मानव बेचबिखन प्रभावितहरुको वाग्मती प्रदेश स्तरीय संजाल गठन

काठमाडौं । मानव बेचबिखन प्रभावितहरुको वाग्मती प्रदेश स्तरीय संजाल गठन भएको छ। काठमाडौं बानेश्वरको सिद्दार्थ फुड ल्याण्डमा आयोजना गरिएको मानव बेचबिखन प्रभावितहरुको भेलाले कुलमाया छुमी अध्यक्ष र शान्ति लामा सचिव रहेको प्रदेश स्तरीय संजाल गठन गरेको हो।

करिब ४ दशक देखि मानव बेचबिखन र प्रभावितहरुको क्षेत्रमा सक्रिय रहँदै आएकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको भेलामा मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांग ,अभिमुखीकरण कार्यक्रमकी श्रोत व्यक्ति सिर्जना काफ्ले ,शक्ति समुहकी कार्यकारी निर्देशक बालमाया गुरुङलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले शक्ति समूह र संजालले आगामी दिनमा बेचबिखनमा परेका र प्रभावितहरुका लागि एक राष्ट्रिय नीति तयार गर्न वकातल र दबाब दिनुपर्ने बताउँदै यसका लागि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।

हालसम्म सुदूरपश्चिम ,वाग्मती र लुम्बिनी प्रदेश स्तरीय संजाल गठन गरेको मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय संजालले आगामी दिनमा अन्य प्रदेशमा पनि संजाल गठनको तयारी गरिएको राष्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांगले जानकारी दिइन्।

पर्पल फाउन्डेसनको ऐक्यवद्धतामा भएको संजाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रदेश स्तरीय संजाल गठन र परिचालन मार्फत मानव बेचबिखनको सवाललाई राष्ट्रिय मुद्दाको रुपमा उठान गर्ने जानकारी दिइएको थियो।

राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन सम्बन्धि राष्ट्रिय प्रतिवेदनमा सन् २०१९ मा लगभग १.५ लाख व्यक्तिहरु जोखिममा रहेको जानकारी दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?