्रमण भएकाले यसविरुद्ध एक हुन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

देशको गौरव बढाउन काम गरिरहेको संस्थालाई साथ र सहयोग दिनुको सट्टा उखेल्ने र लखेट्ने उद्देश्यले स्थानीय सरकार लागिपरे महासंघलगायत देशभर छरिएर रहेका ९४ प्रतिशत ओमकार परिवार आन्दोलनमा उत्रन बाध्य हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?