राम्रो ‘ब्राण्ड एम्बास्डर’ कसरी बन्ने ? हुनैपर्छ यस्ता गुण

काठमाडौं । के तपाईले याद गर्नुभएको छ आजभोलि विज्ञापनको स्वरुपमा कति परिवर्तन आएको छ ? कुनै कम्पनी वा संस्थाका ‘स्टेकहोल्डर’ले टिभी स्क्रिनमा आएर आफ्नो उत्पादनको बारेमा लम्बेतान भाषण गर्ने वा केही जुनियर आर्टिस्टले यो कम्पनीको सेवासुविधा यस्तो भन्दै बयान गर्ने किसिमका विज्ञापनहरु ‘आउटडेटेड’ भएका छन् ।

आजभोलि कम्पनीहरुले आफ्ना लागि ‘ब्राण्ड एम्बास्डर’ नियुक्त गर्ने गरेका छन् जसले कम्पनीको उत्पादन, सेवासुविधालाई बजारमा प्रचार गर्नुका साथै कम्पनीको छविलाई पनि स्वच्छ सावित गर्दै ‘ब्राण्डिङ’मा भूमिका निर्वाह गर्छन् । यस्ता ब्राण्ड एम्बास्डरहरु प्राय सेलिब्रेटी, सामाजिक प्रतिष्ठा कमाएको व्यक्ति वा लोकप्रिय व्यक्तित्वहरु हुने गरेका छन् ।

कुनै संस्थाको छवि प्रतिविम्बित गर्ने जिम्मेवारी भएका ब्राण्ड एम्बास्डरहरु कस्तो हुनुपर्छ ? उनीहरुमा हुनुपर्ने आधारभूत गुणहरु के के हुन् भन्ने बारे तल उल्लेख गरिएको छः

मार्केटिङको ज्ञान र त्यसप्रति सम्मान

यसको अर्थ ब्राण्ड एम्बास्डर हुनलाई सबैसँग मार्केटिङको डिग्री हुनुपर्छ भन्ने होइन तर कम्तीमा मार्केटिङको आधारभूत सिद्धान्तका बारेमा चाहिँ ज्ञान हुनैपर्छ । क्षमतावान एम्बास्डरले आधुनिक मार्केटिङको यो युगमा त्यसको मौलिकतालाई बुझ्ने र सम्मान गर्ने गर्दछ ।

पर्याप्त अनलाइन उपस्थिति

यो समय भनेकै प्रविधिको हो । भौतिक उपस्थिति भन्दा पनि ‘भर्चुअल’ उपस्थितिले बढी लोकप्रियता पाउने यस समयमा ब्राण्ड एम्बास्डरले पनि आफूलाई सामाजिक सञ्जाल वा अन्य डिजिटल प्लेटफर्ममा सक्रिय राख्नुपर्छ । मार्केटिङ भनेकै जतिसक्दो ठूलो जमातमा आफ्नो उत्पादन वा सेवासुविधाको प्रचार गर्नु हो जसको लागि सामाजिक सञ्जाल भन्दा उपयुक्त माध्यम अरु के नै होला र ? यसको अर्थ एउटा उत्कृष्ट ब्राण्ड एम्बास्डर हुनलाई सामाजिक सञ्जालमा हजारौं, लाखौं फलोअर्स हुनुपर्छ भन्ने होइन । तर सामाजिक सञ्जालमा सक्रिय चाहिँ रहनुपर्छ भन्ने हो ।

उच्च व्यावसायिकता

व्यावसायिकता भन्ने गुण हरेक क्षेत्र र हरेक पेशामा कार्यरत व्यक्तिसँग हुन आवश्यक छ । झन् कुनै व्यक्तिले एउटा कम्पनीको ब्राण्ड नै प्रतिनिधित्व गर्ने हो भने त उसले सार्वजनिक स्थानमा प्रस्तुत हुने तौरतरिकादेखि आफ्ना गतिविधिहरुमा समेत ध्यान पु-याउनुपर्दछ । कोही तपाईको कम्पनीको ‘ब्राण्ड एम्बास्डर’ हुनु भनेको उसले बारम्बार सार्वजनिक रुपमा तपाईको कम्पनीको जिकिर गरिरहनु हो । उपभोक्ताहरुलाई तपाईको कम्पनी र उत्पादनप्रति एउटा धारणा बनाउन प्रोत्साहन गर्नु हो । यस्तो अवस्थामा व्यावसायिकता नभएको मान्छे, जहाँ जे पनि बोल्ने खालको मान्छे, विवादास्पद कुरा गरेर कम्पनीको छवि धमिल्याउने मान्छे तपाई अवश्य पनि चाहनु हुँदैन ।

प्राकृतिक नेतृत्व क्षमता

तपाईलाई केही समस्या प¥यो अथवा सल्लाह सुझाव लिनुप¥यो भने तपाई कस्तो मान्छेकामा पुग्नु हुन्छ ? पक्कै पनि धेरै विषयमा जानकार, परिपक्व, आत्मविश्वासी किसिमका व्यक्तिको कुरामा तपाई चाँडो विश्वास गर्नुहुन्छ र उनीहरुको सुझावलाई आत्मसाथ पनि गर्नुहुन्छ ।

त्यसैले, आफ्ना उत्पादन तथा सेवासुविधाहरु उपभोक्ताले खरिद गरुन् वा उपभोग गरुन् भन्ने चाहानुहुन्छ भने यस्तो ब्राण्ड एम्बास्डरको खोजीमा लाग्नुस् जो प्राकृतिक रुपमै नेतृत्व गर्ने क्षमता भएको छ । जसले बोलेका कुराहरु साँचा लाग्छन् । उसको व्यक्तित्व नै यति शालीन र परिपक्व हुन्छ कि जो पनि प्रभावित हुन् ।

सम्बन्ध स्थापित र विस्तार गर्न इच्छुक

एम्बास्डरहरु सेल्स पर्सन होइनन् जसको सरोकार सामान बिकाउनु सँग मात्र हुन्छ । एम्बास्डरको भूमिका भनेको संस्था र उपभोक्ताको दीर्घकालीन सम्बन्ध स्थापना गर्ने, जतिसक्दो धेरैजनामा संस्थाको छाप पार्ने र संस्थाको नामलाई ‘ब्राण्ड’का रुपमा कायम गर्ने हो । त्यसैले, असल ब्राण्ड एम्बास्डरमा सधै नयाँ मान्छेसँग चिनजान गर्ने, सम्बन्ध विस्तार गर्ने गुण हुन जरुरी छ ।

पृष्ठपोषण ग्रहण गर्ने

उपभोक्तासँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने भएकाले ब्राण्ड एम्बास्डरहरुले आफ्ना कुरा मात्र राख्ने होइन उपभोक्ताहरुको प्रतिक्रिया पनि खुल्ला हृदयले स्वीकार गर्न सक्नुपर्छ । उत्पादन तथा सेवासुविधाका बारेमा उपभोक्ताहरुको भनाइ के छ, कस्तो लाग्यो, के सुधार गर्नुपर्ने छ भनेर बेलाबेला बुझिरहनुपर्छ । र, त्यस कुरालाई समेटेर संस्थामा आगामी दिनमा थप सुधार ल्याउँदै जानु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?