समृद्धितिर लम्कँदै चामुण्डा विन्द्रासैनी

RSS
0
Shares

पुरुषोत्तम थापा/ दैलेख । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका पछिल्लो समय समृद्धितिर लम्किएको छ ।

स्थानीय, प्रदेश र सङ्घ गरी तिन वटै तहमा ठूलठूला नेता तथा कार्यकर्ताको बाहुल्यता रहेको चामुण्डा विन्द्रासैनीमा पछिल्लो समय सडक, सञ्चार, विद्युत्लगायत आवश्यक पूर्वधार निर्माण भएपछि दिगो विकास र समृद्धिको बाटोमा लम्किएको हो ।

देशमा सङ्घीयतासँगै सिंहदरबार गाउँमा आएपछि नगरवासीले बल्लतल्ल विकासको मुख देख्न पाएका छन् । विकास भन्ने बित्तिकै मुख मिठ्याउने जनता आफ्नो विकास आफैँ गर्न थालेपछि एकातिर गाउँमा विकास भएको छ भने अर्कोतिर रोजगारीका अवसर प्राप्त गरेका छन् । भारतको मुग्लान, कालापहाड र खाडीमुलुकमा जाने युवाको सङ्ख्यामा कमी आएको छ ।

जिल्लाका ११ वटै स्थानीय सरकारको तुलनामा विकास निर्माणले चामुण्डा विन्द्रासैनी नगरपालिका अग्रस्थानमा छ । सक्षम र जनप्रिय नेतृत्वले गर्दा आमनागरिकले सुविधा पाएको नगरवासीको भनाइ छ तर विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा चामुण्डाविन्द्रासैनी नगरपालिकाले सावधानी अपनाउँदै विकास निर्माणका कामलाई पूर्णविराम लगाएन । कामले निरन्तरता पाई रह्यो । नगरपालिकामा कोरोना महामारीले त्यति प्रभाव परेन । कोरोनाको कारणले कुनै अप्रिय घटना पनि भएको छैन ।

कोरोनासँग सावधानी अपनाउँदै बच्नका लागि नगरपालिकाले २०७६ चैत महिनादेखि नै स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, सुरक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा नगरका जनप्रतिनिधिका बीचमा बृहत् अन्तक्र्रिया गरी कार्ययोजना बनाउँदा जोखिम हटेको नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकामा ५० स्वयंसेवक परिचालन गरि स्वास्थ्य सामग्री वितरण तथा जनचेतना जगाउन घरदैलो अभियान थाल्यो । “जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलाई जिम्मेवारी तोकेर परिचालन गरिँदा कोरोनाबाट जनताले सतर्कता अपनाएका छन्”, उनले भने, “हामीले नगरवासीलाई व्यवस्थित ढङ्गले एलोपेथिक र आयुर्वेदिक औषधिको प्रयोग सँगसँगै योगा र खानपानलाई विशेष ध्यान दिन लगायौँ, हामी र हाम्रा नगरवासी सुरक्षित भयौँ ।”

आऔँ, खाऔँ र लिएर जाऔँ

आर्थिक वर्ष ०७६-०७७ मा नगरपालिकाले २२ हजार मेललाई कलमी लगाएर नासपाती बनाएको छ । सार्वजनिक जग्गा अधिकरण गरेका व्यक्तिलाई हटाएर २९ प्रतिशत जङ्गललाई ४२ प्रतिशत पुर्‍याएको छ । चालु आ.वमा आठ हजार चिउरीका बोट वृक्षरोपण गरेको छ । जङ्गललाई हराभरा बनाउन नगरपालिकाले आफ्नै नर्सरी बनाएको छ ।

नगरपालिकाले एक हजार ८०० वरपिपल रोप्ने नीतिलाई कार्यान्वयन गर्न एक हजार ५०० बरपिपलका बोट वृक्षरोपण गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले ‘आउँ, खाउँ र लिएर जाउँ’ वृक्षरोपणसँगै अगाडि बढाएको छ । वृक्षरोपणमा विभिन्न जातका फलफूल रोपिएको छ । ती फलफूलबाट जाम, जेरी, जुस बनाएर बिक्री गरी आर्यआर्जन गर्ने योजना रहेको छ । राष्ट्रियस्तरमै चर्चा गर्न लायक काम गरेर हामीले वन तथा वातावरण प्रवर्द्धनमा जुटेको नगरप्रमुख शाहीको भनाइ छ ।

प्रत्येक वडामा शहरी स्वास्थ्य क्लिनिकमार्फत् कर्मचारी व्यवस्थापन गरेर ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती महिला, नवजात शिशुलाई घरदैलोमा स्वास्थ्य परीक्षण तथा परामर्श दिने काम नगरपालिकाले गरिरहेको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले घरआँगनमा जडीबुटी लगाउने अभियानसमेत सञ्चालन गरिएको वडा नं ८ का वडाध्यक्ष वीरबहादुर शाहीले बताए । उनले भने, “हामी जनप्रतिनिधिले नगरपालिकाको सभाले निर्णय गरेको कामको कार्यान्वयनअन्तर्गत घर आँगनमा जडीबुटी रोपेका छौँ ।”

