विरोध सभामा अनौठो संयोग: बोल्ने कि चुप लाग्ने ! (भिडियोसहित)

काठमाडौँ- प्रतिनिधि सभा विघटनको विरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौँमा आयोजना गरेको विरोध सभामा अनौठो संयोग जुरेको छ ।

सभालाई सम्वोधन गर्दै दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले मुखमा टेप बाँडेर  सांकेतिक विरोध जनाएकी थिइन् ।

कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो।

उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो। ‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कागजी बादशाह’ को संज्ञा दिएकी थिइन् । आफूले राष्ट्रपति जस्तो सम्मानित संस्थाको विरुद्ध नबोलेको भन्दै उनले खलपात्रविरुद्ध बोलेको बताएकी थिइन् ।

हेर्नुहोस् नेतृ झाँक्रीको सम्वोधन


नेतृ झाँक्रीले हामी बोल्न जन्मिएका हौं भनेको केही समयमै सभालाई सम्वोधन गर्दै प्रचण्ड नेपाल समूहका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पत्रकारलाई चुप लाग्न निर्देशन दिए । आफ्नो सम्वोधन नै रोकेर उनले कडा शब्दमा पत्रकार ऋषि धमलालाई किन हप्काएका हुन् ।

कार्यक्रम चलिरहेकै बेला हल्ला गर्ने तथा अरु कार्यक्रम गरिरहेको भन्दै उनले हप्काएका हु्न् । प्रधानमन्त्री केपी ओलीको आलोचना गर्दै भाषण गरिरहेको बेला उनले एकाएक भने, ‘एकछिन त्यहाँ पत्रकार साथीहरुले केही पनि नबोलिदिनु होला । पत्रकार साथीहरु यहाँ हामी सभा सञ्चालन गरिराखेका छौं । तपाईँहरु त्यहाँ चुप लागिदिनुस् । सुन्नु भो ? ऋषि धमलाजी–तपाईँ त्यहाँ अर्को कार्यक्रम नगर्नुस् । चुप लाग्नुस्., तपाईँ चुप लाग्नुस् । उनको यो आग्रह अहिले सामाजिक संजालहरूमा भाइरल भइरहेको छ ।

श्रेष्ठले धमलाले कार्यक्रमकै दौरानमा अन्तरवार्ता लिएर राम्रो काम गरेको भएपनि अहिले नभइ पछि लिइदिन सार्वजनिक रुपमै अपिल गरे । श्रेष्ठले आाफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीको आलोचना गर्दै उनी कामचलाउ सरकारको नेत्तृत्वमा मात्रै नरही अवैधानिक नै रहेको दावी गरे ।

हेर्नुहोस् प्रवक्ता श्रेष्ठको सम्वोधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?