कोरोना नियन्त्रण गर्न बेलायतमा कडा कानून, १० वर्षसम्म कैद

काठमाडौँ– बेलायतमा कोरोना संक्रमणका लागि पछिल्लो समयमा जारी गरिएको कानून निकै कठोर भएको अधिकारीहरुले बताएका छन् ।

आउँदो सोमवार अर्थात १५ फेब्रुअरीबाट कोभिडको नयाँ भेरियन्टका कारण ‘रेड जोन’ मा रहेका विभिन्न ३३ वटा मुलुकबाट बेलायत भित्रिने पर्यटकहरुको लागि थप नयां नियम लागू गरिने स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले मंगलबार बताएका थिए । नयां नियम अनुसार १० हजारसम्म जरिवाना र १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

जुन नियम बाल यौन अपराध तथा अन्य जघन्य अपराध भन्दा पनि कडा भएको बताइएको छ । ३३ वटा सूची अन्तर्गतका मुलुकबाट बेलायत आएका यात्रुहरुले झुट्टा विवरण पेश गरेमा १० वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ ।

‘रेड जोन’ अन्तर्गतका पोर्चुगल, ब्राजिल र साउथ अफ्रिका लगायतका मुलुकबाट हप्तामा एक हजार तीन सयभन्दा बढी मानिसहरु बेलायत आउने गर्दछन् । बेलायती यातायात मन्त्री ग्राण्ड शेपले जघन्य अपराधको भन्दा पनि कडा कानून भएको बताएका छन् ।

यस्तै यौन दुराचार वा हातहतियार प्रयोग भएका गम्भीर घटनामा संलग्न रहेकालाई भन्दा अझै ठूलो सजाय अव्यवहारिक रहेको बताएका छन् । पूर्व एमपी डोमिनिक ग्रीभले यस्तो कानून कसैलाई पनि दिन नमिल्ने र अदालतले पनि यसलाई लाद्न नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?