प्रतिबद्धता कार्यान्वयन गरिँदै

चुनावताका वेला जनतालाई आश्वासन दिएको प्रतिबद्धताअनुसार नै नगरपालिकामा काम शुरु गरिएको नगरप्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकाले वडा कार्यालय र माध्यमिक तहका विद्यालयलाई सडक सञ्जालसँग जोडेको छ । चामुण्डा माध्यमिक विद्यालयलाई नमूना माध्यमिक विद्यालय घोषणा गरिएको छ भने चामुण्डा नमूना माध्यमिक विद्यालयमा तीन वर्षे बाली विज्ञान पढाइ शुरु गरिएको छ । शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशमै नमूनायोग्य कार्य भइरहेको छ । पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरी प्रकाशन गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेशमै पहिलोपटक विद्यालयमा बाल शिक्षा व्यवस्थित गर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका नै हो ।

तत्कालीन चुनावताका घोषणा पत्रानुसार वडा नं १ को पुनडाँडा, भोटेको चौतारामा बसपार्क र साँङ्घेतडादेखि पाल्तसम्मको सडकलाई नगरको रणनीतिक महत्वको रुपमा लिएकाले काम तीव्र गतिमा निर्माण भइरहेको छ । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले झण्डै एक किलोमिटर सडक कालोपत्र गरेको छ । “नगरपालिकामा शान्ति सुरक्षाको अवस्था अहिलेजस्तो छ, त्यस्तो विगतमा थिएन । मदिरा सेवन गरेर र गुण्डागर्दी गर्नेको बिगबिगी थियो, त्यो अहिले शून्य अवस्थामा झरेको छ । मानिसले शान्तसँग हिँडडुल गर्न र आफ्नो दैनिक कामधन्दा गर्न पाएका छन्, नगरप्रमुख शाहीले भने ।

३२ लाख २८ हजार १९० रकमको लगानीमा नगरपालिका प्रहरीचौकीको पक्की भवन बनाएको छ । भवनमा कार्यालय, ब्यारेक र मेश प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था छ । जिल्लाकै अधिकांश प्रहरीचौकी भाडामै छन् तर नगरपालिकाले स्थानीय सरकारको लगानीमा पहिलोपटक प्रहरीचौकीको पक्की भवन निर्माण गरी प्रहरीचौकीलाई हस्तान्तरण गरिसकेको छ । इन्टरलट इँटा, कुखुराको दाना उद्योग नगरपालिकामा सञ्चालन छन् भने नगरपालिकाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दूधसमेत निर्यात हुने गरेको छ ।

प्रदेशकै ठूूलो नगरोद्यान निर्माण

कर्णाली प्रदेशकै सबैभन्दा ठूलो नगर पार्क निर्माण चामुण्डाविन्द्रासैनीमा निर्माणाधिन छन् । दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कको तीन किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । पार्कको वरिपरि केतुकी, भित्री भागमा कुइयाँसी, गुलाब रोपिएको छ । पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने लागेको नगर प्रमुख शाहीले बताए । उनले भने, “सांस्कृतिक आस्थालाई पनि पर्यटक भित्र्याउने उद्देश्यले एक हजार ५२० किलोग्रामको घण्ट र स्थानीय कालीगढबाट नौ फिट अग्ला तरबार बनाइएका छौँ, चालु आ.वमा सङ्ग्रहालय बनाउने काम सम्पन्न लागि लागिपरेका छौँ ।”

त्यसैगरि १५ श्ययाको अस्पताल स्वीकृत भई भर्खरै एक करोडको बोलपत्र आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा १५ श्ययाको अस्पतालको घोषणा गरेका थियौँ त्यो पूरा भएको छ । हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठूलो लिफ्ट खानेपानी आयोजना शुरु गरिएको छ । सो आयोजनामा केही दिन अगाडि नगरपालिकाले खरिद ऐनविपरीत गई आफन्तलाई ठेक्कापट्टा दिएको आरोपसमेत नगरपालिकाले खेप्नुपरेको छ ।

राम्रोलाई राम्रो भन्न नसक्ने मनोविज्ञान

चालु आ.वमा नगरपालिकामा भौतिक पूर्वाधारमा १०-१२ करोड बजेट विनियोजन गरेको छ । “कोल्ड स्टोर बनाउनका लागि १४-१५ करोड खर्च लाग्छ, एउटा बाटो बनाउन अर्ब रकम लाग्छ, विद्युतीकरणको कामलाई अगाडि बढाउन १०-१५ करोड लाग्छ, अस्पताल बनाउन ८-१० करोड खर्च लाग्छ”, उनले भने, “नगरवासीको चाहना रकेट स्पिड विकास खोजिरहेको छ भने हामी रेलको गतिमा नहुँदा केही व्यक्तिमा निराशा पनि उत्तिकै छाएको छ ।”

नगरपालिकामा सन्तुलित विकास भएको नगरपालिकाका जानकार बताउँछन् । नगर कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी प्राथमिकतामा राखेका नगरवासी रणबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?